तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न थालियाे • Nepal's Trusted Digital Newspaperतनहुँ कारागारमा महिला कैदीबन्दी राख्न थालियाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न थालियाे

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न थालियाे

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ४, २०७८
तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न थालियाे

तनहुँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ। कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो।

महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयाे। कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ।

तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको नारायणअधिकारीले बताउनुभयाे। ‘महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ,’ उहाँले भन्नुभयाे। त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिनुभयाे।

तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताउनुभयाे। तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ। महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ। कारागारको पुरानो कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो।

कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो। गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुग हुँदा चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो।

रासस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका