जनतालाई सुरक्षा दिने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी उर्मिला जनताबाटै मारीनुपर्याे • Nepal's Trusted Digital Newspaperजनतालाई सुरक्षा दिने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी उर्मिला जनताबाटै मारीनुपर्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जनतालाई सुरक्षा दिने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी उर्मिला जनताबाटै मारीनुपर्याे

जनतालाई सुरक्षा दिने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी उर्मिला जनताबाटै मारीनुपर्याे

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
जनतालाई सुरक्षा दिने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी उर्मिला जनताबाटै मारीनुपर्याे

विराटनगर । लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी परिचालन भएको थियो। पौडेलले आइतबार एक विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। शिक्षक र भीडलाई नियन्त्रणमा लिन खटिएको प्रहरीलाई आक्रोशित भीडले आक्रमण गर्दा उक्त घटना भएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभएकाे छ।

‘आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि प्रहरीसँग झडप भएको रहेछ,’ उहाँले भन्नुभयाे, ‘म चितवन भएकाले साँझ मात्रै आइपुगे। दुःखद घटना भयो।’ प्रहरी श्रेष्ठको घाँटीमा भीडले छुरा प्रहार गरेको राईले बताउनुभयाे। यता, नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले भने चिन्ताजनक र गम्भीर अवस्थामा प्रहरी जवानको उद्धार गरिएको बताउनुभयाे। ‘तनाव र शिक्षक नियन्त्रणमा लिन प्रहरी पुगेको थियो,’ उहाँले भन्नुभयाे, ‘प्रहरीमाथि घरेलु हतियार प्रहार भएको थियो। अन्य विवरण हामी संकलन गर्दैछौं।’

खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गर्नुभएकाे थियाे । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गर्नुभएकी उर्मिला श्रेष्ठ खुसी हुनुहुन्थ्याे ।

उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बन्नुभएकाे थियाे । उदयपुरको त्रियुगामा विवाह गर्नुभएकी श्रेष्ठ प्रहरी जवानलाई नै जीवनसाथी रोज्नुभएकाे थियाे । तर उहाँ जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बन्नुभएकाे थियाे । उनीहरुकै आवेगको शिकार हुनुभयाे ।

होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि आरोपितलाई त्यत्तिकै बाहिर निकाल्दा भीडले आक्रमण गर्ने डर थियो । प्रहरीमा बुझाएपछि पौडेललाई कुनै कारबाही नहुने भन्दै एउटा समूह आफैंले कारबाही गर्ने भन्दै ‘अराजक’ बनेको थियो । अर्को पक्ष पौडेललाई जोगाउन लागि परेको थियो । दुई पक्षका कारण लेटाङमा तनाव बढ्दो थियो ।

त्यही तनाव नियन्त्रण गर्न, आरोपित शिक्षकलाई पक्रन र स्थानीयबासिन्दाको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्न उर्मिला लेटाङ पुग्नुभएकाे थियाे । तर त्यो भीडमा कसैले उहाँमाथि चक्कु हान्यो, त्यो पनि घाँटीमा । घटनास्थलमा नै रक्ताम्मे बन्नुभएकाे उहाँलाई आइतबार राति नै कोशी अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उहाँलाई बचाउन सकेनन् ।

उर्मिलका श्रीमान इलाममा प्रहरी जवानमै कार्यरत हुनुहुन्छ । दाजु भुवन श्रेष्ठ विराटनगरमै प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । प्रदेश १ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविन राईका अनुसार श्रेष्ठ प्रहरीको तालिमपछि गणमा कार्यरत हुनुहुन्थ्याे ।

शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीय र आक्रमणबाट रोक्ने प्रहरीबीच आइतबार दिनभर झडप भएको थियो । भिडले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल आगजनी गर्दै स्कुलमा पुगेको एम्बुलेन्स पनि तोडफोड गरेको थियो ।

आइतबार दिनभर तनाबग्रस्त भएको स्कुलबाट प्रहरीले राति करिब साढे ७ बजे शिक्षकलाई प्रहरी कार्यालय ल्याएको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा घरेलु हतियारसहित आएको समूहले आक्रमण गरेको थियो ।

झडपमा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहित २९ जना प्रहरी घाइते भएका थिए । आन्दोलनकारी सात जना घाइते भएको प्रहरीले बताएको छ । एक जना आन्दोलनकारीको छातीमा गोली लागेको छ । घाइतेहरुको कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ घटनामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको हो ।

घटनापछि आज बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी भएपछि लेटाङको अवस्था सामान्य रहेको बताउँदै उहाँले आइतबारको घटनामा संलग्न अन्यको खोजी जारी रहेको बताउनुभयाे । प्रहरीले घटनाको विषयमा गम्भीर अनुसन्धान गरिरहेको दाहालले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका