स्याङ्जा । वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थ सेवन रहित नगरपालिका बनाउने अभियान सुरु गर्ने बताएको छ। सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणका लागि पालिकाले १० बुँदे प्रतिबद्धतासँगै सो अभियान आजदेखि सुरु गर्ने बताएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा वालिङमा आयोजित जनप्रतिनिधिसहित सरोकारवालाबीचको छलफलपछि नगरप्रमुख दिलिप प्रताप खाँणले सो अभियानबारे जानकारी दिनुभएकाे हाे।
उहाँले भन्नुभयाे , ”पालिकाभित्र के कति सेवनकर्ता छन्। पहिलो चरणमा सुर्तीजन्य पदार्थ सेवनकर्ताका तथ्यांक लिनेछौं। क्रमशः घटाउँदै लानेछौं। जब प्रयोगकर्तमध्ये ९५ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन छाड्नेछन् त्यसपछि सुर्तीजन्य पदार्थ सेवनरहित पालिका घोषणा गर्नेछौं”।
सरोकारवाला पक्षसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि आवश्यक पर्ने ऐन, कानुन निर्माण गर्दै अभियान सञ्चालन गर्ने प्रमुख खाँणको भनाइ रहेकाे छ। ‘सुरुवात चरणमा नगर जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन हटाउनेछौं, उहाँले भन्नुभयाे, ”सुरुवातमा अम्बलीहरुलाई केही तलतल भए पनि पछि सबै नियन्त्रणमा आउनेछ।”
भरतपुरमा सुर्तीजन्य वस्तुको बेचबिखन र सार्वजनिकस्थलमा सेवन गर्ने प्रतिबन्ध
सार्वजनिक स्थल, शिक्षालय तथा वरपर सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा निषेध, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको खरिदबिक्री गर्ने, सूर्तीजन्य पदार्थ सेवन स्थल तोक्ने वा राख्ने स्थल निर्धारण गर्ने, बालबालिका र गर्भवतीलाई किनबेच गर्न नदिने, लत छुटाउन खालका रचनात्मक एवं सृजनात्मक काम तथा प्रशिक्षण संचालन गर्ने, अनुगमन तथा निरीक्षण संयन्त्र निर्माण गर्ने लगायतका काम गर्नेगरी प्रमुखले भावीयोजना सुनाउनुभयाे।
स्याङ्जाको वालिङ नगरपालिकाका युवालाई खुसीको खबर , स्वरोजगार बनाउन नगरपालिकाले दुई करोड खर्च गर्दै
यसैगरी, जनसमुदाय तथा सरोकारवालाहरु (आमा समूह, शिक्षक, पत्रकार, युवाक्लब, टोल विकास संस्थाहरु) सँग सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि अन्तरक्रिया एवं छलफल, नगरपालिकाको जनस्वास्थ्य ऐन २०७८ अनुसार सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि रणनीति तयार गर्ने, निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र वालिङ नगरपालिकालाई क्रमशः सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको उहाँले बताउनुभयाे।