नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुडाइने • Nepal's Trusted Digital Newspaperनेपाली रेल अब महिनाको १५ दिन मात्रै गुडाइने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुडाइने

नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुडाइने

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुडाइने

जनकपुरधाम । पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ ।

गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिनुभयाे । उहाँका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।

होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उहाँले बताउनुभयाे । रेल गुडिरहे पनि आम्दानी भएको छैन । महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताउनुभयाे ।

रेल गुडाउने अध्यादेश निष्कृय भएका कारण उद्घाटनको मिति निर्धारण हुन नसकेको पनि उहाँले बताउनुभयाे । ‘हामीले आफ्नो तर्फबाट सबै तयारी गरिसकेका छौं,’ उहाँले भन्नुभयाे, ‘कर्मचारी नियुक्त भइसकेका छन् । भाडादर पनि निर्धारण गरिसकेका छौं । तर, कानुनको अभावमा यात्रुलाई बोकेर गुडाउन सकिएको छैन ।’

उहाँले संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै सम्भवतः सोमबारसम्म अध्यादेश आउने बताउनुभयाे । अध्यादेश आएर कानुन बनिसकेपछि उद्घाटन भएर रेल सेवा नियमित हुने उहाँले बताउनुभयाे ।

फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा रेलको उद्घाटन गराउने तयारी भएपनि कानुनकै अभावमा हुन नसकेको निरञ्जन झाले बताउनुभयाे ।

जनकपुर जयनगर रुटमा रेल सन्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाँख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो । भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका