पोखरा । अटेरी अभियन्ता र विद्यार्थीबीच पोखरामा अन्तरक्रिया भएको छ । बिहीबार विभिन्न तहका विद्यार्थी र अटेरी अभियन्ताबीच नदीपुरमा अन्तरक्रिया गरिएको हो ।
गुणस्तरिय शिक्षाका लागि कस्तो खाले योजना बनाउन सकिन्छ ? विद्यार्थीहरुले चाहेको शिक्षा कस्तो ? भन्ने विषयमा छलफलका लागि अभियन्ताहरु विद्यार्थी कहाँ पुगेका हुन् ।
‘विभिन्न तहका विद्यार्थीबीच हामीले अन्तरक्रिया गर्यौं । हामीले तयार पारेको शिक्षाको अवधारणा र विद्यार्थीले चाहेको शिक्षा कस्तो ? भन्ने विषयमा हामीले छलफल गर्यौ,’ अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भन्नुभयाे ।
छलफलमा २ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागी विद्यार्थीले निकै उत्साहका साथ छलफलमा सहभागी बनेको उहाँले बताउनुभयाे । ‘विद्यार्थीहरु पनि एकदमै उत्साही हुनु भयो । यस्तो अभियान सबै ठाउँमा जानुपर्छ, घरका सबै सदस्यलाई यही अभियानका उम्मेदवारलाई मत दिन लगाउँछौं भन्नु भएको छ,’ उहाँले भन्नुभयाे, ‘जति पनि सहभागी हुनुहुन्थ्यो सबै जना उत्साहीत हुनुहुन्थ्यो ।’
अबको केही दिन अटेरी अभियानका अभियन्ताहरु विद्यार्थीसँग अन्तरक्रियाका लागि जुट्ने उहाँले जानकारी दिनुभयाे । नदीपुरपछि, बगर, लामाचौर हुँदै अभियान अघि बढाउने उहाँले बताउनुभयाे ।