आज विश्व पानी दिवस • Nepal's Trusted Digital Newspaperआज विश्व पानी दिवस • Nepal's Trusted Digital Newspaper

आज विश्व पानी दिवस

  • समाचारपाटी
  • मङ्लबार, चैत्र ८, २०७८
आज विश्व पानी दिवस

jal

जल, पाईन, वाटर, नामपाओ, यी, येँ, कि, अयर लगायत यस्का धेरै नाम छन्, वैज्ञानिकले भने रसायन पद्धतिमा यसको कथन गरेका छन् H2O भनेर । आकाश वाट झर्छ बादलमार्फत, खोला खहरा मा बग्छ, मूलबाट निस्कन्छ, हिँउवाट पग्लिन्छ, पत्थरको कन्दराबाट रसाउँछ, कल अर्थात् हातेपम्पवाट निस्कन्छ, पोखरी अनि कुँवाहरुमा बसिदिन्छ अनि बगिदिन्छ अनि पानी घट्टमा सुसाउँछ, यो हो पानी । पृथ्वीको अधिकांश सतह यसैले बनेको छ, रुख विरुवा, बालीनाली, परेवा देखि अमिवासम्म अनि स्याउ देखि लेउसम्म यसैले बचाएको छ ।

पानी छैन त जिन्दगानी छैन, यस अद्भुत अनि जिवन पर्याय पानीको मानव जीवनसँगको अटुट नातालाई आत्मसाथ गर्दै आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । सन् १९९३ देखि यस दिवसको क्रम सुरु भएको हो । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइयो ।

गलो लाग्दा देखि हलो लाउँदासम्म अपरिहार्य पानी चाहिने मानव समुदायले पानीको संरक्षण देखि सुरक्षा सम्मकालागी के के गरेको छ भन्ने कुराको वृतान्त वाग्मती लगायत अन्य धेरै नदीहरु अनि तिनैका तटले दिँदै आएका छन् । नदीका बगेका पानीहरू हाम्रो फोहोर बोकेर कुद्नका लागी हैनन्, प्लास्टिकले बेरिएको अनि जेलिएको वाग्मती अनि विष्णुमतीका किनारले काठमाडौँलाई दशकौँ देखि यही प्रश्न तेर्साई रहेका छन् । मेची देखि महाकालीसम्म, कोसी देखि रोशी सम्म, बबई देखि तिनाउसम्म, बुढी खोला देखि बुढी गण्डकी सम्म, थाक खोला देखि त्रिशूलीसम्म, एक फेर हेरौँ , हामी कत्तिको सक्षम छौँ त ? पानी जोगाउन् ।

पानी र इन्धन निकट रुपमा अन्तरसम्बन्ध छ , पानीघट्ट देखि ठूलाठूला जलविद्युतसम्म पानीको शक्तिले चलायमान छन् । अर्को तर्फ संसारको कुल इन्धनको ८ प्रतिशत इन्धन खपत भने उपभोक्तासमक्ष शुद्ध पिउने पानीलाई पम्प गर्दै विभिन्न पाइप र नलका माध्यम वाट पूर्याउन लाग्ने रहेछ । २१ सौँ शताब्दीको सँघार सम्म आई पुग्दा पनि शुद्ध पिउने पानीको समान वितरण संसारको लागी ठुलो चुनौती नै रहेको छ । संसारको दोस्रो जलश्रोतको धनी देश भनी नाम कहलिएको नेपाल अनि जलश्रोतसँगै लुटपुटिएर हुर्केका नेपालीहरू आफ्ना जलका सिर्काहरू प्रति कत्तिका वफादार हुन सकेका छौ, जनता देखि सदनसम्मले पछाडि फर्केर हेर्न पनि जरुरी छ ।

कुरा नदीनाला अनि खहरेको हुँदै गर्दा मौसम अनि वनको पनि आउँछ, आखिर जल अनि मौसमका पहरेदार श्रोत तत्व यिनै वन, जगंल, पहाड अनि पहरा त हुन् । घट्दो क्रमका जगंली भूभागहरू, काटिँदा रुख अनि प्लटीगं गर्दै धमाधम बिक्री गर्न तैयार जग्गाहरू भित्र गुम्सिएको प्रकृतिको चित्कार सुन्न पनि आवश्यक छ ।

आज बढ्दो सहरीकरणका कारण काठमाडौँ जहाँका धाराहरू त छन् तर पानी बिलाई सके, सुनधारामा पानी थापेर खाएका अनि नुहाएका पुस्ताहरूका कथाका सुनधारा जस्ता लाखौँ धाराहरू त छन् तर पानी कथामा मात्रै छ । घर, शपिगं मल, जग्गा, ठुला बाटाहरूका साथै पानीका श्रोत पनि विकास अनि संरक्षण गर्न जरुरी छ भन्ने कुराको सन्देश आजको दिनले सबैले दिन जरुरी छ । अर्कोतर्फ विश्वव्यापी रूपमा बढ्दो तापक्रम अर्थात् ग्लोबल वार्मिगंको असरले गर्दा पग्लिएका हिमाल अनि बढ्दो समुन्द्री सतहले पानी प्रतिको मानव संवेदनशीलताको माग गरेको छ ।

विभिन्न नदीनाला र तिनैका पानी प्रयोगका असमान र अव्यवहारिक सन्धि गरेको नेपालको विभिन्न कालखण्डका नेतृत्वले जल कूटनीतिको सिद्धान्त अनि मान्यतालाई आत्मसाथ गर्न जरुरी पनि छ । अबको संसार सुस्तरी पानीमा अड्केको छ, पानी नै अबको विश्वको आवश्यकता हो र समुन्द्रको नुनिलो पानीलाई शुद्धीकरण गर्दै प्रयोगमा ल्याउनको साटो नदीनालाका कलकलाउँदा पानीहरूको समुचित प्रयोग नै किफायती र प्रयोगात्मक रहेको कुरा विकसित देशहरूले बुझिसकेका छन् । नेपाली जलश्रोतहरुनै आउँदा पुस्ताको सम्पत्ति हुन् तर त्यसकालागि हामीले यसको भौतिक, राजनैतिक र जैविक संरक्षण गर्न जरुरी देखिन्छ ।

हिन्दु संस्कारमा पनि त पञ्चतत्वको रूपमा जलतत्वको अत्यन्त महत्त्वपूर्ण र अद्भुत प्रस्तुति रहेको छ । मेलम्चीको पानीको वृत्तान्त सुन्दासुन्दै दुई वटा पुस्ता सुइँकिसकेपछि नाति पुस्तामा मेलम्चीको नालाहरू राख्न गरिएको कसरतले उडेका धुलोका बादल र खाल्डाका गहिराई ले सफा पानीको सहज उपलब्धताको कठिनाइ व्याख्या गरेको छ । फोहोर र दूषित पानीले ल्याउने रोगहरूजस्तै जन्डिस, टाईफोईड, झाडापखाला आदीहरू त हामीले भोगेकै हौ ।

सबै जीवित प्राणीहरूको उत्पत्ति जल मा भएको भन्ने तथ्य निर्विवाद छ । अब त वैज्ञानिकहरूले यस ग्रहमा मात्र नभई अन्य ग्रहहरूमा पनि पानीको खोजी गर्न थालेका छन् । पानी बिना जीवन सम्भव छैन, यसर्थ पानी भएको ग्रहमा जीवनको सम्भावना खोजी गरिएको हो । हाम्रो आफ्नै ग्रहमा पनि हरेक संस्कृति र सभ्यता खोला किनारमा नै विकास भएको हो।

यसरी संस्कृति र सभ्यताको रक्षा गर्ने अनि जीवनलाई सार्थक तुल्याउने पानीको सहज र सुलभ उपलब्धता अनि यसको सुरक्षित र मितव्ययी प्रयोगका कुराहरू जल दिवसमा गरिन्छ ।

हाम्रा कुवा, पँधेरो, पोखरीहरू आदि धेरै पानीका मुहानहरू आज घना बस्तीहरूमा परिणत भइसकेका छन् । बढ्दो सहरीकरणले पानीको श्रोत र शुद्धता दुवै कुराहरूलाई चुनौती गरिरहेका छन् । आजका दिन यी कुराहरू र तथ्यहरूलाई विश्लेषण गरिन्छ । विश्वमा हुने रोगहरु मध्य सर्वाधिक धेरै रोग सफा पिउने पानी उपलब्ध नहुनाले भएको पाइन्छ ।

सन् २०२२ को विश्व पानीदिवसको नारा नै “Groundwater: making the invisible visible” भन्ने रहेको छ । जमिनमुनिको पानीको महत्त्वलाई आत्मसाथ गर्दै यस वर्ष जमिनमुनिको पानीको श्रोत र स्वच्छताको पैरवी गरिनेछ ।

आउँदा पुस्तालाई पानीको किफायती प्रयोग, महत्त्व अनि संरक्षणका पाठहरू सिकाउन जरुरी छ । खुल्ला छाडिएका धारा बन्द गर्नु, चुहावट रोक्नु, असंरक्षीत सिमसारहरूको सुरक्षा गर्नु, वृक्षारोपण गर्नु, भूसंरक्षण गर्नु अनि खोलानालाको सबर्धन गर्नु हाम्रो कर्तव्य हो ।

पर्यावरण, कृषि, स्वास्थ्य र शिक्षा सबैतर्फ जल संरक्षणका आवाजहरू आउन्, जल वाट हुने प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरो लगायत अन्य कुराहरू घट्दै जाउन् । पानी हाम्रो जीवन हो र शुद्ध पिउने पानी हाम्रो अधिकार र कर्तव्य दुवै हाे ।

source :hamropatro

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका