पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताउनुभएकाे छ ।
जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उहाँले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको समेत बताउनुभयाे ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले भन्नुभयाे, ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं ।’
‘देशभरिको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर जाँदैछौं,’ दाहालले अगाडि भन्नुभयाे, ‘अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने, बीचमा हामीले गल्ती गरेछौं भन्ने रियलाइजेसन भएको छ ।’
अबको चुनावमा आफ्नै बलमा चुनाव लड्ने उहाँले बताउनुभयाे । दाहालले भन्नुभयाे, ‘अबको चुनावमा हामी बैशाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौं ।’
चुनावी गठबन्धनबारे सोधिएको प्रश्नमा उहाँले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताउनुभएकाे थियाे । यद्यपि धेरै कुरा कांग्रेसमा भर पर्ने पनि उहाँले बताउनुभयाे ।
३ चैतमा बुटवलमा आयोजित कार्यक्रममा कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर बोलेकोबारे पत्रकारहरुको जिज्ञासामा उहाँले अहिले भर्खरै एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको बताउनुभएकाे छ । त्यो कुरा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा भनेको प्रष्टीकरण दाहालले दिनुभयाे ।