चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपालआउँदै • Nepal's Trusted Digital Newspaperचिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपालआउँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपालआउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपालआउँदै

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने  भ्रमणका लागि आज नेपालआउँदै

काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ भारत हुँदै आज काठमाडौं आउन लाग्नुभएकाे हाे ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उहाँ पहिलो उच्चस्तरीय पाहुना हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उहाँ विशिष्ट व्यक्ति हुनुहुन्छ । त्यसैले नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत छ ।

चीनको राज्य परिषद्का सदस्य समेत रहनुभएका विदेशमन्त्री वाङ यीको औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका