'बाह्रबुँदे भनेको टेक्ने थलो हो, भोलि बेइमानी भयो भने त्यसैमा टेकेर आन्दोलन गर्छौं':- दाहाल • Nepal's Trusted Digital Newspaper'बाह्रबुँदे भनेको टेक्ने थलो हो, भोलि बेइमानी भयो भने त्यसैमा टेकेर आन्दोलन गर्छौं':- दाहाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘बाह्रबुँदे भनेको टेक्ने थलो हो, भोलि बेइमानी भयो भने त्यसैमा टेकेर आन्दोलन गर्छौं’:- दाहाल

‘बाह्रबुँदे भनेको टेक्ने थलो हो, भोलि बेइमानी भयो भने त्यसैमा टेकेर आन्दोलन गर्छौं’:- दाहाल

  • समाचारपाटी
  • आइतवार, चैत्र १३, २०७८
‘बाह्रबुँदे भनेको टेक्ने थलो हो, भोलि बेइमानी भयो भने त्यसैमा टेकेर आन्दोलन गर्छौं’:- दाहाल

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धि खोस्ने प्रयास भए आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ। बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उहाँले माओवादीलाई देशभरिबाट बढार्ने षड्यन्त्र भइरहेकाले पुनःआन्दोलनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयाे।

‘कांग्रेस र एमाले मिलेर नयाँ गठनबन्धन बनाउने र माओवादीलाई देशभरिबाट बढार्ने षड्यन्त्र गरिएको थियो। अनेक बुद्धि लगाएर उनीहरूको त्यो सपना चकनाचुर बनाइयो,’ उहाँले भन्नुभयाे। बाह्रबुँदे भनेको टेक्ने थलो मात्र हो भन्दै उहाँले भोलिका दिनमा धोका भएमा त्यसैमा टेकेर आन्दोलन गर्ने चेतावनी दिनुभयाे।

‘बाह्रबुँदे भनेको टेक्ने थलो हो। भोलि बेइमानी भयो भने त्यसैमा टेकेर आन्दोलन गर्छौं। प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीहरूले माओवादीलाई सिध्याउन धेरै कोसिस गरिरहेका छन्,’ उहाँले भन्नुभयाे, ‘यो अहिलेको सिस्टम माओवादीले ल्याएको सिस्टम हो। यो देशका सबै उत्पीडित, दलित, गरीब, महिला जनजाति, आदिवासीलाई अधिकार दिलाएको माओवादीले हो। यसलाई खोस्न खोजियो भने माओवादी अर्को लडाइँ लड्न तयार छ।’

उहाँले थप्नुभयाे, ‘हामीले अहिले हतियार उठाउने कुरा गरिरहेका छैनौँ। आजकल लडाइँको नयाँ तरिका छ, ‘कलरफूल रिभोलुसन’। अर्थात् रंगीन क्रान्ति। यसको अर्थ हो, देशैभरबाट सबै जाति, क्षेत्र, धर्म, वर्ग, लिंगका जनता सबै सडकमा आउने क्रान्ति।’

आसन्न चुनावलाई माओवादीले चुनावका रूपमा मात्र नभई युद्धका रूपमा लिएको उहाँले बताउनुभयाे। ‘अरूका लागि सामान्य निर्वाचन जस्तै होला। तर, माओवादी केन्द्रको निम्ति यो निर्वाचन मात्र होइन। योे त हाम्रा महान सहिद, बेपत्ता योद्धाहरू, घाइते, अपांगता भएका लाखौंलाख जनताका सपनाहरू सफल पार्ने लडाइँ हो,’ उहाँले भन्नुभयाे। गणतन्त्र, संघीयता लगायतका उपलब्धि खोस्न देशी र विदेशी शक्ति लागिपरेकाे उहाँले आरोप लगाउनुभयाे।

४ करोड ९५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो भवनको २०७५ फागुन १४ गते दाहालले नै शिलान्यास गर्नुभएकाे थियाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका