काठमाडौं । एमाले र कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र बनाउन कार्यदल बनाएका छन्। एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको छ भने कांग्रेसले महामन्त्री गगन थापालाई घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ।
बिहीबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले नै पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली सदस्य छन्। कांग्रेसको घोषणापत्र तयारीको संयोजकमा थापालाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे।
एमालेले वैशाख ९ गते केन्द्र र हरेक स्थानीय तहमा घोषणापत्र तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिसकेको छ। घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते सबै पालिकाका कमिटीका प्रतिनिधिहरूसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयाे। एमालेले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पनि मातहतका कमिटीलाई निर्देशन दिएको छ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले आगामी वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको छ। केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालले चैत मसान्तभित्र उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको जानकारी दिनुभयाे। उहाँका अनुसार एक महिलासहित तीन जना सम्भावित उम्मेदवार सिफारिस गर्नुपर्नेछ।