काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा सत्ता गठबन्धमा छलफल भइरहेको बताउनुभएकाे छ ।
कांग्रेसलाई सहभागी गराउन सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको पनि प्रचण्डले बताउनुभयाे ।
कैलालीको धनगढीस्थित गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पुष्पकमल दाहालले भन्नुभयाे, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै पार्टी त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ।’
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताउनुभएको समेत दाहालले जानकारी दिनुभयाे । माधव नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व मागेको जानकारी गराउँदै दाहालले प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे समेत छलफल भएको बताउनुभयाे । त्यसको सट्टा आफूहरुले बागमती प्रदेश सरकारमा दाबी गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको उहाँले बताउनुभयाे ।