काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गर्नुभएकाे छ ।
शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गर्नुभएकाे हाे ।
सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गर्नुभएकाे हाे । २१ खेलमध्ये २ खेलमा मात्र सन्दीप विकेटविहीन रहनुभयाे ।
आईपीएलसहित विश्वका लगभग सबै फ्रेन्चाइज क्रिकेट खेल्नुभएका नेपाली ग्लोवल स्टार सन्दीपले २०२० को फेब्रुअरी १२ मा अमेरिका विरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा करिअरको उत्कृष्ट बलिङ गर्नुभएकाे थियाे । विश्वकप लिग टू अन्तर्गतको सो खेलमा उहाँले ६ ओभर बलिङ गरी १ मेडन राख्नै १६ रन खर्चिएर ६ विकेट लिनुभएकाे थियाे ।
एकदिवशीयमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बन्नुभएकाे छ । उहाँभन्दा अगाडि श्रीलंकाका अजन्था मेण्डिसले १९ इनिङ्समा ५० विकेट पूरा गर्नुभएकाे थियाे ।