रुसले हमला गर्छ कि भन्ने पीरमा पोल्याण्ड • Nepal's Trusted Digital Newspaperरुसले हमला गर्छ कि भन्ने पीरमा पोल्याण्ड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुसले हमला गर्छ कि भन्ने पीरमा पोल्याण्ड

रुसले हमला गर्छ कि भन्ने पीरमा पोल्याण्ड

  • समाचारपाटी
  • बिहिबार, चैत्र ३, २०७८
रुसले हमला गर्छ कि भन्ने पीरमा पोल्याण्ड

युक्रेनमा जारी रुसी आक्रमण आफ्नो सीमाना नजिक आइपुगेपछि पोल्यान्ड चिन्तित बनेको छ । आफ्नो देशमा दिनदिनै भित्रिरहेका लाखौँ शरणार्थीलाई लिएर पहिलेदेखि नै चिन्तित बनेको पोल्यान्ड सीमाना नजिकको युक्रेनी सैन्य बेसमाथिको रुसी हमलापछि झन तर्सिएको छ ।

पोल्यान्डले विश्व युद्धपछिकै ठूलो शरणार्थी संकटमा पहिलो ‘रेस्पोन्डर’को भूमिका निर्वाह गरेको छ । जहाँ हालसम्म १७ लाख युक्रेनीहरू भित्रिसकेका छन् । कति पोल्यान्डको बाटो हुँदै अन्य देशमा गइसकेका छन् भने कतिपयले पोल्यान्डमै रहने निर्णय गरिरहेका छन् ।

जसले गर्दा पछिल्लो दुई हप्तामै पोल्यान्डको राजधानी वारशको जनसङ्ख्या १५ प्रतिशतले बढेको छ ।

यता शरणार्थीहरूको मद्दत गरिरहँदै चेतावनीको घण्टी पनि बजिरहेको छ । केही समय अगाडि मात्र रुसले पोलिस बोर्डरबाट केबल १६ किलोमिटरको दुरीमा रहेको युक्रेनी सैन्य बेसमा बमबारी गरेको थियो ।

लामो समयदेखि नै पोल्यान्डले पश्चिमलाई युरोपको शक्ति सन्तुलनलाई आफ्नो पक्षमा पुनः स्थापित गर्ने रुसको योजनाबारे चेतावनी दिँदै आएको थियो । पोलिस नेताहरूलाई त्यसबेला सबैले नजरअन्दाज गरे तर अहिले अवस्था फेरिसकेको छ ।

सोमबार मात्र पोलिस प्रधानमन्त्री मेटुएज मोरावेइकीले युक्रेनी सेनालाई पश्चिमी सहयोगको एकदम आवश्यकता रहेको र उनीहरू सहयोगको बराबर हकदार पनि भएको बताएका छन् । उनीहरू आफ्नो लागि मात्र नभएर पूर्वी युरोपियन छिमेकीहरूको स्वतन्त्रताका लागि पनि लडिरहेको उनको भनाइ छ ।

कुनैबेला रुससँग ‘फोबिया’ भएको देशको नाम दिएर नेटोमा समेत नजरअन्दाज गरिएको पोल्यान्ड यतिबेला पूर्वी पश्चिमसँगको सबैभन्दा महत्वपूर्ण ‘लिङ्क’ बन्न पुगेको छ । जस्तै पश्चिमी राष्ट्रहरूबाट युक्रेनका लागि आउने हतियार लगायत सबै किसिमको सहयोग पोल्यान्ड हुँदै भित्रिरहेको छ जसलाई यसअघि रुसले वैधानिक सैन्य टार्गेट घोषणा गरेको थियो ।

तर के रुसले वास्तवमै पोल्यान्डमाथि हमला गर्न सक्ने सम्भावना छ ? जुन युरोपेली युनियन र नेटोको सदस्य पनि हो ।

पश्चिमी संगठनले आफूहरूमध्ये कोही एकमाथि हमला गर्नु सबैसँग लडाइँ गरे बराबर हुने बताउँदै आएका छन् । यसको अर्थ विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका र रुस आमनेसामने हुनेछन् । जसबाट कुनैपनि हालतमा बच्ने पश्चिमको अपेक्षा छ ।

वारशका मेयर राफल रजासकोविस्कीकाअनुसार यो सबै संकटका बाबजुद पोल्यान्ड हतासिएको छैन । तरपनि नागरिकहरूले पोलिस सीमाको नजिकै बमबारी भइरहेकाबारे प्रश्न उठाइरहेका छन् र रुसले सम्भावित रूपमा रासायनिक हमलाको योजना बनाइरहेको खबरप्रति पनि अधिक चिन्ता जनाइएको छ । यसमा उनले शरणार्थी संकटबारे पनि तत्काल केही गर्न जरुरी रहेको बताए ।

उनले भने, “यदि शरणार्थीको सङ्ख्या यसरी नै लगातार बढिरहने हो भने पोल्यान्डको सम्पूर्ण प्रणाली भङ्ग हुनेछ ।” त्यसैले उनले थप अन्तर्राष्ट्रिय सहयोगको अपील गरेका छन् ।

ब्रसेल्सले सबै युक्रेनियनहरूलाई आफ्नो भूभागमा स्वागत रहेको बताएको छ र पोल्यान्डलाई आर्थिक सहयोग दिलाउने प्रतिज्ञा पनि गरेको छ । तर सम्बन्धित निकायहरूका अनुसार यति मात्र पर्याप्त छैन । साथै युरोपियन आयोगले निश्चित तथ्यांक उल्लेख नगर्न खोजिरहेको छ ।

तर्कपूर्ण रूपमा पनि पोल्यान्डको पीडादायी विगतलाई हेरेर यसले भविष्यका बारेमा अधिक चिन्ता जनाउनु जायज मानिएको छ । युक्रेनियन शरणार्थीहरूले पोल्यान्डलाई आफ्नै युद्धका क्षणहरू याद दिलाइरहेको छ ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका