प्रचण्डको राजनीति यात्राः ३२ वर्षदेखि अध्यक्ष • Nepal's Trusted Digital Newspaperप्रचण्डको राजनीति यात्राः ३२ वर्षदेखि अध्यक्ष • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रचण्डको राजनीति यात्राः ३२ वर्षदेखि अध्यक्ष

प्रचण्डको राजनीति यात्राः ३२ वर्षदेखि अध्यक्ष

  • समाचारपाटी
  • मङ्लबार, चैत्र १, २०७८
प्रचण्डको राजनीति यात्राः ३२ वर्षदेखि अध्यक्ष

 

पैँतीस वर्षको हुँदा कट्टर वामपन्थीहरूको दल नेकपा मसालको प्रमुख अर्थात् महामन्त्री भएका पुष्पकमल दाहाल ६७ वर्षमा फेरि एक कार्यकालका लागि नेकपा माओवादी केन्द्रको अध्यक्ष चयन भएका छन् । विभिन्न समयमा फेरेका छ वटामध्येको एउटा नाम ‘प्रचण्ड’ले आफूलाई चिनाउने दाहाल निरन्तर ३२ वर्षदेखि पार्टीको प्रमुख पदमा बसिरहने कमै नेपाली नेताहरूमा पर्छन् । सामान्य परिवारमा जन्मिएका उनी दुई पटकसम्म देशको प्रधानमन्त्री बनिसकेका छन् । पच्चीस वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र सङ्घर्ष नेपालमा ठूलो राजनीतिक परिवर्तनमा कारक बनेको बताइन्छ । माओवादीले उक्त सङ्घर्षलाई जनयुद्ध भन्ने गरेको छ ।

प्रचण्डले नेतृत्व गरेको सङ्घर्षमा कैयौँ निर्दोष नागरिकहरू मारिएको, बेपत्ता भएको र विस्थापित भएको विषयमा उनको आलोचना पनि हुने गरेको छ । शान्ति वार्तामार्फत् खुला राजनीतिमा आएपछि उनले नेतृत्व गरेको नेकपा माओवादी संसद्को सबैभन्दा ठूलो दल बनेको थियो । तर उनले नौ महिनामै सरकारको नेतृत्वबाट राजीनामा दिए । कास्कीको ढिकुरपोखरीमा विसं २०११ मा जन्मिएका प्रचण्डको राजनीतिक यात्रा भने शिक्षक पेसासँगै अघि बढेको थियो ।

कृषि पढाउने कम्युनिस्ट नेता प्रचण्ड
प्रचण्डले १७ वर्षको उमेरमै २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसपछि उनी राजनीतिमा विभिन्न भूमिकामा अघि बढ्दै गए । तर उनी आबद्ध सङ्गठनबाहिर प्रचण्डको परिचय कृषि विषय पढाउने शिक्षकको थियो ।

कृषिमा स्नातक गरेका प्रचण्ड भूमिगत हुनुअघि गोरखाको भीमोदय माविमा पढाउँथे । उनका सहकर्मी शिक्षकहरूका अनुसार प्रचण्डले आवश्यकताअनुसार विज्ञान, गणित र अङ्ग्रेजी पनि पढाए । “उहाँ राजनीतिमै भन्ने मलाई थिएन । त्यो बेला उहाँले राजनीतिक सङ्गठन पनि बनाउने, बैठकमा जाने गर्नुहुँदो रहेछ,” गोरखामा प्रचण्डका घरपति पनि रहेका पूर्वशिक्षक गणेशकुमार श्रेष्ठले भने । पछिपछि प्रचण्ड कम्पोस्ट मलको खाडल र चर्पी बनाउन सिकाउने भन्दै विद्यालय छुट्टी भएका बेला गाउँ जाने गरेका थिए ।

“गएको बेला लामो बाहुले स्वेटरमा असजिलो गरी लुकाएर (त्यो बेला प्रतिबन्धित) किताबहरू ल्याएर पढ्नुहुँदो रहेछ,“ उनले भने।

पढाउँदापढाउँदै एक दिन प्रचण्डले शिक्षकबाट राजीनामा दिएर चितवन फर्किने कुरा सुनाए ।

“बाहिरबाहिर चाहिँ उहाँ रामपुरमा एमएससी पढ्छु भनेर जानुभयो। तर उहाँलाई पार्टीले नै आरुघाट पठाएको रहेछ, पार्टीले फिर्ता हुन भनेपछि छोड्नुभएको रहेछ । पछि मात्रै थाहा भयो,“ शिक्षकबाट राजीनामा दिँदाको प्रसङ्गबारे श्रेष्ठले भने ।

देशमा माओवादी युद्ध सुरु भएपछि त्यसका कमान्डर प्रचण्डको राज्य पक्षले खोजी सुरु ग¥यो । प्रचण्ड गोरखामा शिक्षक हुँदा प्रधानाध्यापक रहेका रामकुमार श्रेष्ठ जनयुद्ध सुरु भएको केही वर्षपछि प्रचण्डको गृहजिल्ला चितवनको प्रमुख जिल्ला अधिकारी भए । “म सीडीओ भएर जाँदा (तात्कालिक) गृहमन्त्री वामदेव गौतमले तपाईँले चिन्नुभएको पनि छ प्रचण्डलाई, जसरी भए पनि गिरफ्तार गर्नुहोस् है भन्नुभएको थियो,” श्रेष्ठ सुनाउँछन् । युद्ध सुरु हुनुभन्दा अघिबाटै भूमिगत रहेका प्रचण्डलाई कमैले मात्रै चिन्ने गरेका थिए । सर्वसाधारणमा प्रचण्ड छन् वा छैनन् भन्नेसम्मको आशङ्का रहेको श्रेष्ठ बताउँछन् । माओवादीले २०५५ फागुन १ मा जनादेश पत्रिकामा प्रचण्डको तस्बिर सार्वजनिक गरेको थियो। गोरखाका श्रेष्ठलाई तस्बिर देखाएर सरकारी अधिकारीहरूले समेत प्रचण्ड त्यही व्यक्ति भए नभएको निर्क्योल गर्न भनेको उनले बताए । “मलाई चाहिँ सोधियो – तपाईँ त उहाँको साथी हो, पुष्पकमल दाहाल भन्ने मान्छे कस्तो छ? यो फोटोमा भएकै मान्छे हो त ?” भीमोदय माविका पूर्वप्रधानाध्यापक श्रेष्ठ भन्छन् । उनै श्रेष्ठ पछि खिलराज रेग्मी नेतृत्वको सरकारमा प्रचण्डको पहलमा मन्त्री समेत भए ।

कसरी पुगे नेतृत्वमा उनी ?
कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा प्रचण्ड नेकपा मसालको महामन्त्री भएका थिए। उक्त पार्टीमा प्रमुख पद नै महामन्त्री रहने व्यवस्था थियो । तर प्रचण्ड महामन्त्री भएको प्रसङ्ग रोचक छ । प्रचण्डले योङ कम्युनिस्ट लीगमा राम्रो क्षमता देखाएका कारण उनलाई तात्कालिक मसालको केन्द्रीय सदस्यमा परेका थिए । उनी त्यहाँ पनि लोकप्रिय हुँदै गए । विसं २०४३ सालमा मोहन वैद्यले नेतृत्व गरेको मसालले पञ्चायती व्यवस्थाले घोषणा गरेको निर्वाचन बिथोल्न प्रहरी चौकीहरूमा आक्रमण प्रयास ग¥यो । कम्युनिस्ट राजनीतिमा उक्त घटनालाई सेक्टर काण्ड भनेर चिनिँदै आएको छ ।

आक्रमण सफल नभएपछि पार्टीभित्र वैद्यले पार्टी नेतृत्व छोड्नुपर्ने माग उठ्यो । त्यसपछि मोहन वैद्य आफैँले सेक्टर काण्डमा संलग्न नेताहरू एक तह घटुवा गर्ने प्रस्ताव राखेका थिए । तात्कालिक मसालका नेता नारायणप्रसाद शर्मा चाहिँ वैद्यलाई हटाएर पार्टी प्रमुख हुन प्रचण्डले नेतृत्वमाथि आलोचनाको वातावरण बनाएको बताउँछन् ।

“त्यो वातावरण तयार गर्नेमा प्रचण्डको केही न केही भूमिका छ । एक पटक सुल्झिसकेको विषयलाई पटकपटक उठाइरहनुमा प्रचण्डको हात छ,” शर्मा भन्छन् । माओवादीका संस्थापक केन्द्रीय सदस्य शर्मा पछि पार्टी विभाजनमा वैद्यसँग गए । उनी अहिले राजनीतिमा निष्क्रिय छन् । “गल्ती भयो भन्ने पारियो र त्यसमा कारबाही गर्नुपर्छ भन्ने पारियो र प्रचण्डजी आउनुभएको हो । त्यो प्रक्रिया त्यति राम्रो प्रक्रिया चाहिँ थिएन क्या ।” क्रान्तिकारी पार्टीमा क्रान्ति सुरु गर्दा कारबाही हुनु दुर्भाग्य भएको भएको र वैद्यले त्यस बेला उदारता देखाएको शर्माको बुझाइ छ । यद्यपि ‘नेपाली क्रान्तिका समस्या भाग–दुई’ मा वैद्यले क्रान्तिको आवश्यकताका कारण आफूले नेतृत्व छोडेको लेखेका छन् ।
त्यसको एक वर्षपछि २०४७ सालमा प्रचण्ड नेतृत्वको मसालसँग बाबुराम भट्टराई, हरिबोल गजुरेल, निर्मल लामा र रूपलाल विश्वकर्मासहितका नेताहरूले नेतृत्व गरेका साना कम्युनिस्ट पार्टीहरूसँग एकता भयो । अनि २०४८ मा भएको महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्दै एकता केन्द्र मसाल राख्यो । अधिवेशनबाट प्रचण्ड पुनः महामन्त्रीमा निर्वाचित भए ।

स्थापित गराउने प्रयास
एकीकृत पार्टीमा नेतृत्वको विषयमा विवाद नभए पनि कार्यकर्तामा प्रचण्ड लोकप्रिय भए पनि बाहिरी छवि बाबुराम भट्टराईको राम्रो रहेको पुराना कम्युनिस्ट नेताहरू बताउँछन् । माओवादी युद्ध सुरु भएपछि माओवादीभित्र पार्टी नेतृत्व केन्द्रीकरण गर्नुपर्ने आवाज उठ्यो । पार्टी नेताहरूका लेख–रचनामा पार्टी र क्रान्तिबारे प्रचण्डको भूमिकाबारे लेख्न र उनलाई उद्धृत गर्न सर्कुलर जारी गरियो । नेतृत्वलाई स्थापित गर्नै भन्दै माओवादीले त्यसपछि प्रचण्डको तस्बिर प्रकाशन गर्ने निर्णय निर्णय ग¥यो । अनि प्रचण्ड पार्टीभित्र र बाहिर चिनिन थाले ।
प्रचण्डलाई स्थापित गर्नकै लागि उनलाई उद्धरण गर्ने र तस्बिर प्रकाशन गर्ने निर्णय गरिएको शर्मा स्मरण गर्छन् । “उहाँ त्यति स्थापित नभएको र पार्टीभित्र किरणजी र बाहिर बाबुरामजी स्थापित हुनुहुन्थ्यो । त्यसले गर्दा नेता नै को हो भन्ने भ्रम पनि पर्ने भयो र नेता चिनाउन पनि त्यो आवश्यक जस्तो थियो,” उनी भन्छन् । “तर त्यसलाई अलि बढी प्राथमिकता दिँदा कतै एउटा व्यक्तिवादी सोचले आफू मात्रै स्थापित हुन खोजेको हो कि जस्तो एउटा स्थिति बनेको थियो ।”

सम्भावित उत्तराधिकारीमाथि कारबाही र पार्टी त्याग

विसं २०४६ सालमा नेकपा मसालको प्रमुख भए यताका ३२ वर्ष प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन् । तीन दशक प्रचण्डको एकल नेतृत्व स्वीकारे गरेको माओवादी पार्टीका कतिपय नेता कार्यकर्ताले आठौँ महाधिवेशनमा भने पार्टी विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउनेगरी विधान संशोधन गर्न माग गरेका छन् । तर प्रचण्डको नेतृत्वमा कसैले पनि चुनौती दिएनन् । उनले प्रस्ताव गरेको दीर्घकालीन जनयुद्धको रणनीति पारित भएसँगै नेतृत्वमा स्थापित भएका प्रचण्डलाई माओवादी सशस्त्र द्वन्द्वभरि र त्यसपछि पनि नेतृत्वमा कुनै नेताले चुनौती दिएनन् ।

युद्ध सुरु भएपछि बसेको पहिलो सिलगुडी बैठकमा प्रचण्डले आवश्यक परे बाबुराम भट्टराईलाई नेतृत्व लिन प्रस्ताव गरेको तर भट्टराईले प्रचण्डलाई नै अघि बढ्न आग्रह गरेको प्रसङ्ग ‘माओवादीभित्र अन्तरसङ्घर्ष’ पुस्तकमा नेत्र पन्थीले उल्लेख गरेका छन् । तर बैठकमा सहभागी भएको बताउने तात्कालिक केन्द्रीय सदस्य शर्माले आफूलाई त्यसबारे थाहा नभएको बताए । चुनौती दिन सक्ने ठानिएका नेताहरू धेरैजसो माओवादी नेताहरू जनयुद्धमै आन्तरिक कारबाहीमा परेपछि उनीहरू पछि परेको कतिपयको बुझाइ छ ।

माओवादीले युद्धकालमै बाबुराम भट्टराईमाथि कारबाही गरेको थियो । प्रचण्डको प्रस्तावविरुद्ध असहमति राखेका भट्टराईसहित आफूहरूलाई नजरबन्दमा राखिएको र भट्टराईनजिक मानिने नेताहरूलाई मानसिक यातना समेत दिइएको नेत्री हिसिला यमीले आफ्नो पुस्तक ‘हिसिला’मा उल्लेख गरेकी छन् । उनी भट्टराईकी पत्नी हुन् ।

“त्यतिबेला बाबुरामजीबाट केही गल्ती चाहिँ भएकै हुन्, तर त्यस्तो प्रकारको ठूलै कारबाही गर्ने हदसम्म चाहिँ हो जस्तो लाग्दैन,” शर्मा भन्छन् । “कताकता चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध पनि भएको र जनतामा पनि बाबुराम पढेको भन्ने एउटा छापको कारणले आफूलाई ‘क्रस’ गरेर जाने कुराले प्रचण्ड भयभीत भएको हुनसक्छ ।

प्रचण्डसँग निकट रहे पनि नेतृत्व केन्द्रीकरणको प्रस्तावमा असहमति राखेका रामबहादुर थापा पार्टीमा सांस्कृतिक विचलनको आरोपमा कारबाहीमा परे । त्यसको केही वर्षपछि थापालाई ‘लिन प्याओवादी’ नेताको आरोप लगाएर पार्टीमा भूमिका कम गरियो। लिन प्याओ चिनियाँ नेता माओत्सेतुङलाई हटाएर आफू छिटो उत्तराधिकारी बन्न खोजेको नेताका रूपमा चिनिन्छन् । तर माओवादीले पछि थापा माथिको आरोप खारेज ग¥यो । “चुनवाङ बैठकले बादलजी (थापा) माथिको आरोप खारेज गरेपछि चाहिँ त्यहाँ केही गडबड छ जस्तो देखिएको हो,” शर्मा सम्झन्छन् ।

प्रचण्डले नेतृत्वमा आफ्नो स्थायित्वका लागि उत्तराधिकारी तयार नगरेको आरोप माओवादीकै नेताहरूको छ । प्रचण्ड बाबुराम भट्टराईप्रति भित्रभित्रै शङ्कालु भएको हुनसक्ने नेता शर्माको भनाइ छ ।

प्रचण्ड र निनु चापागाईँ मसालको केन्द्रीय समितिमा आएपछि मोहनविक्रम सिंहले मोहन वैद्यसँग “विश्वास (प्रचण्डको त्यतिबेलाको नाम) र निनु चाहिँ अलि चलाख छन्, यिनीहरूसँग अलि सतर्क रहनुपर्छ” भनेको शर्माले बताए । त्यसबाट नेताहरूले प्रतिस्पर्धी र सक्षम नेताहरूले पार्टीमा ’आफूलाई क्रस गर्छन् कि भनेर सोच्दा रहेछन् भन्ने सङ्केत’ गर्ने शर्मा बताउँछन् ।

शान्तिप्रक्रियामा आउनुअघि प्रचण्डले ‘प्रचण्डपथ’ भन्ने आफ्नै विचारधारा अघि बढाए पनि नारायणकाजी श्रेष्ठ, अमिक शेरचन लगायतको मसालसँग एकताका क्रममा माओवादीले प्रचण्डपथ त्याग ग¥यो । माओवादी शान्तिप्रक्रियामा आएपछि प्रचण्डका राजनीतिक दस्तावेजमा पहिले मोहन वैद्य र पछि बाबुराम भट्टराइले असहमति जनाउँदै फरक प्रतिवेदन तयार गरे । माओवादीमा प्रचण्डलाई चुनौती दिइएको एउटा प्रमुख घटना धोवीघाट गठबन्धन पनि हो। ललितपुरको धोवीघाटमा बैठक गरेर प्रचण्डबाहेकका ठूला नेताहरूले बाबुराम भट्टराईलाई पार्टीबाट प्रधानमन्त्रीमा अघि सार्न प्रचण्डलाई दबाव दिएका थिए । माओवादी युद्धमा पटकपटक प्रचण्डको नेतृत्व क्षमताको प्रशंसा गर्ने गरेका बाबुराम भट्टराईले पार्टी नेतृत्वमा आकाङ्क्षा राखेका थिए । तर नेतृत्व लिन नपाएपछि उनी २०७२ सालमा पार्टीबाट बाहिरिए। त्यसअघि नै माओवादीबाट मोहन वैद्य रामबहादुर थापासहितका नेताहरू बाहिरिएका थिए । थापा पछि माओवादीमै फर्किए । अहिले उनी नेकपा एमालेमा छन् । अहिले माओवादीबाट अलग भइसकेका पुराना नेता शर्मा माओवादीमा विगतबाटै प्रचण्डलाई चुनौती दिने र उनको जस्तो व्यक्तित्व, क्षमता, प्रतिभा वा योगदान भएको नेता नरहेको बताउँछन् ।

“सङ्गठन, रणनीति र वैचारिक ज्ञानका दृष्टिले पनि प्रचण्ड जत्तिको नेता पार्टीमा नभएको हो। समग्र हिसाबले उहाँ जत्तिको मान्छे नभएको पनि हो। अर्को उत्तराधिकारी तयार गर्ने सचेत प्रयत्न उहाँबाट भएन,” शर्मा भन्छन् । “पार्टीमा उत्तराधिकारीको पङ्क्ति तयार नहुँदा क्रान्ति सकिन्छ भन्ने त रुस र चीनका घटनाले देखाएका छन् ।” उनका आलोचकहरूले प्रचण्ड पार्टी नेतृत्वमा पुगेपछि नेतृत्व हस्तान्तरण गर्न नचाहेको आरोप लगाए पनि उनले आफूले नेतृत्व लिन एक पटक बाबुराम भट्टराईलाई प्रस्ताव गरेको दाबी गरेका छन् । यही महिना हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा गत आफूले पार्टीको नेतृत्व हस्तान्तरण गर्न चाहे पनि अरू नेताहरू नेतृत्वका लागि तयार नभएको बताएका थिए ।

“एक पटक दोस्रो संविधानसभाको निर्वाचनपछिे मैले पार्टी कमिटीको बैठकमा बाबुरामजीलाई सधैँ म हुनुपर्छ भन्ने के छ र तपाईँ पनि नेता हो वरिष्ठ नेता, क्षमता पनि छ एक पटक तपाईँलाई अध्यक्ष बनाएर हेर्न मन छ भनेँ,” उनले भने ।

‘विलासी कम्युनिस्ट नेता’
माओवादीको आठौँ महाधिवेशनमा सहभागीहरूले अध्यक्ष प्रचण्ड ‘ठेकेदारको’ घरमा बसेको भन्दै डेरा सर्न माग गरे । उनीहरूले प्रचण्डको जीवनशैली पार्टी र कम्युनिस्ट आदर्शअनुसार नभएको सवाल मात्रै उठाएनन्, नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पनि गरे । महाधिवेशनमा उठेका प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले आफू “आवश्यक परे झुपडीमा बस्न पनि तयार” रहेको बताए । भूमिगत हुँदा प्रचण्ड धेरैजसो मध्यपश्चिमका पहाडी जिल्लामा जनताका झुपडीमै बसेको प्रचण्डका तात्कालिक स्वकीय सचिव विकेश श्रेष्ठ बताउँछन् । माओवादी अध्यक्ष आफैँले पनि आफूसहित माओवादी नेताहरूको फेरिएको जीवनशैलीबारे राजनीतिक दस्तावेजमा आत्मालोचना गरेका छन् । उनले नेताहरूको ‘कमिशन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो’ रहेको औँल्याएका छन् ।

“आज पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा लाभ र स्वार्थका निमित्त जस्तोसुकै अनुचित कार्य गर्न पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको छ,” प्रचण्डले दस्तावेजको ३५औँ पृष्ठमा भनेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको मात्रै नभएर नेतृत्वमा रहेका अधिकांश नेताको जीवनशैलीबारे प्रश्न उठ्ने गरेको छ । महाधिवेशनमा प्रचण्डको दस्तावेजमा फरक मत राखेका युवा नेता लेखनाथ न्यौपानेले नेताहरूको खर्चको स्रोतबारे समेत प्रश्न उठाएका छन् । “हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्य कारण पार्टीका नेताहरूको अपारदर्शी आर्थिक जीवन हो । हामीमाथि भ्रष्टाचार, कमिशन, घुसमार्फत् अकुत सम्पत्ति थोपरेको आरोप छ,” उनले लेखेका छन् । “हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फुर्ती हेर्दा अर्थ मोह होइन भन्ने ठाउँ छैन ।”

प्रचण्डका ६ नाम
प्रचण्डले आफ्नो नाम मात्रै छ पटक परिवर्तन गरिसकेका छन् । प्रचण्डले राजनीतिक आदर्श मान्ने गरेका स्टालिनले पनि तीन पटक नाम परिवर्तन गरेका थिए । स्टालिन नाम राख्नुअघि उनको नाम कोबा थियो भने वास्तविक नाम जोसेफ भिसारिओनोभिच जुगासभिली हो ।

उनका अर्का आदर्शपुरुष लेनिनको वास्तविक नाम पनि भ्लादिमिर उलियानभ हो । तर नाम फेर्ने विषयमा प्रचण्डले ती चर्चित नेताहरूलाई पनि पछि पारेको कम्युनिष्ट नेताहरू बताउँछन् । नारायणी विद्या मन्दिर चितवनमा कक्षा १० मा पढ्दै गर्दा छविलाल दाहालबाट नाम फेरेर पुष्पकमल दाहाल राखेका प्रचण्डले भूमिगत कालमा आफ्नो नाम पटकपटक परिवर्तन गरे । पञ्चायतविरोधी आन्दोलनमा २०३८ सालमै भूमिगत भएका प्रचण्ड एकैपटक २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक भए। उनी ४६ सालको जनआन्दोलन र ४७ सालमा भएको कट्टर वामपन्थी दलहरूको एकतामा पनि सार्वजनिक भएनन् । उनी २०४६ सालपछि केही वर्ष अर्ध भूमिगत रहेर जनयुद्ध सुरु भएपछि मात्रै भूमिगत भएका थिए । यसबीचमा उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखे। त्यसअघि नै उनी छविलालबाट पुष्पकमल बनिसकेका थिए ।

शिक्षक हुँदा योङ कम्युनिस्ट लीग भनिने वाम सङ्गठनमा आबद्ध भएका कारण आफ्नो परिचय नखुलोस् भनेर आफ्नो नाम कल्याण राखे । मसालको केन्द्रीय सदस्य हुँदा उनको नाम विश्वास थियो । वाम एकतापछि पार्टी निर्माणका लागि उनले निर्माण नाम राखेको माओवादीका पुराना नेता नारायण शर्मा बताउँछन् ।

“एकतापछि पार्टी निर्माणको दौरानमा निर्माण नाम राख्नुभयो । पछि हामी क्रान्तिमा युद्धमा जाने कुरा थियो, निर्माण शान्तिवादी जस्तो नाम भयो,” उनले भने । “रूप र सारको बीचमा मेल हुनुपर्छ भनेजस्तै क्रान्तिकारी नेताको नाम पनि क्रान्तिकारी हुनुपर्छ भनेर प्रचण्ड राख्नुभएको होला ।”

प्रचण्डले फेरेका छ गठबन्धन

आफ्नो नाम र पार्टीको नामपछि उनले सबैभन्दा धेरै फेरेको गठबन्धन हो । संसदीय राजनीतिमा आएपछि कहिले एमाले र कहिले कांग्रेस त कहिले मधेशवादीसहित साना दलहरूसँग बनाएको गठबन्धन पनि उनले छ पटक नै फेरिसकेका छन् ।

माओवादीले नै अघि सारेको मुद्दाका कारण २०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि उनको दल पहिलो भयो तर बहुमत पाएन । त्यसपछि प्रचण्डले सरकार बनाउन नेकपा एमालेसँग गठबन्धन गरे ।
प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई हटाउने उनको निर्णयपछि एमालेले सरकार छोड्यो र प्रचण्डको दल प्रतिपक्षमा गर्यो । उनले विपक्षी दलहरूको मोर्चा बनाए । प्रचण्ड नेतृत्वको मोर्चामा एक पटक २७ वटासम्म दलहरू सहभागी थिए ।
प्रधानसेनापति हटाउन आफूलाई साथ नदिएपछि टुटेको एमालेसँगको गठबन्धन प्रचण्डले फेरि २०६७ मा फेरि सुरु गरे र एमालेका तात्कालिक अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बन्न सहयोग गरे ।
निर्धारित समयमा संविधान नबनेपछि पहिलो संविधानसभा विघटन भयो। दोस्रो संविधानसभापछि कांग्रेस एमालेको गठबन्धन बन्दा प्रचण्ड एक्लिए । संविधान जारी भएपछि प्रचण्डले एमालेको साथ छोडे। केपी ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गराउँदै प्रचण्ड आफैँ प्रधानमन्त्री बने, नेपाली कांग्रेसको साथ लिए ।

कांग्रेससँग प्रचण्डको ठूलो वैचारिक अन्तरमात्र थिएन कांग्रेसको नेतृत्व गरिरहेका शेरबहादुर देउवा तिनै व्यक्ति थिए जसले २०५९ सालमा आफू प्रधानमन्त्री हुँदा माओवादी नेताहरूको टाउकोको मूल्य तोकेका थिए ।

कांग्रेससँग गठबन्धन बनाएपछि एमालेसँग बनेको कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै प्रचण्डले संविधान जारी भएपछि हुँदै गरेको सङ्घीय निर्वाचनमा एमालेसँगै चुनावी गठबन्धन गरे। गठबन्धन पार्टी एकतामै पुग्यो। एमालेसँगको एकताका लागि प्रचण्डले आफैँले बनाएको माओवादी विचारधारा मात्रै छोडेनन्, उनको पार्टी पङ्क्तिले गर्व गर्दै आएको ‘जनयुद्ध दिवस’ पनि मनाउन छोडिदिए ।

ओलीसँग उनको सम्बन्ध बिग्रँदै गएपछि प्रचण्ड एमालेसँग एकतापछि बनेको नेकपाबाट बाहिरिने तरखरमै रहेका बेला अदालतले एकता बदर गर्ने निर्णय ग¥यो । अब प्रचण्ड पुरानै पार्टीमा फर्किएर फेरि कांग्रेससँग गठबन्धन गर्ने निर्णयमा पुगे ।

प्रचण्डले फेरेका पार्टीका छ नाम
यहाँसम्म आइपुग्दा उनले पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन् । प्रचण्ड राजनीति सुरु गर्दा तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध भएका थिए । उनी २०४६ सालमा पहिलो पटक पार्टी प्रमुख (महामन्त्री) हुँदा उनको पार्टीको नाम नेकपा मसाल थियो। त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो । जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम माओवादी राखे। संसदीय राजनीतिमा आएपछि उनको पार्टी र एकता केन्द्र मसालबीच एकता भएपछि पार्टीको नाम एकीकृत माओवादी राखियो । प्रचण्डले फेरि साना कम्युनिस्ट पार्टीहरूसँग एकता गरेर पार्टीको नाम माओवादी केन्द्र बनाए। तर एमालेसँगको एकता पछि त्यो नाम फेरिएर नेकपा मात्रै रह्यो । पार्टी एकता बदर भएपछि प्रचण्ड पुरानै माओवादी केन्द्रको अध्यक्ष छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका