भूमिहीन, विपन्न किसानलाई मसानघाटको आश्रय  • Nepal's Trusted Digital Newspaperभूमिहीन, विपन्न किसानलाई मसानघाटको आश्रय  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भूमिहीन, विपन्न किसानलाई मसानघाटको आश्रय 

भूमिहीन, विपन्न किसानलाई मसानघाटको आश्रय 

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
भूमिहीन, विपन्न किसानलाई मसानघाटको आश्रय 

महोत्तरी गौशाला नगरपालिका–८ को सोनी खोल्सीमा केही वर्षअघि मात्र स्थानीयहरू आवतजावत गर्न निकै डराउँथे । वडा नम्बर ८ स्थित कुस्मारी टोल र झोर्लेनी टोलका बासिन्दाहरूको दाहसंस्कार गर्ने ठाउँ सोनी खोला थियो । जस कारण सो बाटो भएर स्थानीयहरू आवतजावत गर्न डराउँथे । बालुवा नै बालुवाको बगर रहेको मसानघाट अहिले बगैँँचा बनेको छ । स्थानीयले कल्पनै नगरेको बगरमा बगैँचा बनेपछि उनीहरू हर्षित छन् ।।

कुस्मारी किसान समूहका गर्बु साह मसानघाट अहिले भूमिहीनहरूको सहारा बन्दा निकै खुसी भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले यो मसानघाटमा हराभरा खेती गरेर आम्दानी लिन सकिन्छ भन्ने सपनामा पनि सोचेका थिएनौँ ।’

एक दिन सामुदायिक विकाश तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादव र नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी घुम्दै सोनी खोला पुगे । बालुवा नै बालुवा भरिएको विशाल बगर देखेपछी बगरवाट नै समृद्धिको यात्रा तय गर्न सकिने उनीहरूले बनाएको योजनाअनुसार अहिले ९० बिघा क्षेत्रफल भूमिहीन, विपन्न र आर्थिक स्थिति कमजोर भएकाहरूको सहारा बन्न पुगेको हो । ‘बालुवामा हिजोआज सुन फल्दै छ । समसानघाट कृषि पर्यटक बन्दै छ,’ गर्वु साहले भने ।

बगरमा बगैँचा र बगैंचामा कृषि भन्ने मूल नाराका साथ नगरपालिकाले नगरभरि बालुवाले थुप्रिएको बगरको पहिचान गरिरहेको छ । अहिले सोनी खोलामा मात्र पाँच हजार फलफूलका बिरुवा रोपिएको छ भने १५० घरधुरीको लागि तरकारी खेती गरेर आयाअर्जनको उपयुक्त माध्यम बनेको छ ।
नगरबाट करिब ६० लाख र सामुदायिक विकाश तथा पैरवी मञ्चको पहलमा युएनडीपीले ३५ लाख रुपैयाँ लगानी गरेर बगर हराभरा बनाइएको छ ।

प्रत्येक किसानहरूलाई कृषि यान्त्रीकरणको व्यवस्था गरिएको छ भने युएनडीपीले जोतखनको लागि १६ लाख रुपैयाँ खर्चेर ट्याक्टर सहयोग गरेको छ। अहिले कुस्मारी र झोर्लेका किसानहरूले दाहसंस्कार गर्ने ठाउँ थियो भन्ने विस्तारै बिर्संदै गएका छन् । सोनी बगरमा किसानहरूले परवल, आलु, काउली, बन्दागोबी, फर्सी, टमाटार लगाएका छन् । प्रत्येक किसानहरूलाई पाँच कठ्ठादेखि ७ कठ्ठासम्म जमिन प्रदान गरिएको छ ।

नगरपालिकाले सिँचाइको अभाव नहोस् भन्ने उद्देश्यले दुईवटा डिप बोरिङ्ग निर्माण गरेकोपछि किसानहरूलाई सिँचाइको कुनै समस्या छैन । किसानहरूले उत्पादन गर्न चाहेको बिउबिजन नगरपालिका र युएनडीपी तथा सामुदयिक विकाश तथा पैरवी मञ्चले प्रदान गर्दै आएको छ  ।
‘पाँच वर्षपछि हामीले निकै ठूलो फड्को मार्नेछौँ,  भूमिहिन र विपन्न किसानहरूको आर्थिक स्थिति मजबुत हुनेछ,’ नगरप्रमुख सिवनाथ महतोले विश्वास व्यक्त गरे ।

‘आजकाल हामीलाई न जमिनदारको पुगेर बनिबुथो गर्नुपर्ने अवस्था छैन । सोनी खोलाको बगरमा जान्छौ, त्यही उब्जनी गरेर जीवन गुजाजा चलाएका छौँ,’ अर्का किसान प्रमेश्वर साह बताउँछन् । उपयोगविहीन बनेको जमिन प्रयोग भएपछि कुस्मारी र झोर्लेनीका विपन्नहरू अरुकोमा बनिबुथो गर्न कम हिँड्ने गरेका छन् । सोनी खोल्सीले सामूहिक संस्कारको विकाश गरेको छ ।

नगरपालिकाले अहिले लोप हुँदै गएका परम्परागत बाली लगाउन पनि किसानहरूलाई उत्प्रेरित गरेको छ । किसानहरूले सोनी बगरमा सर्सिउँ, तिल जस्ता लोपोन्मुख बालीपनी लगाएका छन् । बालुवाका ढिस्काहरू आँप, लिची, कटर, कागतीजस्ता फलफूलहरूले हराभरा बन्दै गएको छ । अबको ५ वर्षपछि फलफूलबाट मात्र किसानहरूले करौडौ आम्दानी गर्न सक्ने वडा अध्यक्ष भोजवहादुर दर्लामी बताउँछन् ।

बाबुबाजेको दाहसंस्कार गरेको ठाउँमा खेती गर्दा कहिलेकाहीँ मिठु सदा झसङ्ग हुन्छन् । ‘तरकारी र अन्य बाली लगाउन जमिन खन्दा मृतक आफ्न्तहरूको याद आउँदो रहेछ,’ सदाले भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका