पोखरा । कास्की जिल्ला अदालतको इजलाश कक्षमा तोडफोडसहित चोरी भएको आशंका गरिएको छ । ६ नम्बर इजलाशको मिसिललगायतका कागजात रहेको दराज खोलेको भेटिएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयाे । मिसिलसहितका कागजपत्रहरु आफ्नो ठाउँमा नरहेकाले चोरी भएको आशंका गरिएको छ ।
‘२ तला माथि रहेको ६ नम्बर इजलाशमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेको अवस्था छ,’ अधिकारी निलप्रसाद पनेरुले भन्नुभयाे, ‘दराजबाट मिसिल भएको फाइलहरु छानेको अवस्था छ । कागजपत्रहरु आफ्नो ठाउँमा छैनन् ।’
इजलाशबाट सामानहरु हराएको वा होइन भन्ने विषयमा अहिले छानविन भइरहेको पनेरुले जानकारी दिनुभयाे । ‘मिसिलमात्रै होइन, सबै कागजात त्यति नै महत्वपूर्ण हुन्छ, अहिले नै ठ्याक्कै यही हराएको भन्ने छैन,’ उहाँले भन्नुभयाे, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’
मंगलबार राति तोडफोड भए पनि बुधबार बिहान कार्यालय सफा गर्ने क्रममा मात्रै जानकारी भएको अदालतले जनाएको छ । ‘बिहान सफा गर्नेबेला थाहा भए लगत्तै प्रहरी बोलाएर अहिले छानविन भइरहेको छ, फिंगर प्रिन्टदेखि लिएर सिसिटिभी फुटेजलगायतका कुरामा अनुसन्धान अघि बढाइएको छ,’ उहाँले भन्नुभयाे ।
ढोका फोड्न प्रयोग भएको छड बरामद भएको उहाँले जानकारी दिनुभयाे । तोडफोड भएको ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आउनुभएकाे थियाे । चौबिसै घण्टा प्रहरी सुरक्षामा हुने जिल्ला अदालतको ठीक अगाडि वडा प्रहरी कार्यालय छ ।