पाेखरा । पोखरामा शनिबार सम्पन्न खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनको सन्दर्भलाई लिएर चैत्र ५ गते मध्यराति ११ :०८ बजे प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्षलाई टेलिफोन गरी महासंघको भवनमा आगो लगाउने धम्की दिएको महासंघले जनाएको छ ।
महासंघका सहसचिव श्रीराम सिग्देलले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघ कास्की शाखाकाे अध्यक्षलाई फोनमार्फत् धम्की दिनुभएको घटनाप्रति महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गर्न दिएमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा आगो लगाएर ध्वस्त पारिदिने भनि दिएको धम्की अत्यन्तै निन्दनीय र खेदजनक छ । सिंगो महासंघको स्वाभिमानमा आँच आउने गरी प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले दिएको उक्त धम्कीले समग्र पत्रकारको भावनामाथि आघात पुगेको हाम्रो ठहर छ ।”
महासंघले पत्रकारसँग आबद्ध विभिन्न संघ–संगठनहरुले नेपाल पत्रकार महासंघ कास्कीको भवन सञ्चालनमा आएदेखि नै प्रयोग गर्दै आएको जनाएको छ । श्रमजीवि पत्रकारहरुको रगत, पसिना, आम पोखरावासीको साथ र सहयोगबाट महासंघको भवन निर्माण भएकाले आगामी दिनमा कोही कसैले यस्ता खालका धाक धम्कीपूर्ण व्यवहार नगर्न महासंघले सबैमा आग्रह समेत गरेको छ ।
यसैबीच कास्कीका क्रियाशील पत्रकारसँग सम्बन्धित अन्य संघ संगठनले पनि महासंघ अध्यक्षलाई दिएको धम्कीप्रति विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, स्वतन्त्र पत्रकार संघ र प्रेस सेन्टर महानगर समितिले संयुक्त विज्ञप्ति जारी गरी घटनाप्रति खेद व्यक्त गर्दै पत्रकारसँग सम्बन्धित एउटा संगठनको जिम्मेवार व्यक्तिले नै देखाएको असभ्य र अशोभनीय गतिविधिप्रति भत्रर्सना गरिएको छ । विज्ञप्तिमा संगलग्नलाई आत्मालोचना गर्न भनिएको छ ।