शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा • Nepal's Trusted Digital Newspaperशिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा

शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा

  • समाचारपाटी
  • आइतवार, फाल्गुन २९, २०७८
शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा

 

नेपाली राजनीतिमा थोरैमात्र पनि चासो राख्नुहुन्छ भने तपाईँका लागि सिपी मैनाली नौलो नाम होइन । तर यो मैनालीको कथा होइन, न त राजनीतिकै हो । यो मैनालीका साथी यादवको कथा हो । मुनार यादव । यो शिक्षकको कथा हो । जीवनका ३६ उर्जावान् बसन्तहरु शिक्षण पेसामा बिताएका शिक्षकको कथा ।

सर्लाहीका मुनारले आफ्नो आईएस्सीको पढाइ काठमाडौँको अमृत क्याम्पसबाट पूरा गरेका हुन् । क्याम्पसमा मात्र होइन, होस्टलमा पनि उनका साथी थिए सिपी मैनाली । उनीहरुले एकै कोठा साझा गरी बसे । पढे । र, आईएस्सी पास पनि गरे । समयक्रमले मैनालीलाई राजनीतिको अनुहारका रुपमा स्थापित गरायो । यादव भने शिक्षाको अनुहार बन्न पुगे ।

आईएस्सीपछि इन्जिनियरिङ पढ्ने सोच बनाएका थियो । तर सधैँ जिन्दगी योजनामा चल्दैन । जीवन–यात्राले सँगसँगै समस्या र मजबुरीहरु पनि बोकेर हिँड्छ । त्यस्तै भयो । मुनारका बुबाको अवसान भयो । र, उनले इन्जिनियरिङ गर्ने सपनामात्र मार्नु परेन, आर्थिक अवस्थाका कारण काठमाडौँ नै छोड्नुपर्यो ।

२०३२ साल माघ २३ गतेबाट मुनारले निमावी स्तरको शिक्षकको रुपमा पढाउन सुरु गरे – सर्लाहीको गोडेतास्थित श्री बेनी भोला नमूना माध्यमिक विद्यालयमा । उनी त्यहाँ भोकेसनल (व्यवसायिक) शिक्षकका रुपमा पुगेका थियो । अध्यापनसँगै उनले आफ्नो अध्यायनलाई पनि निरन्तरता दिए । त्यसबेला “बिएस्सी इन एग्रेकल्चर”को माग राम्रो थियो । र, प्राइवेट पढ्न पाइन्थ्यो । उनका लागि त्यो सुनमा सुगन्ध भयो । प्राइवेटबाटै एग्रिकल्चरमा बिएस्सी गरे । सानो ठिमीबाट शिक्षण पेसाका लागि आवश्यक तालिम लिए । उनी त्यतिमा मात्र रोकिएनन् । प्राइवेटबाट बिएल पनि गरे ।

मुनारको कक्षा दससम्मको शिक्षादीक्षा जनकपुरको सरस्वती विद्यालयबाट भएको थियो । त्यहाँ नेपाली पढाउने उपाध्याय थरका शिक्षकबाहेक सबै भारतीय शिक्षकहरु थिए । नेपालीबाहेकका सम्पूर्ण विषयहरुको अध्यापन हिन्दी भाषामा नै हुन्थ्यो । बेनी भोला विद्यालयको अवस्था पनि फरक थिएन । ०३२ सालमा उनी जाँदा विद्यालयमा कसैले पनि नेपाली बोल्दैन थिए । विद्यार्थीहरु हिन्दीमै बोल्थे । शिक्षकहरु पनि हिन्दीमै पढाउँथे । मुनार भन्छन्, “मेरो शिक्षादीक्षा काठमाडौँमा भएका कारण मैले नेपाली जानेँ । नेपाली भाषाको महत्व पनि बुझेँ । र, त्यहाँ जानसाथै विद्यार्थीहरुलाई नेपाली बोल्न प्रेरित गर्न लागेँ । र, नेपालीमै पढाउन सुरु गरेँ ।”

सुरुमा बेनी मिडिल विद्यालयको नाममा एक दाता बेनी दासले विद्यालय सुरु गरेका थियो । जब १७ सालमा विद्यालयलाई हाईस्कुल बनाइयो तब अर्का दाता थपिए – भोला झा । उनले चार बिग्गा जमिन विद्यालयलाई दिएका थिए । त्यसपछि विद्यालयको नाम हुन पुग्यो – बेनी भोला नमूना माध्यमिक विद्यालय । दाताहरुले सञ्चालन गरेको विद्यालयलाई सरकारबाट अनुदान आउँथ्यो सुरुमा । पछि विद्यालय नै सरकार मतहतमा आयो ।

बेनी भोला गुरुकुल पद्धतिबाट चलेको माध्यमिक विद्यालय थियो । मुनार भन्छन्, “गोडेता र सिसौटियाका दुई व्यक्ति बेनी दास र भोला झाले विद्यालयको सञ्चालन गर्नुभएको थियो । दुबै गाउँमा ब्रामण्डहरुको बाहुल्यता थियो । ब्रामण्डहरु पहिलैदेखि शिक्षादीक्षामा जागरुक, त्यसैले पनि होला – विद्यालयमा ब्रामण्ड विद्यार्थीहरुकै बाहुल्यता थियो । त्यस विद्यालय यसकारण पनि उत्कृष्ट थियो कि जिल्लाका हरेक गाउँका एक न एक जना विद्यार्थी त्यहाँ थिए ।”

गोडेताको वातावरण आफ्नो लागि बिल्कुलै नौलो भएको बताउछन् मुनार । काठमाडौँबाट पढेर गएको उनी – विद्यार्थी, शिक्षकदेखि लिएर अभिभावकहरुमा समेत उनको प्रभाव राम्रो प¥यो । अध्ययन र अध्यापन गराउनका लागि वातावरण पनि रमाइलो थियो । तर बेलामौका भने राम्रै गरिरहँदा पनि राजनीति विद्यालय छिथ्र्यो । र, सरुवा गर्ने विषयले प्रवेश पाउँथ्यो । त्यसबेला भने उनलाई दिक्क लागेर आउने बताउँछन् उनी । भन्छन्, “बेला–बोला त लाग्थ्यो – किन पो यो पेसामा आइएछ !”

विद्यालयको वातावारण महाभारत वा रामायणको कुनै कथाको जस्तो भएको बताउछन् मुनार । विद्यार्थीहरुले शिक्षकलाई खुट्टामा ढोग्नुपर्ने । बिहान र बेलुकी सधैँ प्रार्थना गर्नुपर्ने । स्कुलको होस्टलमा सवा तीन सय विद्यार्थी बस्थे । विद्यार्थीहरुलाई बस्नका लागि पाँचवटा ब्लक थिए । साँझको प्रार्थनाका लागि विद्यार्थीहरु हातमा लालटिन बोकेर लाइनमा बस्ने । विद्यालयको वातावरण अनुशासित मात्र थिएन; सफा, राम्रो काइदाकानुन, प्रशस्त भवन तथा बगैँचा पनि थियो । बिहान सधैँ पीटी हुन्थ्यो । क्यान्टिनको राम्रो व्यवस्था भएको विद्यालयका भित्ताहरूमा प्रेरक भनाइहरू लेखिएका थिए । यी दृश्य वास्तवमै अद्भूत लाग्थ्यो उनलाई । त्यही वातावरणले गर्दा पढाउनका लागि आफ्नै गाउँबाट प्रस्ताव आउँदा आउँदै पनि त्यस विद्यालय छोड्न नसकेको बताउछन् उनी । भन्छन्, “जीवनका ३६ बसन्त त्यसै विद्यालयमा खर्च गरेँ । घरबाट चौध कोशको दूरीले मलाई फरक पारेन । ती ३६ वर्षमा मेरो लागि घर भन्नु नै विद्यालय भयो । परिवार भन्नु नै शिक्षक, अभिभावक र विद्यार्थीहरु भए ।”

अध्यापन सुरु गरेको १५ वर्षपछि मुनार त्यसै विद्यालयको हेडमास्टर बने । उनीभन्दा अगाडि स्कूलको हेडमास्टर गङ्गाप्रसाद दास थिए । दास जिल्ला शिक्षा अधिकारी भइसकेका तथा विदेश भ्रमणसमेत गरेको व्यक्ति थिए । शिक्षामा उमेरको हद लागू भएपछि ६२ वर्षको उमेरमा उनले अवकास पाए । त्यसपछि जिल्ला शिक्षा कार्यालयले मुनारलाई हेडमास्टरमा नियुक्त गर्यो ।

त्यसबेला शिक्षक संघ, सर्लाहीको अध्यक्ष थिए मुनार । जिल्लाका नेताहरुसँग राम्रो सम्बन्ध थियो उनको । साथै, डिग्री पनि हेडमास्टर बन्नका लागि प्रयाप्त थियो उनीसँग । जिल्लामा राम्रो सम्बन्ध र योग्यताका अघि सबै बाधा र व्यवधानहरु फिका देखिए । र, मुनारको काँधमा विद्यालयलाई हाँक्ने जिम्मेवारी आयो । उनले २१ वर्षसम्म विद्यालयको हेडमास्टरका रुपमा काम गरे । र, उनी पनि उमेरहदकै कारण हेडमास्टरबाटै सेवानिवृत्त भए ।

“मैले अहिले भन्दा केके न गरेजस्तो लाग्ला, तर हेडमास्टर भएपछि विद्यालयलाई व्यवस्थित बनाउन ठूलो मिहिनेत गरेँ । एक तरिकाले रिक्स मोलेँ ।”, मुनार आफ्नो उर्जावान् विगत सम्झदै भन्छन्, “विद्यालयमा विद्यार्थीमात्र होइन, शिक्षक पनि ढिलो आउने परिपाटी थियो । मैले त्यसलाई परिवर्तन गरेँ । सबैभन्दा पहिले त स्कुलमा पर्खाल लगाउन लगाएँ । प्रवेश गेट बनाउन लगाएँ । स्कुलमा दुई जना पिएन थिए । एकलाई गेटमा बस्न लगाएँ । र, वार्निङ घण्टी लागेपछि विद्यार्थीलाई मात्र होइन, शिक्षक–शिक्षिकालाई पनि गेटबाटै घर फर्काइदिएँ । सुरु सुरुमा त मेरो उक्त कदमको विरोध पनि भयो । पहिलो हप्तामा धेरै शिक्षकहरु गेटबाटै फर्किनुप¥यो । तर, मेरो त्यस कदम विद्यालयको हितमा थियो । विस्तारै सबैले बुझे, र सबैका लागि मान्य नियम बन्यो । पछि जिल्लाका धेरै विद्यालयहरुले त्यस कुराको अनुकरण गरे ।”

मुनार दिनभर स्कूलमा पढाउँथे । साँझ बिहान होस्टलमा । र, रात विद्यार्थीहरुसँगै बिताउथे । भनौँ न, उनका लागि जागिर र घर एकै थियो । हेडमास्टर भइसकेपछि भने उनले विद्यालय परिशरमै एउटा सानो घर बनाए । उनको परिवार ५ जनाको थियो – जहान, एक छोरा, दुई छोरी र आफू । परिवारलाई पनि त्यहीँ राखेँ । उनका छोरा र छोरीले शिक्षादीक्षा त्यहीँबाट पाए । मुनार सगौरव सुनाउँछन्, “अहिले मेरो छोरो जनकपुरमा आठौँ तहको बैङ्क मेनेजर छ । एउटी छोरी स्थायीरुपमा शिक्षण पेसामा संलग्न छिन्, अर्की राहतमा ।”

स्कुलमा पढाइका अलावा, प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलापहरु हुने स्मरण सचित्र ताजै छ मुनारको मनसपटलमा । हाजिरीजवाफ, वक्तृत्वकला, गायन तथा शारीरिक खेलकुदलगायत प्रतियोगिताहरु गराएको सम्झना गर्छन् उनी । विद्यालयको वार्षिक उत्सवको अवसर आयोजना हुने कार्यक्रमहरुमा विद्यार्थीहरुले देखाउने उत्साह आँखैमा छन् उनका । विजेताहरुलाई सञ्चालकको उपस्थितिमा पुरस्कार प्रदान गर्ने गरेको हिजोमात्र हो जस्तो लाग्छ उनलाई । आफ्ना विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगिताहरुबाट प्रमाणपत्र तथा पुरस्कार ल्याएर आफूलाई देखाएको स्मृति जति सम्झियो उति सम्झौँ लाग्छ उनलाई ।

विद्यालयमा रामायण तथा महाभारतको विद्यार्थीहरुलाई पाठ गराउने गरेको तथा त्यसका राम्रा कुराहरु विद्यार्थीलाई सिकाउने गरेको सगौरव सुनाउँछन् मुनार । कुनै कुनै शुक्रबार महाभारत तथा रामायणबाट सुक्ति दिएर विद्यार्थीलाई बोल्न लगाउने गरेको सम्झना गर्छन् उनी ।

“विद्यालय परिसरमै एउटा शिवको मन्दिर थियो । प्रत्येक शुक्रबार साँझ होस्टलमा रहेका विद्यार्थीहरुले त्यहाँ भेला पारेर ब्लकअनुसार रामायण तथा गीता पाठ गर्नुपथ्र्यो ।”, मुनार सुनाउँछन्, “आर्चाय बालकृष्ण झा हुनुहुन्थ्यो, जसले भारतको राष्ट्रिपतिबाट पुरस्कार पनि पाउनुभएको थियो । उहाँले विद्यार्थीहरुलाई महाभारत तथा रामायण पाठको ज्ञान दिनुहुन्थ्यो ।”

मुनार महाभारत तथा रामायणमा सबै राम्रै कुरामात्र छन् भन्ने कुरामा सहमत छैनन् । उनी वर्तमान् विश्वमा अमान्य कुराहरु पनि हाम्रा ग्रन्थहरुमा भएको स्वीकार गर्छन् । र, विद्यार्थीहरुलाई गलतलाई गलत र सहीलाई सही तरिकाले बुझाउनु र सिकाउनु पर्ने तर्क छ उनको । उनी कुनै पनि धर्मका ग्रन्थहरुलाई नैतिक शिक्षाको उच्चतम् नमूना मान्छन् । ग्रन्थहरुको ज्ञानले विद्यार्थीमा नैतिक आचरण र अनुशासनको विकास गराउने विश्वास छ उनको  । नैतिक आचरण र अनुशासनका कुरा गर्दागर्दै उनी केही भावुक हुन्छन्, र भन्छन्, “हेर्नुहोस् त, नैतिक शिक्षा कति राम्रो किताब थियो ! तर हटाइदियो । जुन देशका नेताहरुमा कुनै नैतिकता नै छैन, तिनीहरुलाई किन आवश्यक पर्यो नैतिक शिक्षा ? आवश्यकता हामीजस्तो शिक्षामै जीवन बिताउनेहरुलाई मात्र पर्ने रहेछ ।”

अमेरिकाबाट इन्टरनेट नेटवर्किङका विषयमा पिएचडीबराबरको अध्ययन सिस्को गरेका सुनिल मुनारकै विद्यार्थी हुन् । र, उनी उनले हासिल गरेको सफलताको ठूलो श्रेय मुनार यादवलाइ दिन्छन्, जोसँग उनले स्कूलमा मात्र नभएर होस्टलमा मात्र पढेका थिए । सुनिल भन्छन्, “हामी भएर मुनार गुरू हुनुभएको होइन । मैले गुरूका रूपमा उहाँ पाएकाले वर्तमानमा जे छु त्यो बन्न सकेको हुँ । उहाँको ठाउँमा अरू कोही भइदिएको भए मेरो कथा अर्कै पनि हुन सक्थ्यो ।”

३६ वर्ष शिक्षणमा बिताएका, २१ वर्ष विद्यालय प्रमुख भएका मुनार वर्तमान्मा भने शिक्षाको पद्धति र विद्यालयहरुको व्यवस्थापनबाट सन्तुष्ट छैन । अहिले राजनीतिक हिसाबमा शिक्षकहरु छिन्नभिन्न भएको दृष्टि छ उनको । विद्यालयलाई राजनीतिले गिजोलेको मन निमोठ्दै हेरिरहन विवश भएको चित्रित गर्छन् आफूलाई । र भन्छन्, “जबसम्म शिक्षा क्षेत्रमा शिक्षकहरुका लागि “डेडिकेसन” र “डिभोसन”को नीति लागू हुँदैन, तबसम्म शिक्षकले राम्रो गर्न सक्दैन ।”

मुनार शिक्षक भएर विद्यालय पुगेपछिको आफ्नो पहिले तलब मासिक ३ सय २५ रुपियाँ भएको स्मरण गर्छन् । करारमा जागिर सुरु गरेका उनले तीन महिनापछि नै अस्थायी नियुक्ति पाएँ, र तलब भयो ६ यस ५० रुपियाँ । करारबाट अस्थायी र अस्थायीबाट स्थायी हुँदै उनी त्यही विद्यालयबाट प्रथम श्रेणीका शिक्षक भए । ३६ वर्षपछि अवकास पाउँदाको उनको मासिक तलब २९ हजार २ सय थियो । एकै विद्यालयमा ३६ वर्षसम्म पढाउनु आफैँमा रेर्कड भएको दाबा गर्छन् उनी ।

आफू ३६ वर्ष पढाएका विद्यार्थीहरुमध्ये १४ जनाले विश्वका विभिन्न प्रतिष्ठित् विश्वविद्यालयहरुबाट पिएचडी वा सोसरहको डिग्री हासिल गरेको वास्तविकताले रोमाञ्चित बन्छन् मुनार । उनी दक्षिण कोरियाबाट न्युक्लियर साइन्समा पिएचडी गरेर हाल काठमाडौँस्थित सेन्ट जेर्भिएर्समा अध्यापन गराइरहेका विनय झालाई सम्झन्छन् । नेपालीबाटै पहिलो, इन्टरनेट नेटवर्किङ्मा सिस्को (पिएचडीसरह) को अध्ययन गरी हाल अमेरिकामै अध्ययन तथा अनुसन्धान गरिरहेका सुनिल झालाई सम्झन्छन् । र, सम्झन्छन् अन्य थुप्रै नेपालमै र नेपालबाहिर बसेर विश्वविद्यालयमा अध्यापन, अनुसन्धान गरिरहेका आफ्ना विद्यार्थीहरु । आफ्नो विद्यार्थीहरुलाई सम्झदा सम्झदै उनी भन्छन्, “मेरो विद्यार्थीहरुले अङ्ग्रेजी माध्यममा पढेका होइनन् । नेपालीमै पढेका हुन् । तर हामीले उनीहरुलाई किताबी ज्ञानमा मात्र सीमित गरेनौँ । साथमा अनुशासन, संस्कार र नैतिक शिक्षा पनि दियौँ । मिहिनेत गर्न सिकायौँ । फलस्वरुप उनीहरु अहिले विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरुमा पुगेका छन् ।”

मुनारको मान्यता छ – कुनै पनि विद्यार्थी जन्मजात विद्वान हुँदैन । तर विद्यार्थीमा कुनै न कुनै प्रतिभा लुप्त भएर रहेको हुन्छ । विद्यार्थीमा लुकेर रहेको विशेष प्रतिभालाई चिनेर जसले प्रस्फुटित गराउँछ त्यो नै असल शिक्षक हो । तर कुनै कुनै विद्यार्थी भने विशेष हुन्छन् । उनीहरु जुन ठाउँमा लगाए पनि फिट हुन्छन् । जस्तै; सुनिल (उनले पढाएको विद्यार्थी जो अहिले अमेरिकामा इन्टरनेट नेटवर्किक इन्जिनियर छन्) ।

मुनारलाई लाग्छ, “कुन भाषामा पढाउनेभन्दा पनि कसरी र के पढाउने ?” भन्ने महत्वपूर्ण कुरो हो । भाषा माध्यम हो । एक भाषामा आर्जन गरेका ज्ञान र सीपलाई अर्को भाषामा ढाल्न गाह्रो काम होइन । नेपालको परिप्रेक्ष्यमा पछिल्लो समय शिक्षा सबैभन्दा सहज, कम जोखिमयुक्त र बढी नाफामूलक व्यापार बनेको छ । बढेतर बोर्डिङ स्कूलहरु नाफा कमाउने कारखाना बनेकामा मुनार दुख व्यक्त गर्छन । उनी भन्छन्, “भन्दा नराम्रो सुनिएला सर ! तर सबैलाई त नभनौँ, धेरै बोर्डिङ स्कुलहरुले शिक्षाको नाममा घिनलाग्दो व्यापार चलाइरहेका छन् ।”

मुनारलाई अहिलेको शिक्षा पद्धति तथा आफैँले ३६ वर्षसम्म पढाएको विद्यालयको व्यवस्थापनसँग ठुलो गुनासो छ । शिक्षा क्षेत्र व्यवसायिक क्षेत्रमा परिणत हुनुको दोष उनी राजनीतिलाई दिन्छन् । जनताको मुद्धा उठाएर सत्तामा पुगेका नेताहरुले नै जनतालाई बिर्सदा शिक्षा क्षेत्र शैक्षिक माफियाको कब्जामा पुगेको उनको बुझाइ छ ।

आफू सेवानिवृत्त भइसकेपछि, आफ्नै विद्यालयको व्यवस्थानसँग पनि सन्तुष्ट छैनन् मुनार । उनले पढाउँदा स्कुलको भवनको छानो खपडाको भएको जसबाट पानी चुहिने बताउँछन् उनी । भौतिकरुपमा अहिले विद्यालय परिसर भवनै भवनले भरिए पनि शैक्षिक गुणस्तर भने झन् झन् खस्किदै गएको गुनासो गर्छन् । भावुकतामा आक्रोश मिसाउँदै भन्छन्, “विद्यालय जुन गाउँपालिकामा छ, त्यहाँको अध्यक्ष मैले पढाएकै विद्यार्थी हो । तर अब उसको नैतिकता हेर्नुहोस् – उसले आफू पढेको स्कुलको दरबन्दी काटेर आफ्नो टोलको स्कुलमा पुर्याएको छ । विद्यालयको हेडमास्टर पनि मैले पढाएको विद्यार्थी नै छ– रामचन्द्र चौधरी । अब्बल विद्यार्थी थियो । योग्यतामा कुनै सिकायत छैन । मैले सेवानिवृत्त हुँदै गर्दा ऊ स्थायी शिक्षक भइसकेको थियो । हेडमास्टर उही बन्यो । तर ऊसँगै राजनीति पनि पस्यो स्कुलमा । भौतिकरुपमा धेरै विकास भए पनि शैक्षिकस्तर भने राजनीतिक हस्तक्षेपले खस्किदो छ । सोच्नुहोस् न, जहाँ गुरु नै पिटिन्छ भने त्यहाँको बारेमा म अरु के भनौँ ?”

हुन पनि हो, जुन विद्यालयमा विद्यार्थीले शिक्षकलाई खुट्टामा ढोग्थे, त्यहीँ विद्यार्थीले शिक्षकलाई पिटे – विद्यालयको अवस्था चित्रण गर्न यति नै काफी होला, सायद ।

“आफ्नो जीवनको उर्जामय जीवन बिताएको विद्यालयको अहिलेको अवस्थाले पीडा दिँदैन ?” भन्ने प्रश्नमा उनी विवशताको उत्तर दिन्छन्, “लाग्छ नि । अस्ति मैले हेडमास्टरलाई फोनै गरेँ । आफ्नो गुनासोहरु राखेँ । उसले आफूले धेरै कोसिस गर्दागर्दै पनि सकिनँ भन्यो । पीडा भए पनि अरु के नै पो गर्नु सक्छु र मैले ?”

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका