एउटा सर्जकले सत्ता ढाल्न सक्छ । एउटा कविता राजनीतिमा उथलपुथल ल्याउन सक्छ । यो हाम्रो लागि कुनै नौलो कुरा होइन । र यो संसारमा पनि नौलो कुरा रहेन । संसारमा अनेकौँ कविले सरकार र राजनीतिलाई धावा बोलेका छन् । त्यसो त नेपालमा पनि कयौँ कविताप्रति सरकार डराएको खबर हाम्रो लागि कुनै नौलो कुरा रहेन । सत्ता जहिले पनि आफ्नो स्तुति र गुणगान सुन्न चाहन्छ, विरोध सुन्ने कान र मन सत्तासँग हुँदैन । एक सय चार वर्षको राणाशाही, तीन दशकको पञ्चायत, बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको नेपालका शासकले यही तथ्य साबित गरेका छन् । प्रतिरोधी चेतना र प्रतिपक्षी सोच कुनै पनि नामको सत्तालाई मन पर्दैन, त्यस्ता कुरालाई किनारामा मिल्काउन सदा उद्यत रहन्छ सत्ता । सत्ता प्रेम, यौन, प्रकृतिको बयान गर्ने जिम्मा कवि–लेखकमा छाडिदिन्छ । एउटा कविले प्रेम, यौन, प्रकृति वा रक्सीमाथि सिर्जना गर्नै हुन्न भन्नु पनि अर्घेलो हुन जान्छ । यी विषयमा ठूल्ठूला ठेली वा महाकाव्य पनि लेख्न सकिन्छ तर त्यो केवल मनोरञ्जनका लागि खपत हुन्छ । त्यसले मान्छे, समय र जमिन चिन्दैन ।
आफ्नो स्तुति वा प्रकृति र प्रेममा रमाउने कविलाई सत्ताले सधैं पुरस्कृत गर्छ, अलंकार प्रदान गर्छ, आवधिक भत्ता दिन्छ, विभिन्न मानपदवीले विभूषित गर्छ । कवि हृदय भएको उपमा पाएका राजा महेन्द्रले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान नै स्थापना गरिदिए । उनका पुत्र वीरेन्द्र त झन् कविता र कला भनेपछि हुरुक्कै हुन्थे । हरेक वर्ष उही प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर कविहरूबीच कविताको प्रतिस्पर्धा नै गराइदिन्थे । असार ९ का दिन समस्यापूर्ति कवितामा भाग लिने कविको ओइरो नै लाग्ने गथ्र्यो केही वर्ष कवि–गीतकार राजा ज्ञानेन्द्रकाल अघिसम्म । त्यस समय कविहरूलाई कविता लेख्न राजाले विषय दिन्थे । कतिपय कविहरू राजाबाट बक्स भएको विषयमा कविता लेख्नु, पुरस्कृत हुनु र त्यस्तो गोष्ठीमा भाग लिन पाउनु मात्रैलाई पनि आफ्नो ‘जीवन सफल’ भएको ठान्थे । सोही बखत कतिपय प्रतिभाशाली कवि रहर, बाध्यता वा इच्छाले सत्तानिकट रहन पुगे ।
सचेत र राष्ट्र तथा समाजप्रति दायित्वबोध भएका नागरिक, कलाकार र कवि मुलुकप्रति बफादारी, स्वच्छ शासन तथा विकासको नारा लिएर जनताको अभिमत हाँसिल गरेका नेता तथा शासनप्रति निगरानी राखिरहन्छन् । र, अवसर पाउँदा, अवसर पारेर तथा पर्व विशेषमा सांकेतिक रुपमै भए पनि सत्ता र नेताहरुलाई खबरदारी गर्ने गर्छन् ।
नेपाली समाजको पछिल्लो एक शताब्दीको इतिहास हेर्ने हो भने राजनीतिक परिवर्तनमा साहित्यकारहरूले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । समाजमा चेतना जगाउने, मानिसहरूलाई आन्दोलित गर्ने र अग्रमोर्चामा रहेर निरंकुशताविरुद्ध आवाज बुलन्द गर्ने काम लेखकहरूले गर्दै आएका छन् ।
पुस्तकालय पर्व र जयतु संस्कृतम्बाट सुरु भएको जागृतिको अभियान अहिलेसम्म पनि रोकिएको छैन । खासगरी पञ्चायतविरोधी आन्दोलन, जनयुद्ध र पहिलो तथा दोस्रो जनआन्दोलनमा लेखक कलाकारले देखाएको साहस अतुलनीय छ ।
सरस्वती सदनको दृश्य सम्झिदा । वयोवृद्ध कवि युद्धप्रसाद मिश्र कसरी खम्बाजस्तै उभिएका थिए ? रोगले ग्रस्त भए पनि पारिजातले कसरी सत्ताविरुद्ध हुंकार गरेकी थिइन् ? सरस्वती सदनमा हामी ती मूर्धन्य कवि–लेखकहरूको वरिपरि एउटै गोलो भएर बसेका थिए । युद्धप्रसाद मिश्र, पारिजात, डायमण्ड शमशेर, भुवनलाल प्रधान, सत्यमोहन जोशी, वाशु शशी, कमलमणि दीक्षित, कृष्णचन्द्रसिं प्रधान, उत्तम नेपाली, मोहन कोइराला, शक्ति लम्साल, रुद्र खरेल, आनन्ददेव भट्ट, दुर्गालाल श्रेष्ठ, निनु चापागाईं, ध्रुवचन्द्र गौतम, खगेन्द्र संग्रौला, रामेश, रायन, महजोडी, गोविन्द वर्तमान, शारदा शर्मा, मोहन खड्कासहित एक सय पचहत्तरजना कवि, लेखक र कलाकारले मुखमा कालोपट्टी बाँधेर बस्दा आन्दोलनको माहोल नै अर्कै भएको थियो । त्यसैले त सत्ता डराइरहन्छ सर्जकसँग ।
केही दिन भयो गायक प्रकाश सपूतले “पीर” नामको गीत बजारमा ल्याए । उक्त गीतमा माओवादीको आन्दोलनमा लडाकुले अहिले पाइरहेको दुःखलाई व्याख्या गरियो । त्यसपछि तर्क बितर्क सुरु भए । प्रकाश सपूतको गीतमा माओवादीमाथि तरङ्ग ल्यायो । माओवादीका दिग्गजहरु त यस विषयमा बोलेका छैनन् । तर पूर्व माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराइले भने गीतलाई स्वीकार्नुपर्ने बताएका छन् । त्यसैगरी माओवादीका कार्यकर्ताले भने यस गीतप्रति तर्क बिर्तकको खोला नै बगाएका छन् ।