पदमबहादुर खड्का : पञ्चायतमा घुम्ती विद्यालय चलाए, प्रजातन्त्रको पक्ष लाग्दा जागिर गुमाए • Nepal's Trusted Digital Newspaperपदमबहादुर खड्का : पञ्चायतमा घुम्ती विद्यालय चलाए, प्रजातन्त्रको पक्ष लाग्दा जागिर गुमाए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पदमबहादुर खड्का : पञ्चायतमा घुम्ती विद्यालय चलाए, प्रजातन्त्रको पक्ष लाग्दा जागिर गुमाए

पदमबहादुर खड्का : पञ्चायतमा घुम्ती विद्यालय चलाए, प्रजातन्त्रको पक्ष लाग्दा जागिर गुमाए

  • कृष्ण ढुङ्गेल
  • आइतवार, फाल्गुन २९, २०७८
पदमबहादुर खड्का : पञ्चायतमा घुम्ती विद्यालय चलाए, प्रजातन्त्रको पक्ष लाग्दा जागिर गुमाए

 

 

 

नेपालको परिवेशमा शिक्षाको इतिहास उति लामो छैन । राणा शासनमा त सर्वसाधरणका लागि पढ्नु भनेको सपनाका कुरा थिए । ०७ सालमा प्रजातन्त्रको स्थापनापश्चात् शिक्षाको क्षेत्रमा केही उपलब्धीहरु भए । तर ती प्रयाप्त थिएनन् । ०१७ सालदेखि ०४६ सालसम्मको पञ्चायत कालमा पनि शिक्षा क्षेत्रमा केही सुधारका कामहरु देखिए । तर त्यो पनि प्रयाप्त थिएन । त्यही अप्रयाप्तताका बिच शिक्षाको उज्यालो बाढ्ने सपना बोकेर घुम्ती विद्यालय चलाउन कसिने युवाको नाम हो, पदम बहादुर खड्का ।

महोत्तरी, रामद्वारस्थित गौशालामा जन्मिएका पदमबहादुर ०२४ सालमा परिवारसँगै बसाइँ सरेर सर्लाहीस्थित वरथवाह आए । उनका बुबाले वरथवाहमा पहिलेबाटै जमिन किनेर राखेका थिए । त्यही गए । घर बनाए । कसे । यस हिसाबले परिवारको बसाइँ सराई उति सास्तीपूर्ण थिएन ।

पदमबहादुरले गौशला छँदै एसएलसीसम्मको पढाइ सकिसकेका थिए । बसाइँ सरी वरहथवा आउँदा उनी जनकपुरमा प्लस्ट–टुको अध्ययन गर्दै थिए । त्यसैबेलाबाट उनीभित्र “शिक्षा नै परिवर्तनको सम्वाहक हो” भन्ने उर्जा सञ्चारित भइरहेको थियो । तर नयाँ बसाइँ सरेर आएको गाउँ वरहथवामा एउटा पनि विद्यालय थिएन ।

७१ वर्षे वर्तमानबाट उनी जवानीमा फर्किन्छन्, र भन्छन्, “वरहथवा आउँदा ममा शिक्षाको उज्यालो घर–घरमा बाल्ने चाहना जागृत भइसेको थियो । त्यसैले मलगायत केही साथीहरु मिलेर २४ सालको अन्त्यतिर घुम्ती विद्यालयको सुरुवात गर्ने निर्णय गर्यौँ । र, साथीहरु स्व. गोपालबहादुर खड्का, गोविन्द भट्टराई, सोमबहादुर लामा, मलगायत साथीहरु मिलेर तत्कालै पढाउन पनि सुरु गरिहाल्यौँ । त्यतिबेला गाउँका खालि घर तथा १०–१५ जना बस्न मिल्ने खालि ठाउँहरुमा बालबालिक भेला परेर पढाउँथ्यौँ ।”

पदमबहादुरका अनुसार उनको परिवार बसाइँ सरेर आउँदा वरथवाहभन्दा उत्तरपट्टि सबै जङ्गल थियो । त्यसको फडानी मुख्यतः ३० सालपछि भएको हो । अहिलेको राजघाट, सन्दकपुर, बाग्मती सबै जङ्गल नै थियो त्यतिबेला ।

विद्यालय खुल्यो । गाउँ घुमी–घुमी पदमबहादुरको टोलीले पढाउन पनि सुरु गर्यो । तर विद्यालयको नामको बारेमा कसैले सोचेको थियो । पढाउँदै जाँदा एकदिन उनीहरु बिच कुरा चल्यो – विद्यालयको नामचाहिँ के राख्ने ?

त्यतिबेला सहिदहरुको स्मरणमा विद्यालयको नाम राख्ने चलन भएको स्मरण गर्दै पद्मबहादुर भन्छन्, “सहिदहरुको सम्मानमा विद्यालय खोल्नुभन्दा उत्तम कार्य अर्को हुन्छ जस्तो लागेन हामीलाई । र, गङ्गालालको नाममा विद्यालयको नाम “सहिद गङ्गा अप्पर प्राइमरी स्कुल” राख्यौँ ।”

पदमबहादुर सम्झन्छन्, त्यतिबेला जिल्ला शिक्षा कार्यलयका प्रमुख व्यक्तिलाई सुभरभाइजर भनिन्थ्यो । तत्कालीन सर्लाही जिल्लाका सुपरभाइजर आफ्नो जिल्लामा खुलेका विद्यालयहरुको निरीक्षण गर्न भनेर वरहथवा आए । उनी भन्छन्, “उहाँ हिँडेरै घुम्दै घुम्दै हामीले पढाइरहेकै ठाउँमा आइपुग्नुभएको थियो । उहाँले हामीलाई भन्नुभयो – ल, तपाईँहरुले विद्यालय सुरु गर्नुभएको रहेछ । विद्यालयको नाम सहिदको नाममा राख्नुभएछ, ठिक छ ।”

त्यस दिन पदमबहादुरको समूहको सुपरभाइजरसँग विद्यालयकै बारेमा कुरा भयो । साँझ आफ्नै घरमा खाना खुवाए । रात बिताउने बन्दोवस्त मिलाए । र, भोलिपल्ट बिहान सुपरभाइजर फर्किए । फर्किएको करिब ३ महिनापछि उनलेले पदमबहादुरहरुले चलाएको विद्यालयको नाममा रामचन्द्र राय नामका शिक्षकलाई नियुक्ति गरेर पठाइदिए । पदम भन्छन्, “पहिले पहिले के हुन्थ्यो भने, प्राइमरीमा सरकारले कहिले ५ कक्षासम्म सञ्चालन गर्न दिन्थ्यो त कहिले ४ कक्षासम्म । कुनै कुनै साल त ३ कक्षासम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । जसले गर्दा प्राइमरी विद्यालय सञ्चालन गर्न समस्या पैदा भइरहेको थियो ।”

त्यसैबिच, २०२७ सालको अन्त्यतिर विद्यालयलाई निमावि बनाउने सोचले पदमबहादुरहरुको बैठक बस्यो । बैठकमा स्व. हेमप्रसाद घिमिरे, स्व. शङ्करलाल श्रेष्ठ, स्व. मदन श्रेष्ठ, स्व. केशवलाल श्रेष्ठ, स्व. गोपालबहादुर खड्कालगायत त्यसबेला विद्यालयका आवश्यकता बुझेका गाउँका प्रायःको उपस्थिति रहेको स्मरण गर्छन पदमबहादुर । उनी भन्छन्, “निम्न माध्यमिक खोल्न त खोल्ने, तर भवन कसरी बनाउने ? विद्यालय सञ्चालनका लागि आर्थिक सङ्कलन कसरी गर्ने ? समस्या विकराल थियो ।”

अन्ततः त्यस बैठकले निमावि विद्यालय सञ्चालन गर्ने निर्णय गर्यो । त्यसका लागि शिक्षाको उज्यालो बुझेका नारायणबहादुर अमात्यले आफ्नो बुबा चक्रबहादुरको नाममा सात बिगाहा जमिन दिने र विद्यालय सञ्चालनका लागि तीन कोठाको घरसमेत बनाइदिने भए । त्यस्तै, स्व. उज्ज्वलबहादुर कटुवालले विद्यालय सञ्चालनका लागि नगद ३५ सय रुपियाँ दिने भए जुन त्यस समयमा ठूलो धन राशि थियो । र, अन्य केही गाउँलेहरुले पनि गच्छेअनुसार केही कठ्ठा जमिन र नगद विद्यालयका लागि सहयोग गरे ।

“विद्यालय नारायणबहादुर अमात्य र अन्य स्थानीयको सहयोगको उपज थियो । त्यसैले विद्यालयको नाम “चक्र पब्लिक निम्न माध्यमिक विद्यालय” हुन पुग्यो ।”, पदमबहादुर खड्का भन्छन्, “बैठकले विद्यालयमा ३ जना शिक्षक नियुक्त गर्ने निर्णय गर्यो, जसले दस महिना स्वयंसेवकका रुपमा काम गर्नुपर्ने भयो । र, त्यस निम्न माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक म स्वयम्र हुन पुगेँ । त्यस्तै सहायक शिक्षकहरुमा मधुसुधन लाल श्रेष्ठ र माधवप्रसाद घिमिरे रहनुभयो । र, हामी तीन जनाले विद्यालयको सञ्चालन र पठनपाठक सुरु गर्यौँ ।”

चक्र पब्लिक निम्न माध्यमिक विद्यालयले कानुनी हिसाबमा निमाविको स्वीकृति २८ साल पुस ९ गते पयो । ३१ सालमा गएर सहिद गङ्गा अप्पर प्राइमरी स्कुल र चक्र पब्लिक निम्न माध्यमिक विद्यालय मर्ज भयो । र, दुबै मिले एक नयाँ विद्यालय बन्यो – चक्र जनता सहिद गङ्गा निम्न माध्यमिक विद्यालय बन्यो । मर्ज भएर बनेको नयाँ विद्यालयको प्रधानाध्यापक पनि पदमबहादुर नै रहे ।

निमावी सुरु गर्दा पहिलो ब्याजमा जम्मा तीन जना विद्यार्थी रहेको सुनाउछन् पदमबहादुर । विगतको तीतोमिठो स्मरणमा रुमलिँदै उनी भन्छन्, “पहिलो ब्याजका विद्याथीहरुमा मेरो आफ्नै भाइ रोहितबहादुर खड्का जसलाई कोरोनाले लग्यो, गोविन्द खतिवडा र गोविन्द पौड्याल थिए । दोस्रो सालबाट विद्यार्थीहरुको सङ्ख्यामा वृद्धि हुँदै गयो । वास्तवमा भन्नुपर्दा “पढ्नुपर्छ” भन्ने चेतनका विकास नै नभएको समय थियो त्यो ।”

३४ सालमा विद्यालय माविमा परिणत भयो । ०३६ सालमा माविको पहिलो ब्याजमा भने १७ जना विद्यार्थी थिए । अहिले उक्त विद्यालयमा प्लस–टुसम्मको अध्यापन सञ्चालन भइरहेको छ ।

………….

पदमबहादुरहरुले शिक्षाको उज्यालोको सपना बोकेर विद्यालय सञ्चालन गरेको समयमा सरकारबाट विद्यालय सञ्चालनका लागि न कुनै खर्च आउँथ्यो न त शिक्षकहरुका लागि तलब नै प्राप्त हुन्थ्यो । शिक्षकको तलबदेखि विद्यालयको सम्पूर्ण खर्च विद्यालयले आन्तरिक रुपमै जुटाउनुपथ्र्यो । साना कक्षाका विद्यार्थीहरुसँग २ रुपियाँदेखि ठूला कक्षाका विद्यार्थीहरुसँग ४ रुपियाँसम्म मासिक फी लिने गरेको स्मरण गर्छन उनी । खड्का भन्छन्, “शिक्षा ऐन लागु हुनुभन्दा अघिसम्म विद्यालयलाई दाताहरुबाट पाएको जग्गामा आम्दानी, चन्दाबाट चलायौँ । विद्यालय सञ्चालनकै खातिर हामीले देउसीभैली खेल्थ्यौँ । दुई रुपियाँदेखि पाँच रुपियाँसम्मको टिकट बेचेर नाटक देखाउँथ्यौँ । र, विद्यार्थीहरुसँग मासिक शुल्कबापत कमभन्दा कम पैसा लिन्थ्यौँ । त्यसमा पनि परिवारिक पृष्ठभूमि अन्त्यन्तै कमजोर भएकाहरुलाई निशुल्क पठाउथ्यौँ ।”

३१ सालमा आफ्नो तलब २ सय १ रुपियाँ ५० पैसा भएको स्मरण गर्छन् पदम । उनी भन्छन्, “हामीले सरकारबाट तलब खाएको भनेको शिक्षा ऐन लागु भएपछि हो । त्यतिबेला पनि ७५ प्रतिशत तलब सरकारबाट आउथ्यो, २५ प्रतिशत भने विद्यालय आफैँले जुटाउनुपथ्र्यो ।”

०३६ सालको जनमत सङ्ग्रहबाट पदमबहादुर खड्का पनि अछुत रहन सकेनन् । सुधारिएको पञ्चायत व्यवस्था र बहुदलीय व्यवस्थामध्ये एक छान्नका लागि वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गरेपछि उनी बहुदलीय व्यवस्थाको पक्षमा खुल्न पुगे । ठाउँ–ठाउँमा बहुदलीय व्यवस्थाको वकालत गर्दै भाषाण गरेँ । तर दुर्भाग्य, बहुदलीय व्यवस्थाको मागलाई जनताको बहुमतले खारेज गरिदियो । फलस्वरुप बहुदलीय व्यवस्थाको वकालत गरेकोमाले उनले जागिर गुमाए ।

“एक वर्षपछि सर्लाही जिल्लाको शिक्षा अधिकारी भएर नरेशलाल कर्ण आउनुभयो ।”, खड्का आफ्नै विगतलाई कोट्याउँछन्, “उहाँले एक दिन कार्यालयमा बोलाएर सम्झाउनुभयो – जवानीको झोँकमा गल्ती हुन्छ । तर जिन्दगी र परिवार झोँकले चल्दैन । छोराछोरीको जिम्मेवारी काँधमा आएपछि अहिलेको झोँक सबै निस्कन्छ । तिमी जागिर खाने कि नखाने ? खाने हो भने एक तह डिमोसन गरेर म नियुक्ति दिन्छु ।”

त्यसबेलासम्म उनले जानेको भनेको पढाउन र भाषण गर्न थियो । उनले भाषण छोडेर जागिर रोजे । निमावि तहको प्रधानाध्यपक रहेका उनलाई प्राविको प्रधानाध्यापक बनाएर कर्णले वरथवाहभन्दा करिब ४ किलोमिटर उत्तरमा रहेको जनहीत प्रावि, हात्तीडन्डामा पठाए । केही समयपछि त्यस विद्यालय निमावि भयो । समयको अन्तरालमा निमाविबाट मावि । र, खड्का त्यहीँ विद्यालयबाट ०६९ सालमा सेवानिवृत्त ।

………..

उसो त उनले शिक्षणको अलवा भाषणमात्र गरेनन् । जेल पनि परे । ४२ सालमा राजाराम सिंहले सदनमा बम पड्काए । त्यही काण्डमा पदमबहादुरको पनि नाम मुसियो, र जेल परे । तर त्यस काण्डको बारेमा उनलाई कुनै जानकारी थिएन । प्रहरी प्रशासनमा उनीलगायत बहुदलको वकालत गर्ने केही साथीहरुको “राजाविरोधी” भएको रेकर्ड रहेछ । आफूहरुलाई त्यसैकारण फँसाइएको कुरामा दृढता प्रकट गर्छन् उनी ।

“हामीलाई थानामा राखेको थियो । त्योबेला कस्तो थियो भने – कुनै काण्डमा फसाइसकेपछि राती नै जेल चलान गरिन्थ्यो । कतिलाई इन्काउण्डरका नाममा मारिन्थ्यो ।” खड्का भन्छन्, “तत्कालीन प्रधानपञ्च नारायणबहादुर अमात्य, जो बीस वर्षको उमेरमै गाबिसको प्रधानपञ्च बन्नुभएको थियो र उपप्रधानपञ्चले गिराफतार भएको रात हामीलाई चौकीकै छतमा सुताउनुभयो । आफू साँघुरो सिँडीमा कुरुवा बस्नुभयो । प्रहरीसामु “राती कतै लान पाउँदैन” भनेर अडान लिनुभयो । मलाई लाग्छ – उहाँहरुले हामीलाई होइन, हाम्रो जीवनलाई कुर्नुभएको थियो । उहाँहरु नभएको भए त्यही रात हाम्रो अन्तिम हुन सक्थ्यो ।”

कस्टडीको यातनाहरुको असर बूढेसकालमा देखिएको अनुभव गर्छन उनी । जुन उत्साह र उर्जाले उनी प्रजातन्त्र र बहुदलको पक्षमा उभिएका थिए त्यो पाएजस्तो लाग्दैन उनलाई । तर उनी आफूहरुले लडेर र दुख सहेर ल्याएको व्यवस्थालाई दोष दिन तयार छैन । उनी हाँस्दै भन्छन्, “व्यवस्थालाई दोष नदिऊँ । भन्नकै लागि त गाउँ–गाउँमा सिंहदरबार आइसक्यो । तर त्यसको अनुभूति आमजनताले गर्न पाएका छैनन् । मैले पाएको छैन ।”

हुन् त, प्रजातन्त्र तथा गणतन्त्रका प्राप्तिस्वरुप विभिन्न सकरात्मक परिवर्तनहरु पनि आएका छन् । आफ्नो उर्जावान् जीवन पञ्चायतसँगको सङ्घर्षमै बिताएका खड्का अहिले हामीले हासिल गरेको व्यवस्थामा खराबी देख्दैनन् । खराब व्यवस्थालाई सञ्चालन र परिचालन गर्नेहरु भएको उनको विश्लेषण छ । पार्टीका शीर्ष नेता तथा देशलाई नेतृत्व गर्नहरु देशमा जुन र जस्तो व्यवस्था आए पनि परिवर्तन भएनन् । व्यवस्था सही आयो तर व्यवस्थालाई नेतृत्व गर्नेहरु जस्ताको त्यस्तै रहे । जसका कारणले जनतामा निराशा व्याप्त छ । यो खड्काको सिधा बुझाइ हो । उनी केही निरासाको आवाज बोल्छन्, “७१ वर्ष लागिहालेँ । औषधी खायो बस्यो छ जीवन । याद गर्नका लागि आफ्नै जीवनलाई फर्केर हेर्दा एउटा सुनौँलो र उर्जावान् जीवन छ, जुन फेरि फर्किएर आउँदैन ।”

प्रजातन्त्र र बहुदलका लागि खड्काले पनि पार्टीका झण्डा बोकेकै हुन् । तर त्यहाँ पनि उनको स्वार्थ शिक्षा र समाजसँगै जोडिएको थियो । जनमत सङ्ग्रहले बहुदल स्वीकार नगरेपछि पुनः उनी जागिरमै फर्किए । तर त्यतिबेला जस–जसले काङ्ग्रेस तथा एमालेको झोला बोके, प्रजातन्त्रका लागि त्याग र तपस्या गरे, तिनीहरु सबै पछाडि नै छोडिएको खड्काले देखेका छन् । उनी भन्छन्, “प्रजातन्त्रका लागि त्याग र तपस्या गरेका योद्धाहरु अहिले आफ्नो जवानी सम्झिदै दुखको बुढेसकाल बिताइरहेका छन् । धुपैरेहरुचाहिँ सबै अगाडि छन् । सुखसयलमा छन् । महलमा छन् ।”

…………

पदमबहादुर खड्का जागिर खाने महत्वकांक्षाले शिक्षक बनेका थिएनन् । ०२४ सालमा साथीहरुलेसँग मिलेर घुम्ती विद्यालय चलाउँदै गर्दा शिक्षण पेसा कुनै व्यवसायिक पेसा थिएन । उनीहरुको एकमात्र उदेश्य भनेकै समाजसेवा थियो । शिक्षाको उज्यालोले वरथवाहलाई चम्किलो बनाउनु थियो । खड्का भन्छन्, “कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बन्चित हुन नपरोस् भन्ने भावबाट प्रेरित भएर हामी शिक्षा क्षेत्रमा लागेका थियौँ । आधा दशकमा लामो समय भइसक्यो अब त । पुराना साथीहरु कति त स्वर्गे भइसक्नु भयो । केही जीवित छौँ ।”

अहिलेको शिक्षा पद्धतिसँग उति सन्तुष्ट देखिदैनन् खड्का । अहिलेका शिक्षकहरुसँग धेरै क्षमता र योग्यता भएको उनको बुझाइ छ, तर शिक्षकहरुमा हुनुपर्ने सेवाको भाव र शिक्षा–अर्पणको भोक भने कम भएको उनको मत छ । तर पनि उनी शिक्षकलाई दोष दिँदैनन्, यस प्रवृतिलाई उनी समयको माग भन्न रुचाउँछन् ।

उनको बुझाइमा प्राइभेट विद्यालयहरुले शिक्षाको नाममा ठुलो व्यवसाय चलाइरहेका छन् । समुदायक विद्यालयका शिक्षाकहरुकै बोर्डिङमा लगानी छ । कतिले आफू समुदायिक विद्यालय पढाएर छोराछोरीलाई बोर्डिङ पठाएका छन् । शिक्षकहरु विद्यालयमुखीभन्दा पनि ट्युसन र कोचिङमुखी बनेका छन् । जसका कारण लगानीअनुसारको नतिजा सामुदायिक विद्यालयहरुले दिन नसकेको उनी तर्क गर्छन् । भन्छन्, “हामी पढाउथ्यौँ, सँगै विद्यार्थीहरुसँग खेल्ने, घुम्ने, घुलमिल हुने गथ्र्यौँ । त्यसैले विद्यालय परिवार थियो । विद्यार्थीहरु परिवारका सदस्य थियो । तर अहिले त्यो परिपाटी हराएको छ । शिक्षकहरु घण्टीको हिसाबमा दौडिएका छन् ।”

अहिले शिक्षा प्रणालीलाई बिगारेको शिक्षकले नभएर राजनीतिले हो । विद्यालयमा शिक्षक कम, पार्टीका कार्यकर्ता ज्यादा छन् । पार्टीको झोला बोकेपछि उनीहरु नै शक्तिमा छन् । राजनीतिक नियुक्ति र शक्तिमा चलेका छन् । शिक्षकलाई कारवाही गर्ने हैसियत विद्यालय प्रमुखले गुमाएका छन् । यसलाई यो समयको तीतो–यर्थाथ भन्न रुचाउँछन् खड्का । विगतलमा फर्किदै भन्छन्, “हिजो हामीले पनि राजनीति गरेरै हिँडेको हो । तर हाम्रो मुख्य काम पढाउनु थियो । हाम्रो केन्द्रमा सधैँ विद्यार्थी थिए । आँखामा कालोपाटी र मनमा विद्यालय बोकेर हामीले समग्र देशवासीको अधिकारको लडाइँ लडेका थियौँ । तर अहिले राजनीतिकी पहुँचको भरमा आफ्नो दूनो सोझ्याउने स्वार्थको लडाइँ भइरहेको छ । मारमा गरिब तथा विपन्न सामुदायिक विद्यालयका विद्यार्थीहरु परेका छन् ।”

तलबदेखि पेसनसम्मको लडाइँ आफूहरु लडेको गाथा सगौरव सुनाउछन् खड्का । पटक–पटक शिक्षा मन्त्रालय घेराउ गर्न पुगेको र पक्राउ परेको इतिहास ताजै छ उनीसँग । निजामति कर्मचारीको हैसियत पाउन लडेको लडाइँ विस्मृत स्मृतिमा सुरक्षित राखेका छन् उनले ।

आफूले पढाएका विद्यार्थीहरुको स्मृतिमा मात्र पनि रोमाञ्चित देखिन्छन् खड्का । गुरु पूर्णिमाका दिन विदेशमा रहेकादेखि देशमै रहेका, उच्च पदमा आसीनदेखि किसानीमा कर्मशीलसम्मका विद्यार्थीहरुले उनलाई सम्झन्छन् । फोन गर्छन् । त्यसैले पनि उनलाई गुरु पूर्णिमाको दिन विशेष लाग्छ । भन्छन्, “त्याग र तपस्याले विद्यालय खोल्यौँ, दुख गर्यौँ, त्यसको भरपाई अहिले विभिन्न ठाउँ पुगेका र ओदाहमा रहेका विद्यार्थीहरुले गरिदिँदै छन् । जस्तोः मेरो विद्यार्थीमध्येको एक सुनिल झा अहिले अमेरिका छन् । उसले गुरु सम्मान कार्यक्रममा मलाई दुईपटक सिमरा पुर्याए । अमेरिका बस्ने हुनाले मलाई ऊसँग कुरा गर्न गाह्रो नहोस् भनेर मोबाइल पठाइदिएका छन् । घरमा वाईफाई कि के हो राखिदिएका छन् । जुन चलाउन म बुढेसकालमा सिक्दैछु । लाग्छ, अहिले प्रविधिले मेरो विद्यार्थीहरुलाई गुरु बनाइरहेको छ ।”

विद्यार्थीले आफ्नो पहिलो शिक्षक, कखरा सिकाएको शिक्षकलाई बढी सम्झिने उनको ताजा अनुभूति रहेको छ । उनी प्रशन्न मुद्रामा भन्छन्, “सुनिललाई मैले कखरा सिकाएको हुँ । एबीसीडी सिकाएँको हुँ । त्यसैले पनि ऊ मेरो दिलको नजिक छ । म उसको मनको करिब छु । ४५ वर्षको शिक्षण यात्रामा सुनिलजस्ता विद्यार्थी मैले धेरै कमाएको छु ।”

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका