३० बैसाखमा हुने स्थानीय तह चुनावका लागि अहिले सरकार, निर्वाचन आयोग तथा राजनीतिकदलहरू तीब्र तयारीमा लागेका छन् । चुनावी कार्यक्रम पनि सार्वजनिक भइसकेको छ । उम्मेदवार बन्न चाहनेहरू प्रयासमा लागिसकेका छन् ।
अघिल्लो चुनावमा हार्नु परेको कारण र अहिले जित्ने आधारको खोजिमा दलहरू रहेका छन् । यसै सन्दर्भमा हामीले २०७४ सालको चुनावमा अत्यन्तै कम मत अर्थात एकल अंकमा नै मतान्तर भएर स्थानीय तहको प्रमुख बन्न नपाएका त्यतिबेलाका उम्मेदवार खोजी गरेका छौँ ।
मतान्तरबिना नै हारेकी मेनुका
समान मत पाएर पनि हारिन् मेनुका कार्की । झापाको कमल गाउँपालिकामा एमालेको तर्फबाट मेनुका कार्की उम्मेदवार थिइन् । अध्यक्ष वा प्रमुखमा देशैभरबाट अपवादमात्रै महिला पात्र रहेकोमा यस गाउँपालिकामा उनले अवसर पाएकी थिइन् । उनका प्रतिस्पर्धी थिए कांग्रेसका हुकुमसिंह राई । हुकुम र मेनुकाले समान ८ हजार २ सय ७५ मत प्राप्त गरे ।
तर, गाउँपालिका अध्यक्षमा भने हुकुम निर्वाचित भए । समान मत ल्याएकी उनी गोला पर्थाबाट हारेकी थिइन् ।
एक भोट थप्न नसक्दा हारे भीम
झापामा कांग्रेसका हुकुमले प्रतिस्पर्धी भन्दा एक मत पनि बढी नल्याई अध्यक्षको कुर्चीमा बस्दा अछाममा भने कांग्रेसकै भीमबहादुर साउदले एक मत कम भएको कारण त्यो अवसर गुमाए ।
अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेसका तर्फबाट भीमबहादुर साउद र एमालेको तर्फबाट हर्कबहादुर साउद उठेका थिए । कांग्रेसका भीमबहादुरले ३ हजार १ सय ३७ मत प्राप्त गरे भने एमालेका हर्कबहादुरले ३ हजार १ सय ३८ मत प्राप्त गरेर विजयी भए ।
२०७४ को चुनावमा डोल्पामा एमालेका लंकबहादुर रोकाय २ मत, जुम्लामा एमालेकै भै बहादुर रोकाय ३ मत। ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा एमालेकै भीमबहादुर थापा मगर पनि ३ मत धेरै ल्याउन नसकेको कारण पराजित बन्न पुगे ।
सिराहाको औरही गाउँपालिका संघीय समाजवादीका शिबजी यादव ६ मतले र पर्साको बिन्दबासिनी गाउँपालिकामा कांग्रेसका चन्द्र किशोर प्रसाद वरै र भोजपुरको रामप्रसाद गाउँपालिकामा माओवादी केन्द्रका थामबहादुर राई समान ८ मत कम भएका कारण हारेका थिए ।