सिक्दै, गाउँदै, नाच्दै कौराहा • Nepal's Trusted Digital Newspaperसिक्दै, गाउँदै, नाच्दै कौराहा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सिक्दै, गाउँदै, नाच्दै कौराहा

सिक्दै, गाउँदै, नाच्दै कौराहा

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
सिक्दै, गाउँदै, नाच्दै कौराहा

ऋषिङ गाउँपालिका-१ झापुटारका साजन गर्जा मगर कौराहा नाच्न र गाउन हुरुक्कै हुन्छन् । १८ वर्षीय गर्जा पाँच वर्षदेखि ठाउँठाउँमा पुगेर मौलिक संस्कृति कौराहामा प्रस्तुति दिँदै हिँडिरहेका छन् । कौराहा प्रस्तुत गर्न उनी समूहसँगै गाउँघरमा हुने कार्यक्रमदेखि जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला महोत्सव र प्रतियोगितामा पुग्छन् ।

उनकै उमेर समूहका दौतारीहरूको समूह बनाएर कौराहामा रमाइरहेका छन् । कौराहा नाच्न गाउन उनले बाबुबाजेबाट सिकेको बताउँछन् । ‘पुर्खाले गाउँदै नाच्दै  आएको संस्कृति हो । हामीले बाबुबाजेबाट नै सिक्यौँ । उहाँहरूसँगै हुर्कदै, नाच्दै गाउँदै सिकेका हौँ’, उनले भने । प्रशिक्षण लिएर भन्दा पनि गाउँघरमा भएका नाचगानबाट कौराहाको ज्ञान हासिल गरेको उनले जनाए ।

अन्य गीतको तुलनामा कौराहामा प्रस्तुति दिँदा सन्तुष्टि मिल्ने उनी बताउँछन् । अगाडि थप्दै उनी भन्छन्,  ‘कौराहामा आफ्नै मौलिकता छ । आफैँ बजाउँदै, गाउँदै नाच्ने भएकाले बढी मज्जा हुन्छ ।’ गाउँगाउँबाट कौराहाको मौलिकता र रौनकता हराउँदै गएकाले राज्यका अतिरिक्त मगर समुदायसँग सरोकार राख्ने संघसंस्था संरक्षणमा जाग्नुपर्ने गर्जाको सुझाव छ ।

भिमाद नगरपालिका-९ पाथर्दीकी समृद्धि थापा मगर बाबुबाजेहरूले खैँजेडीको तालमा स्वरमा स्वर मिलाएर कौराहा गाउँदै नाच्दै गरेको माहोलमा हुर्किईन् । तर, उनलाई कौराहामा आकर्षण भएन । र, ज्ञान पनि थिएन । कौराहाबारे चासो नहुँदा उनले सिकिनन् पनि ।

गाउँमा सामुदायिक होमस्टे चलाउन थालेपछि समृद्धि र उनका उमेर समूहका युवायुवतीले मौलिक कौराहामा नाच्न र गाउन सिकेका छन् । पाहुनालाई मौलिक संस्कृतिमा रमाउने वातावरण तय गर्न उनका दौँतरीहरू सिक्दै नाच्दैछन् । ‘पहिला खैँजेडीको तालमा भन्दा बढी रेकर्डेड कौराहा स्पिकरमा घन्काएर नाचियो । होमस्टे चलाउन थालेसँगै मौलिक कौराहा सिकेर नाच्दैँछौँ’, उनले भनिन् ।

कौराहाको मौलिकता र महत्व बुझ्न थालेपछि सिक्ने इच्छा झनै बढेको उनले सुनाइन् । आफ्नो समुदायको कला, संस्कृति र मौलिकता जोगाउन अब युवापुस्ताले चासो देखाउन जरुरत रहेको उनको ठम्याइ छ ।

मगर समुदायमा कौराहा निकै प्रचलित छ । तनहुँको ऋषिङबाट कौराहाको उत्पत्ति भएको जानकारहरू बताउँछन् । पहिले पहिले कुनै गाउँका तरुनीले अर्को गाउँका तन्नेरीलाई कौराहा नाच्न र गाउनलाई निम्तो पठाउँथे । निम्तो स्विकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएर पुग्थे । मखमलको चोली, छिटको गुन्युँ, कम्मरमा पहेंलो, नीलो रंगको पटुका, गलामा कण्ठी, शिरमा शिरफुल र शिरबन्दीमा चिटिक्क परेर सजिन्थे तरुनीहरू । तन्नेरीले खैँजेडीको तालमा सामूहिक स्वर मिलाउँदै कौराहा गाउने र तरुनीहरूसँग कम्मर मर्काउँदै खुट्टाको ताल मिलाउँदै छमछमी नान्चे प्रचलन थियो । साँझपख सुरु भएको कौराहाले रात छर्लंग पार्दथ्यो । बिहानपख सुरु भए साँझसम्म पनि कौराहाको रौनक हुन्थ्यो ।

गाउँघरमा रोधी घर र रोधी बस्ने चलन हराएसँगै निम्तो पठाएर दिनरात बिताएर कौराहा नाचगान हुने प्रचलन हराएको छ । सांस्कृतिक कार्यक्रम, मेला, महोत्सव, प्रतियोगिता र होमस्टेहरूमा मात्र सुनिन्छ कौराहा ।

मेला महोत्सव र प्रतियोगिताले कौराहालाई जोगाउन केही हदसम्म भूमिका खेलेको मौलिक कौराहा संरक्षण समिति तनहुँका अध्यक्ष सिजन थापा मगर बताउँछन् । ‘अहिले हामी नाचिरहन्छौँ । यसैमा हाम्रो भविष्य त छैन् । आर्थिक रूपमा सक्षम बन्न सकिँदैन । विदेश पलायन हुनैपर्छ । त्यसैले  कौराहा संरक्षणमा राज्यपक्षले पनि ध्यान दिन जरुरी छ’, उनले भने । पहिला मनोरञ्जनका लागि रोधीको विकल्प नभएकाले कौराहाको रौनक गाउँगाउँमा भएकोमा आहिले प्रविधिको विकासले मौलिक संस्कृतिको रौनक हराउँदै गएको उनको बुझाई छ ।

कौराहा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ । देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्यालठट्टा, मायापिरती लाउने कुरा हुँदै जीवनका भोगाई पनि गीतमा समेटिन्छ । अन्तमा विछोडको गीत गाएर छुट्टिन्छन् तन्नेरी र तरुनीहरू । कौराहाको एक अन्तरा पूरा गर्न झन्डै आधा घन्टा समय लाग्दछ ।

ऋषिङ उद्गमथाले भएको कौराहा आसपासका जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि प्रचलित छ । ऋषिङको कोटदरबारबाट करिब अढाई सय वर्ष अगाडि कौराहको सुरुवात भएको जानकारहरू बताउँछन् । कानराहबाट अप्रभंश भई कौराहा भयो । कतिपयले कौरा, कौडा पनि भन्छन् ।

दसैँदेखि सुरुवातदेखि जेठको दसहरासम्म कौराहा नाचगान हुने याम हो । वैशाखे पूर्णिमाको बेला कौराहाको रौनक झन् बढी हुन्छ ।  डिजिटलमा बजारमा आएको रेकर्डेड कौराहा मौलिक कौराहा नभएको संरक्षणकर्मीहरू बताउँछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका