युद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ ? • Nepal's Trusted Digital Newspaperयुद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ ?

युद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ ?

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
युद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ ?

 

रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइरहेको जनाएका छन् । ३९ देशले त्यस्तो छानबिन हुनुपर्ने माग गरेपछि त्यसो गरिएको हो । रुसले भने सर्वसाधारणलाई निशाना बनाइएको कुरा अस्वीकार गरेको छ ।

 

युद्ध अपराध के हो ?
युद्ध अपराधलाई व्याख्या गर्ने कानुनी आधारमध्ये एक जिनिभा महासन्धि हो । युद्धका कानुन र परिपाटी समेटिएको त्यो एउटा व्यापक दायराको र पुरानोमध्येको महासन्धि हो । र पूर्व युगोस्लाभिया र रवान्डाजस्ता केही घटनाविशेषमा बनाइने इन्टरन्याशनल ट्रिब्युनल्स जाँच आयोगले समेत त्यस्तो व्याख्या गर्छन् । जिनिभा महासन्धि अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू मिलेर बनेको छ जसले युद्धमा मानवीय व्यवहारका लागि अन्तर्राष्ट्रिय कानुनी मापदण्ड तयार पार्छ । पहिलो तीन वटा महासन्धिहरूले युद्ध लड्नेहरू र युद्ध बन्दीलाई संरक्षण गर्छन् । जबकि चौथो महासन्धि जुन दोस्रो विश्वयुद्धपछि बनेको हो त्यसले युद्ध क्षेत्रमा आम नागरिकलाई संरक्षण गर्छ । सन् १९४९ को जिनिभा महासन्धिलाई रुस सहितका संयुक्त राष्ट्रसङ्घका सबै देशले हस्ताक्षर गरेका छन् । चौथो नम्बरको जिनिभा महासन्धिका अनुसार युद्ध अपराध भन्नाले निम्न कुराहरू बुझिन्छ ।

-नियतवश हत्या
-यातना वा अमानवीय व्यवहार
-नियतवश पीडा दिनु वा शरीर वा स्वास्थ्यमा गम्भीर असर पु¥याउनु
-व्यापक क्षति र सैन्य औचित्यबिनाको सम्पत्ति कब्जा
-मानिसहरूलाई बन्धक बनाउनु
-गैर कानुनी सुपुर्दगी वा गैरकानुनी कारावास
सन् १९९८ को रोम विधान सशस्त्र द्वन्द्वसँग सम्बन्धित अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सन्धि हो । अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनका विषयमा यस व्यवस्थाले समेत युद्ध अपराधलाई समेटेको छ । जसले भन्छ–

-शत्रुतापूर्ण व्यवहारमा प्रत्यक्ष संलग्न नहुने नागरिक समूहमाथि वा कुनै आमव्यक्तिविरूद्ध नियतवश गरिने हमला
-व्यापक रूपमा सर्वसाधारणको ज्यान लिने वा उनीहरूलाई घाइते बनाउने जान्दाजान्दै गरिने हमला
-आफ्नो बचाउ नगर्ने सहर, गाउँ, बस्ती वा भवनमा जुनसुकै माध्यमबाट गरिने हमला वा बमवारी
-यसका अनुसार अस्पताल, धर्म वा शिक्षा आर्जनसँग जोडिनेजस्ता निश्चित प्रकारका भवनलाई जानाजान निशानामा पार्न पाइँदैन।

यसले विषाक्त ग्यासजस्ता निश्चित प्रकृतिका हतियारहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

आईसीसी के हो र युद्ध अपराधहरूको अभियोजन कसरी हुन्छ?
द नेदरल्यान्ड्सको हेगमा रहेको आईसीसीको स्थापना रोम विधान अन्तर्गत रहेर सन् १९९८ मा भएको हो । यो एउटा स्वतन्त्र संस्था हो जसले अन्तर्राष्ट्रिय समुदायलाई सरोकार हुने गम्भीर अपराधहरूमा अभियोजन चलाउँछ । यसले युद्ध अपराध, नरसंहार, मानवताविरूद्धको अपराध र कुनै पनि देशविरुद्ध राजनीतिक वा सैन्य नियन्त्रणका लागि गरिने कामको अपराधमा अनुसन्धान गर्छ ।

राज्यहरूले सन्दिग्ध अपराधीहरूलाई आफ्नै अदालतमा अभियोजन चलाउन सक्छन् । आईसीसीको क्षेत्राधिकारको प्रयोग राज्यहरूले नसक्ने वा त्यसो गर्न नचाहने अवस्थामा अन्तिम विकल्पको रूपमा गरिन्छ ।
यस अदालतको आफ्नै प्रहरी बल छैन र संदिग्धहरूलाई पक्रन त्यसले देशहरूको सहयोग लिने गर्छ । आईसीसीले काराबास र जरिबानाको रूपमा सजाय दिन सक्छ । रुस र युक्रेन उक्त अदालतको १२३ सदस्य राष्ट्रमध्ये छैनन् । तर युक्रेनले त्यसको क्षेत्राधिकार स्विकारेको छ जसको अर्थ आईसीसीले केही अपराधका आरोपमा अनुसन्धान गर्न सक्छ ।

यसको सदस्य नभएका अन्य प्रभावशाली देशहरू अमेरिका, चीन र भारत हुन् ।

के यसअघि युद्धअपराधबारे अभियोजन भएको छ ?
दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले मुख्य रूपमा यहुदीहरूलाई लक्षित गरेर दशौँ लाख मानिसहरूको हत्या गरेको थियो ।

आम नागरिक र युद्ध बन्दीमाथि गरिएको गलत व्यवहारका कारण ब्रिटेन, सोभियत सङ्घ र अमेरिका संलग्न भएको गठबन्धनले जिम्मेवारलाई अभियोजन गर्न प्रेरित गरेको थियो । सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो । सन् १९४८ मा एउटा त्यस्तै प्रक्रिया टोक्योमा शुरू भयो जहाँ सातजना जापानी कमाण्डरहरूलाई झुण्ड्याइएको थियो । ती ट्रायलहरूले त्यसपछिका अभियोजनका लागि नजिरहरू खडा गरेका थिए । सन् २०१२ मा कङ्गोका युद्ध सरदार थोमस लुबाङ्गा आईसीसीबाट दोषी ठहरिने पहिलो व्यक्ति भएका थिए । जतिखेर उनलाई सन् २००२ र २००३ मा आफ्नो विद्रोही सेनाका लागि बाल सैनिकहरूको भर्ती र प्रयोग गरेकोमा दोषी ठह¥याइएको थियो ।

उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो ।

पूर्व युगोस्लाभियाका लागि गठित इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल सन् १९९३ देखि २०१७ सम्म एउटा संयुक्त राष्ट्रसङ्घीय निकायका रूपमा काम ग¥यो । सो निकाय युगोस्लाभियाको युद्धका बेला भएका अपराधको अभियोजनका लागि खडा गरिएको थियो ।

जसले बोस्नियाका एकजना पूर्व सर्ब नेता राडोभान कारडिचलाई सन् २०१६ मा युद्ध अपराध, नरसंहार र मानवताविरूद्धको अपराधमा उनको भूमिकाका लागि दोषी ठह¥याएको थियो । बोस्नियाको सर्ब फौजका सैन्य कमान्डर राट्को म्लाडिकलाई समेत सोही अपराधमा दोषी ठह¥याइएको थियो ।

अन्य केही समयका लागि लागि स्थापना गरिएका अदालतले समेत रवान्डा र कम्बोडियामा नरसंहार र मानवताविरूद्धको अपराधका लागि केही आरोपितमाथि अभियोजन चलाएका थिए । रवान्डाका लागि गठन गरिएको इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल त्यस्तो पहिलो निकाय थियो जसले बलात्कारलाई नरसंहार गराउने आपराधिक शैलीको रूपमा स्विकारेको थियो ।

रुसमाथिका आरोप के हुन ?

किएभ, खार्किभ र खेर्सन सहितका शहरमा हालैका दिनमा ठूला हमलाहरू भए । खार्किभमा आम नागरिकहरू मारिने गरी हवाई हमलाहरू भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अपराध गरेको आरोप लगाए । मस्कोमाथि अर्को हमलामा सोही शहरमा विमानबाट छाडिने क्लस्टर बमहरू प्रयोग गरेको समेत आरोप लगाइएको छ । क्लस्टर बमहरू त्यस्ता हतियार हुन जो छाडिएपछि अन्य ससाना युद्ध सामग्रीका रूपमा फैलन्छन् । ती हतियारलाई सन् २००८ को कन्भेन्सन अन क्लस्टर मुनिसन्स अन्तर्गत रहेर धेरै देशले प्रतिबन्ध लगाएका छन् । तर त्यस महासन्धिमा हस्ताक्षर नगर्ने रुस र युक्रेन दुवैले त्यसलाई प्रतिबन्ध लगाएका छैनन् ।

मानव अधिकारवादी समूहहरू र संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूतले समेत आफ्नो एक उत्तर पूर्वी शहरमा रुसले भ्याकुम बमहरू प्रयोग गरेको आरोप लगाएका छन् । भ्याकुम बमहरू थर्मोब्यारिक हतियार हुन् जसले वाष्पीय इन्धनको बादल उत्पन्न गराएर ठूलो क्षति गराउन सक्छन् ।

यसैको प्रयोग रोक्न भनेर कुनै अन्तर्राष्ट्रिय कानुन छैन ।

तर यदि कुनै देशले नागरिक समूहलाई खासगरी उनीहरूको बसोबास, विद्यालय वा अस्पताल भएका ठाउँमा प्रयोग गर्छन् भने त्यो सन् १८९९ र १९०७ को हेग महासन्धि अनुसार युद्ध अपराधमा दरिन्छ । क्रेमलिनले भने युद्ध अपराध गरेको वा क्लस्टर र भ्याकुम बम प्रहार गरेको कुरालाई खारेज गर्दै त्यस्ता आरोपलाई ’मिथ्या समाचार’ बताएको छ । रुसी रक्षा मन्त्री सर्गेई शोइगुले ’हमलाहरू सैन्य निशानामा मात्र गरिएको र खास उच्च तहको प्रस्टता भएका हतियार मात्र प्रयोग गरिएको’ बताएका छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका