नयाँ भेरिअन्ट डेल्टाक्रोनः नेपालमा के छ अवस्था ? • Nepal's Trusted Digital Newspaperनयाँ भेरिअन्ट डेल्टाक्रोनः नेपालमा के छ अवस्था ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नयाँ भेरिअन्ट डेल्टाक्रोनः नेपालमा के छ अवस्था ?

नयाँ भेरिअन्ट डेल्टाक्रोनः नेपालमा के छ अवस्था ?

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
नयाँ भेरिअन्ट डेल्टाक्रोनः नेपालमा के छ अवस्था ?

 

कोरोनाभाइरसको नयाँ भेरिअन्ट डेल्टाक्रोन नेपालमा पनि भित्रिन सक्ने कुरालाई दृष्टिगत गर्दै “सावधानीपूर्वक निगरानीका काम जारी राखिएको” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

त्यसका लागि भाइरसको भेरिअन्ट चिन्न जीन सीक्वन्सिङ गर्ने काम निरन्तर भइरहेको उनीहरूको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मार्च ९ मा उक्त नयाँ भेरिअन्ट पत्ता लागेको घोषणा गरेको थियो । डेल्टाक्रोनको सङ्क्रमण युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ ।

के गर्दैछ नेपाल ?
स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले नेपालभित्रै वा अन्यत्रबाट पनि नेपालमा नयाँ किमिमका कोरोनाभाइरस भित्रिन सक्ने ठानेर त्यसै अनुसारका परीक्षणलाई जारी राखेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्यस्तो काम डब्ल्यूएचओसँग “नियमित सम्पर्कमा रहेर” गर्ने गरिएको बताए । उनले भने, “नेपाल सरकारले कुनै पनि नयाँ भेरिअन्ट हाम्रै भूगोलभित्र वा हाम्रा छिमेकी देशहरूमा वा विश्वका कुनै पनि ठाउँहरूमा देखा पर्न सक्छन् र त्यो सङ्क्रमण आइहाल्यो भने फैलिन सक्छ भन्ने ठानेर काम गरिरहेको छ ।”
“त्यस कुराको प्राविधिक ठम्याइ, प्राविधिक भोगाइ, हामीले विगतमा प्राप्त गरेका अनुभव सबैका आधारमा चुस्त, दुरुस्त र सुदृढ निगरानी प्रणाली बनाउनुपर्छ भनेर त्यसमा जोड दिएर काम भइरहेको छ ।” उनले देशभित्र भइरहेको सङ्क्रमणमा कुन भेरिअन्टको भूमिका छ भनेर पनि नियमति रूपमा हेर्ने गरिएको बताए । उनले भने, “देशैभित्र सङ्क्रमण पुष्टि भएकामध्ये कुन चाहिँ भेरिअन्टको पुष्टि भएको हो भन्ने जीन सीक्वन्सिङ गर्ने र निगरानी गर्ने कामहरू एकदमै धेरै सावधानीका साथ गरिरहेका छौँ ।” उनका अनुसार हालसम्म नेपालमा डेल्टाक्रोन भेरिअन्ट भेटिएको पुष्टि भएको छैन ।
नयाँ भेरिअन्ट कस्तो ?
डेल्टा र ओमिक्रोन भेरिअन्टको संयुक्त रूप भएकाले त्यसलाई ’डेल्टाक्रोन’ नाम दिइएको हो । यद्यपि हालसम्म डब्ल्यूएचओले त्यसलाई “चिन्ताको भेरिअन्ट“का रूपमा वर्गीकरण गरेको छैन । त्यसको अर्थ यो भेरिअन्ट अहिलेसम्म जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने खालको देखिएको छैन भन्ने हो । तर डेल्टाक्रोनका कारण युरोपेली देशहरूमा सङ्क्रमण फेरि उकालो लाग्ने अवस्था बनेको बताइएको छ । वैज्ञानिकहरू यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ वा यसमाथि खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन् । त्यसैले यसबारे विश्वका विभिन्न देशमा थप अनुसन्धान जारी छ ।

‘धेरै डराउनुपर्ने अवस्था छैन तर सतर्क हुनुपर्छ’
विभिन्न देशहरूमा डेल्टाक्रोन भेरिअन्ट देखिएका बेला नेपाल पनि उक्त भेरिअन्टप्रति “सतर्क बन्नुपर्ने तर धेरै डराइहाल्नुपर्ने अवस्था नरहेको” सङ्क्रामक रोगविज्ञहरूको भनाइ छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका भनाइमा डेल्टाक्रोन भेरिअन्ट देखिएका स्थानमा “विस्तारै सङ्क्रमणमा वृद्धि” देखिएको पाइएको छ । तर अझै पनि यो भेरिअन्टबारे धेरै जानकारी प्राप्त हुन बाँकी नै छ । उनले भने, “यो भेरिअन्ट पाइएका देशहरूको अवस्था हेर्दा पहिले ओमिक्रोन र डेल्टा भइसकेकालाई सङ्क्रमण कम भएको जस्तो देखिएको छ ।” “यसले सङ्क्रमण बढाउन सक्ने तर डेल्टा वा ओमिक्रोनको जस्तो अवस्था नआउँला भन्ने लाग्छ किनिकी धेरैलाई पहिलेका भेरिअन्टले सङ्क्रमण गराइसकेका छन् र अधिकांशले खोप पनि लगाएका छन् ।” उनी पहिले नै सङ्क्रमण भएका र खोप लगाएकामा प्रतिरक्षा प्रणाली विकास भइकेकाले पनि त्यो सम्भावना कम हुने बताउँछन् । यद्यपि कोइरालाका भनाइमा विभिन्न खाले दीर्घ रोग लागेका र खोप नलगाएकामा यो भेरिअन्टले पनि कडा लक्षण देखाउन र उनीहरूका लागि घातक बन्न सक्छ । “अन्य देशको अवस्था हेर्दा यसले धेरै क्षति नगर्ला, सामान्य रुघाखोकी जस्तो भएर जालाझैँ देखिन्छ,” उनले भने । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन पनि यो भेरिअन्ट आइहाल्दा पनि “चिन्तित हुनुपर्ने“ अवस्था नरहेको बताउँछन् । उनी नेपालका धेरैले खोप लगाइकेका र खोप लगाउने क्रम पनि जारी रहेकाले उक्त भेरिअन्टसँग लड्ने क्षमता विकास भइरहेको ठान्छन् ।
उनले भने, “मैले तत्काल धेरै डरलाग्दो अवस्था देखेको छैन । दोस्रो लहरमा जस्तो स्वास्थ्य प्रणाली नै ध्वस्त हुने खालको अवस्था चाहिँ आउने सम्भावना म देख्दिनँ ।”

उनी नेपालमा डेल्टा भेरिअन्ट फैलिएको दोस्रो लहरलाई सबैभन्दा “खतरनाक“ अवस्था भएको रूपमा हेर्छन् ।

’भारतमा फैलिए नेपालमा बढ्न सक्छ’
अघिल्ला लहरहरूमा जस्तै यो भेरिअन्ट पनि भारतमा धेरै फैलिएमा नेपालमा त्यसले प्रत्यक्ष प्रभाव पार्ने विज्ञहरूको भनाइ छ । “नेपालको ट्रेन्ड हेर्दा भारतबाट बढी जोखिम रहेको देखिएको छ,“ डा. कोइरालाले भने । “अन्यत्रको आवतजावत रोकथामका लागि सजिलो छ तर भारतसँग हाम्रो खुला सिमाना भएकाले सहज छैन ।”

कोभिडको जोखिम कस्तो अवस्थामा ?
नेपालमा पछिल्ला दिनमा कोभिडबाट ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको र सङ्क्रमितहरू पनि केही सयको सङ्ख्या सीमित भएको सरकारी विवरणले देखाउँछ । त्यसलाई हेरेर सरकारले कोभिडबाट बच्न लगाइएका कतिपय प्रतिबन्धात्मक नियमहरूलाई खुकुलो पनि पारेको छ । सङ्क्रमण दरलाई हेरेर कतिपयले नेपालमा कोभिडको जोखिम न्यून भएको भनिरहेका छन् । तर सरकारी अधिकारीहरू “जोखिम कम भएको“ भन्न नमिल्ने बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने, “सङ्क्रमणको सङ्ख्या कम भएकोलाई मात्र जोखिम कम भएको भन्न मिल्दैन। त्यसका धेरै मापदण्ड छन् । अहिलेको भेरिअन्ट र नयाँ आउने भाइरसबाट पनि सङ्क्रमण हुन सक्छ ।”

उनी खोप लगाउने उमेर समूहका ९० प्रतिशतले कम्तीमा एक मात्रा खोप लिइसकेको तर अझै कैयौँले लिन बाँकी रहेको बताउँछन् ।

त्यस्ता व्यक्तिमा जोखिम बढी हुने भएकाले सरकारले सबैलाई समेट्न खोप अभियानलाई निश्चित भूगोलमा विशेष तरिकाले चलाउनेबारे पनि सोचिरहेको उनको भनाइ छ । नेपालमा अहिले ४,००० जनाभन्दा केही बढी मात्र सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीवार ४,५०० बढी नमुना जाँच गर्दा जम्मा २७ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका