प्रल्हाद चन्द्र घिमिरे, पोखरा, ३ चैत । पोखरा महानगरपालिका बिभिन्न ठाउँहरुमा जमिन भासिएको हामी सबैले सुन्दै र देख्दै आएका छौँ। पोखरामा फेरी पनि जमिन भासिएको छ।
बुधबार दिउसो चर्को घाम लागेका बेला अचानक पोखरा महानगरपालिकाको कार्यालय अगाडिको जमिन न्युरोडस्थति मूल सडकमा झन्डै एकमिटर गोलाई क्षेत्रमा भ्वाङ परेको हाे । महानगरपालिका कार्यालय अगाडी परेको भ्वाङ हेर्न जम्मा भएका स्थानीय बासिन्दाको भीडकाकारण केही बेर सवारी साधन अस्तव्यस्त बनेका थिए ।
सवारी साधन आवतजावत गर्ने सडक नै भसिएर खाल्टो भएको ठाउँलाई सेतो धर्का लगाएर सवारी आवतजावत गर्न व्यवस्था मिलाएको थियाे । भ्वाङ परेको स्थानमा पुगेका पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन प्रसाद आचार्यले न्युरोड क्षेत्रमा हरेक वर्ष जस्तो पर्ने भ्वाङको कारण पत्ता लगाइनुपर्ने कुरामा जोड दिदै पटक पटक माटोले पुर्ने कार्यले दिगो समाधान नदिने बताउनुभयाे।
वडाध्यक्ष आचार्यले दिगो समाधानको उपाय खोजिनु पर्नेमा जोड दिएकै अवस्थामा पोखरा महानगरपालिकाले डोजर लगाएर माटो हालेर भ्वाङ पुर्ने काम गरेको थियाे। भ्वाङ पुर्ने क्रममा डोजरले लागेर नेपाल टेलिकमको अप्टिकल फाइबर तारमा क्षति पुगेको छ।
डोजर लगाएर भित्र कति ठुलो खाल्टो छ भनि हेरिएको थियो । तत्काल समाधान गर्नको लागि उक्त खाल्टोमा माटो हालेर पुरिएको थियाे ।