युक्रेनीलाई बन्देज छ अमेरिकामा ? • Nepal's Trusted Digital Newspaperयुक्रेनीलाई बन्देज छ अमेरिकामा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युक्रेनीलाई बन्देज छ अमेरिकामा ?

युक्रेनीलाई बन्देज छ अमेरिकामा ?

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
युक्रेनीलाई बन्देज छ अमेरिकामा ?

रुसको हमलापछि झन्डै ३० लाख नागरिकले युक्रेन छाडिसकेका छन् । पोल्यान्डमा मात्र झन्डै २० लाख युक्रेनीहरूले शरण लिइरहेका छन् भने हजारौँको सङ्ख्यामा शरणार्थीहरू अरू नजिकैका देश गइरहेका छन् ।

तर युद्ध सुरु भएदेखि अहिलेसम्म एकजना युक्रेनी पनि अमेरिका प्रवेश गरेका छैनन् ।

बाइडेन प्रशासनले शरणार्थीहरूलाई स्वागत गर्ने चाहना व्यक्त गर्दै आएपनि अमेरिकी आप्रवासन प्रणालीको कमजोरीकै कारण त्यस्तो हुन सकिरहेको छैन । गुगल सर्चहरूमा हेर्दा समेत अमेरिकीहरू युक्रेनलाई मद्दत गर्न एकदम तत्पर रहेको देखिन्छ । तर यसबारे केही उल्लेखनीय काम गर्न सकिरहेको छैन ।

यसमा अमेरिका चुपचाप बसेको चाहिँ होइन । अमेरिकी संसद्ले युक्रेनको मानव संकट समाधानका लागि ४ अर्ब डलर भन्दा बढी रकम स्वीकृत गरिसकेको छ जसमध्ये १.४ अर्ब डलर शरणार्थीहरूलार्य मद्दत गर्न विशेष रूपमा छुट्याइएको छ ।

साथै राष्ट्रपति जो बाइडेनले शरणार्थीहरूलाई अमेरिकी ल्याउने प्रतिज्ञा पनि गरिसकेका छन् । तर तत्काल अमेरिकी परिवारले युक्रेनी शरणार्थीलाई ‘स्पन्सर’ गर्न मिल्ने अवस्था नभएको सरकारको भनाइ छ ।

यसअघि पोल्यान्ड पुगेर उपराष्ट्रपति कमला ह्यारिसले शरणार्थीहरूसँग भेट गरेकी थिइन् । त्यहाँ उनले कति सङ्ख्यामा अमेरिकाले युक्रेनी शरणार्थाीलाई स्वीकार्नेछ भन्नेबारे कुनै प्रतिबद्धता जनाइनन् । पोल्यान्डका राष्ट्रपतिले उनलाई अमेरिकामा परिवार भएका युक्रेनीहरूलाई अझ बढी सहायता गर्न विशेष आग्रह गरेका थिए ।

यिनै कारणले पनि अमेरिकालाई शरणार्थी संकट चरम बिन्दुमा पुग्नु अगाडि नै युक्रेनीहरूलाई स्वागत गर्ने प्रबन्ध मिलाउन सबैतिरबाट पहल गरिएको छ । बोलीका साथै काम गरेर देखाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको ग्लोबल गैरलाभकारी संस्थाका प्रमुख मार्क हेटफिल्ड बताउँछन् । उनी जसरी अन्य थुप्रैले अमेरिकाले पर्याप्त सहायता नगरेको गुनासो गरिरहेका छन् ।

युद्ध छाडेर भागिरहेका मानिसहरूलाई देशमा स्वागत गर्नु मानवीय कर्तव्य हो तर अमेरिकामा आप्रवासन कानुन एकदम जटिल मानिन्छ । यो वास्तवमा राजनीतिक मुद्दा पनि हो जसमा आप्रवासन र आप्रवासीहरूको मुद्दाले चुनावको नतिजा नै उल्ट्याउन सक्छ । र, सामान्य अवस्थामा अमेरिकामा शरणार्थीका रूपमा रहने अनुमति पाउनका लागि मात्र अनगिन्ती टेस्ट र स्क्रिनिङ गराउनुपर्ने हुँदा वर्षौं लाग्ने गरेको बताइन्छ ।

अमेरिकामा गत अक्टोबरदेखि ६९० युक्रेनीहरू शरणार्थीका रूपमा बसिरहेका छन् । तर यो युद्ध अगाडिको कुरा हो ।

यसबारेमा बाइडेन प्रशासनका वरिष्ठ अधिकारीले अधिकांश युक्रेनीहरू सम्भावित रूपमा युरोपमै रहन चाहने बताएका छन् तरपनि कोही अमेरिका आउन इच्छुक भए यसका लागि प्रयास भइरहेको उनले जानकारी दिए ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बिहीबार मात्र आफूले संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीसँग नजिकबाट काम गरिरहेको बताएका थिए । युक्रेनी शरणार्थीहरूलाई अमेरिकाले कसरी धेरै भन्दा धेरै मद्दत गर्न सक्छ भन्नेबारे नियमित छलफल भइरहेको उनले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका