गठबन्धनमा समस्या छ ? के छ चुनाबी माहोल ? • Nepal's Trusted Digital Newspaperगठबन्धनमा समस्या छ ? के छ चुनाबी माहोल ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गठबन्धनमा समस्या छ ? के छ चुनाबी माहोल ?

गठबन्धनमा समस्या छ ? के छ चुनाबी माहोल ?

  • समाचारपाटी
  • बुधबार, चैत्र २, २०७८
गठबन्धनमा समस्या छ ? के छ चुनाबी माहोल ?

 

स्थानीय सरकारको निर्वाचन आउन करिब दुई महिना बाँकी रहँदा सत्तारुढ गठबन्धनबीच निश्चित स्थानीय तहमा मात्रै गठबन्धन गर्ने वा देशैभरि गठबन्धन गर्ने बारेमा समझदारी जुट्न नसकेको नेताहरूले बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले भने आफ्नो दलले गठबन्धनलाई प्राथमिकतामा नराखेको र देशैभर गठबन्धन घोषणा गरेर जाने पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको सरकारमा साझेदारी गरिरहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले आगामी तिनै तहको निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

हालै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय जनमोर्चाले पनि आफ्नो दलले सत्ता गठबन्धनमा रहेका दलहरूसँगकै गठबन्धनलाई प्राथमिकता दिने बताएको छ ।

स्थानीय आवश्यकताका आधारमा गठबन्धनको पक्षमा कांग्रेस
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन हुने वा नहुनेबारे सत्ता साझेदार दलहरूबीच निर्णायक छलफल हुन बाँकी नै रहेको जानकारी दिए । हरेक पार्टीले गठबन्धनबाट हुने फाइदाबारे निर्क्यौल गरेपछि मात्रै गठबन्धनबारे निर्णय लिइने उनले बताए ।

“निर्णायक तहमा छलफल भएको अवस्था छैन। यो स्थानीय तहको निर्वाचन भएकाले सबै कुरा केन्द्रबाट तय गर्न पनि गाह्रो हुन्छ,“ प्रवक्ता महतले भने । कांग्रेसको जारी घरदैलो कार्यक्रमबाट आएको प्रतिवेदनका आधारमा गठबन्धनबारे पार्टीले स्थानीय आवश्यकता र औचित्यका आधारमा निर्णय लिने महतको भनाइ छ ।

“के गर्दा पार्टीलाई राम्रो हुन्छ सबैले हेर्ने त्यही हो। गठबन्धन गर्दा बढी राम्रो अवस्थामा हुन्छौँ कि एक्लै लड्दाखेरि हुन्छौँ त्यसको आधारमा हामी निष्कर्षमा पुग्छौँ,” उनले भने ।

गठबन्धन गर्दा सत्ता साझेदारीमा रहेका दलहरूबीच नै सहकार्यलाई प्राथमिकता दिने र स्थानीय आवश्यकता हेरेर त्यस बाहिरका दलहरूबीच पनि तालमेल हुनसक्ने महत बताउँछन् ।

तर कांग्रेसका केही युवा र दोस्रो तहका नेताहरूले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने पक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।

साझेदार दलहरूको योजना
सत्ता साझेदार गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले भने निश्चित स्थानीय तहमा मात्रै गरिने गठबन्धनभन्दा देशैभरि गठबन्धन गरिनु पर्ने धारणा अघि सारेका छन् ।

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकले चुनावी गठबन्धनका लागि अन्य दलसँग संवाद गर्ने निर्णय गरिसकेको छ । माओवादीले सत्ताधारी गठबन्धनमै रहेका दलहरुबीच स्थानीय निकाय निर्वाचनमा तालमेललाई प्राथमिकतामा राखेको छ । तर कांग्रेसले चुनावी गठबन्धनबारे स्पष्ट निर्णय नलिँदा अलमल भएको सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीका नेताहरूको आरोप छ ।

एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरले गठबन्धन स्थानीय विशेषताका आधारमा जाने वा केन्द्रीय स्तरमै सहमति गरेर जाने भन्नेबारेमा सहमति भई नसकेको बताए । “गठबन्धन हुनुपर्छ भन्ने हामी सैद्धान्तिक सहमतिमा पुगेका छौँ तर निर्णयमा पुगिसकेको होइन,” तुलाधरले भने ।

“तर गठबन्धन स्थानीय तहमा स्थानीय विशेषताका आधारित भएर जाने की केन्द्रीय तहमा सहमति गरेर तल सर्कुलर गरेर जाने भन्नेबारेमा यसै गर्ने भन्ने टुङ्गो भएको छैन ।” देशैभर गठबन्धन नहुँदा स्थानीय तहमा कांग्रेस र एमालेबीच तालमेल हुनसक्ने भन्दै माओवादी र समाजवादीले आशङ्का गरेका छन् । तर मधेस प्रदेशमा पकड राख्ने जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले गठबन्धनमा रहेका दलहरुबीच स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने आफ्नो दलको प्राथमिकता रहेको बताए ।

“जति केन्द्रबाट गठबन्धन गर्न सकिन्छ गरेर जाऊँ बाँकी स्थानीय स्थानीय तहका समितिहरूलाई नै जिम्मा नै दिनुपर्छ,” यादवले भने । अमेरिकी अनुदान सम्झौता एमसीसी पारित गर्ने गठबन्धनको निर्णयमा असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ला लिएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफ्नो दल सरकारमै रहेका दलहरूसँग गठबन्धन गर्ने पक्षमा रहेको बताइन् ।

“एमाले र राप्रपा बाहेकका दलहरूसँग हामी मिलेर जान सक्छौँ भन्ने छ । स्थानीय तहको निर्वाचन भएकाले सम्बन्धित जिल्लालाई यसबारे छलफल गरेर निर्णय गर्ने भन्ने हाम्रो नीति छ,” पौडेलले भनिन् ।

एमाले एक्लै चुनाव लड्ने
यसअघिको निर्वाचनमा गठबन्धन नगरी सबैभन्दा धेरै स्थानीय तहमा जित हात पारेको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्ष एमालेले गठबन्धनलाई प्राथमिकता नदिएको बताएको छ । यसअघि संसदीय निर्वाचनमा एकीकृत माओवादीसँग गठबन्धन र पछि पार्टी एकता गरे पनि कार्यकाल पूरा नहुँदै गठबन्धन र पार्टी विभाजित भएको अनुभवका आधारमा पनि एमाले त्यसको पक्षमा नरहेको नेताहरू बताउँछन् ।

“मिसिएर गयो भित्र गएपछि शुद्ध अशुद्ध केही नदेख्यो र तमासा देखायो यही स्थिति चाहिँ अन्त्य हुनुपर्छ भन्ने मत छ एमालेको अहिले,” एमालेका उपमहासचिव विष्णु रिमालले भने । उनले केन्द्रीकृत तहबाट पार्टीले गठबन्धनबारे कुनै निर्णय नलिने बताए ।

“पाँच दलीय गठबन्धनबाहेक कोही नयाँ हिसाबले आउनुभएछ र स्थानीय तहमा हाम्रा पार्टी कार्यकर्ताहरूले पनि यसो गर्दा राम्रो हुन्छ भन्ने तहमा पुग्नुभएछ भने हामी प्रतिबन्ध त कसैलाई लगाउँदैनौँ नि,” उनले भने ।

साना दलको योजना के छ

यसअघिको निर्वाचनमा कुनै पनि गठबन्धनमा सहभागी नभएका साना दलहरूले आगामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा आफूहरू खुला भए पनि कुनै पनि समूहसँग ठोस छलफल अघि नबढेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहन श्रेष्ठले आफ्नो दलले तालमेललाई निषेध नगरेको बताए ।

अहिले ७५३ वटै स्थानीय तहमा आफ्नै तागतमा उम्मेदवार खडा गर्न लागिरहेका छौँ । यदि भोलि तालमेलको सम्भावना रह्यो भने त्यसलाई हामी नकार्दैनौँ,“ उनले भने ।

अघिल्लो स्थानीय निर्वाचनमा काठमाण्डू महानगरपालिका सहित केही सहरी स्थानीय तहमा राम्रो मत ल्याएको विवेकशील साझा पार्टीले देशैभर उम्मेदवारी दिने योजना नरहने पनि परिणाम सुनिश्चित हुने अवस्थामा तालमेलका लागि खुला रहेको जनाएको छ ।

“हामीले उठाएको मुद्दा मिल्ने राजनीति दल भएको अवस्थामा सहकार्यका लागि हामी खुला नै हुन्छौँ तर त्यस्तो तालमेलले परिणाम प्रत्याभूत गर्नुप¥यो भन्ने हाम्रो चासो रहन्छ,” उक्त पार्टीका प्रवक्ता शरदराज पाठकले भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका