बैतडी । विना अनुमति पाराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहनुभएकाे छ ।
प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार विदेशी नागरिक जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । जेल्नरले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा पाराग्लाइडिङ गर्दै आउनुभएकाे थियाे ।
पाराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि जेल्नरले विना अनुमति पाराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभएकाे छ ।
जेल्नरसँग अष्ट्रियामा पाराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताउनुभयाे । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका जेल्नरलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ ।