सुनिल झाको कथा : सर्लाहीको सानो गाउँदेखि सिस्को परीक्षा उत्तिर्ण गर्ने पहिलो नेपालीसम्म • Nepal's Trusted Digital Newspaperसुनिल झाको कथा : सर्लाहीको सानो गाउँदेखि सिस्को परीक्षा उत्तिर्ण गर्ने पहिलो नेपालीसम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनिल झाको कथा : सर्लाहीको सानो गाउँदेखि सिस्को परीक्षा उत्तिर्ण गर्ने पहिलो नेपालीसम्म

सुनिल झाको कथा : सर्लाहीको सानो गाउँदेखि सिस्को परीक्षा उत्तिर्ण गर्ने पहिलो नेपालीसम्म

  • कृष्ण ढुङ्गेल
  • आइतवार, फाल्गुन २९, २०७८
सुनिल झाको कथा : सर्लाहीको सानो गाउँदेखि सिस्को परीक्षा उत्तिर्ण गर्ने पहिलो नेपालीसम्म

संसारमा सबैभन्दा गाह्रो विषय कुन हो ? कहिल्यै विचार गर्नुभएको छ ? शिक्षा, मानविकी, व्यवस्थापन वा विज्ञान ? आईटी, सीएसआईटी, इन्जिनियरिङ, सीए वा एमबीबीएस ? यीमध्ये तपाईँलाई सबैभन्दा गाह्रो विषय कुन हो जस्तो लाग्छ ?
विश्वमा यस्ता विषय तथा प्रमाणपत्रका लागि लिइने परीक्षाहरू पनि छन् जुन हाम्रो पहुँचभन्दा धेरै टाढा छन् । अझ कतिकाको त हामीले नामसम्म नसुनेका पनि हुनसक्छौँ । जस्तो, सिस्को (CISCO-CCIE) ।

सिस्कोको प्रमाणपत्रको लागि लिइने परीक्षा विश्वभरि उपलब्ध सबैभन्दा गाह्रो परीक्षहरूमध्ये एक हो । सूचना तथा प्रविधिको राजधानी मानिने क्यालिफोर्नियामा अवस्थित सिस्को एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । यसले सूचना, प्रविधि र साइबर सुरक्षाका लागि आवश्यक प्रविधिहरू उत्पादन गर्छ । साथै, उक्त प्रविधिलाई आवश्यकताअनुसार परिमार्जन गरी सञ्चालनमा ल्याउनका निम्ति विभिन्न चरणको परीक्षा लिन्छ । त्यसै परीक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन पनि गर्छ । यसै प्रणालीमा सञ्चालित “इन्टरनेट नेटवर्किङ” सम्बन्धी “सिस्को सर्टिफाइड इन्टरने नेटवर्किङ एक्सपर्ट”को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन सुनिलकुमार झा ।

सिस्कोको प्रमाणपत्र पाउनुलाई इन्टरनेट नेटवर्किङ विषयमा पिएचडी गरेरबराबर मानिन्छ । नेपालको एउटा सानो गाउँबाट उठेर विश्वकै कठिक सिस्को परीक्षा पास गर्नु पक्कै सजिलो कुरा होइन । तर मिहिनेत र महत्वकांक्षा बृहत् भएपछि जुनसुकै उपलब्धी पनि सानो बन्छ । यो उपलब्धी हासिल गरेसँगै मिहिनेत र महत्वकांक्षाका पर्याय तथा प्रविधिको क्षेत्रमा आफूलाई स्थापित गराउन चाहने विद्यार्थीहरूका लागि आइडल बनेको छन् सुनिलकुमार झा ।

सिस्को प्रणालीद्वारा सञ्चालित यो कार्यक्रमको सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका छन् । सजिलैसँग उत्तिर्ण हुन नसकिने विश्वका १० गाह्रा विषयहरूमध्ये सिस्को प्रमाणपत्रको लागि लिइने परीक्षा पनि एक हो । यतिका कठिन परीक्षा सानो मिहिनेत र धैर्यले प्राप्त गर्न असम्भव प्रायः छ । झाले पनि सानो परिश्रमले अर्जेका होइनन् यो उपल्बधी । पाँच वर्षसम्मको निरन्तर अध्ययन तथा अनुशन्धान, साथमा २ महिनासम्म दैनिक १२ घण्टा प्रयोगशालामा अभ्यास गरेपछि उनले पहिलो नेपाली इन्टरनेट नेटवर्किङ विज्ञको परिचय बनाउन सफल भएका हुन् ।

झा यस उपब्लधीलाई ईश्वरको वरदान मान्छन् । उनी भन्छन्, “अमेरिका जाँदै गर्दा यसै गर्छु भनेर गएको थिइनँ । म त सिभिल इन्जिनियर हुन गएको विद्यार्थी । हुने हार दैव नटार भनेझैँ म इन्टरनेट नेटवर्किङ विज्ञ बन्न पुगेँ । यो मलाई ईश्वरले हिँडाएको बाटो हो । मेरो उपलब्धी ईश्वरको वरदान हो ।“
…………
एकदिन एक बालकले दृष्टिविहीन कवि काकालाई भने, “काका, म तपाईँको लागि मर्न पनि सक्छु ।”
बालकको आफूप्रतिको बालसुलभ प्रेमको अभिव्यक्ति सुनेर कवि काकाले भने,
“हैन हैन । तिमी मर्ने कुरा नगर । बरु केही राम्रो गर्ने कुरा गर । राम्रो बन्ने कुरा गर ।
एकदिन तिमी र ममात्र हैन, सबै जनाले यो भौतिक शरीरलाई त्याग्नु पर्ने नै छ । केही सधैँ अमर रहिरहन्छ भने त्यो हामीले गरेको काम हो ।

हेर, यहाँ मर्न सजिलो छ, बाँच्न गाह्रो छ ।
बाँच्न पनि सजिलो छ, केही राम्रो गर्न गाह्रो छ ।
अझ केही गर्न पनि सजिलो छ, तर इतिहासमा लेखिनेगरी गर्न साँच्चै गाह्रो छ ।
तिमीले आफ्नो र आफ्नो ठाउँको मात्र होइन, देशकै नाम राख्नेगरी समस्त नेपालीले गर्व गर्ने काम गर्न सक्यौ भने मेरो लागि सबैथोक गर्यौ ।

म ठान्नेछु, तिमीले आफ्नो राम पायौ । आफ्नो कृष्ण पायौ । भगवान् पायौ ।
यही नै जीवन हो ।”
कवि काकासँगको यही वार्तालापबाट प्रेरित भए सुरु भयो बालक अर्थात् सुनिलकुमार झाको यात्रा । सर्लाही जिल्लाको सानोमात्र नभएर विकट गाउँबाट काठमाडौँका साँघुरा गल्लीहरूसम्म । काठमाडौँका साँघुरा गल्लीहरूबाट अमेरिकाका फराकिला सडकहरूसम्म । र, अमेरिकाका फराकिला सडकहरूलाई नै पाठशाला बनाई विश्वमै कठिन मानिने सिस्को परीक्षा उत्तिर्ण गर्ने पहिलो नेपाली इन्जिनियरसम्म ।

कवि काका अर्थात् कवि शडानन्द झा जसले सुनिलकुमारलाई ज्ञान विज्ञानका कुरामात्र सिकाएनन् । उनले रामायण र महाभारतको ज्ञान पनि दिए । कथाहरू सुनाए । तर उनी आँखा देख्दैन थिए । दृष्टिविहीन कवि काका संसारलाई अन्तर्दृष्टिले हेर्थे । उनको अन्तर्दृष्टिलाई सानैबाट स्पर्श गरेका बालक झा उनीप्रति ज्यादै समर्पित थिए ।

“मेरो बाल्यकाल सामान्य थियो । यद्यपि म अरूभन्दा जिज्ञासु स्वभावको भएकाले परिवारबाहिरका मानिसहरू पनि मलाई प्रेम गर्थे ।” सुनिकुमार झा भन्छन्, “मैले प्रारम्भिक शिक्षा अनौपचारिक रूपमा काका कवि शडानन्द झाबाट पाएको थिएँ । उहाँ आँखाले देख्न सक्नुहुन्न थियो । तर ज्ञानको सागर उहाँमा समाहित थियो । कतै काम पर्दा प्रायः मलाई सँगै लिएर जानुहुन्थ्यो । र, बाटोमा रामायण, महाभारत तथा वेदपुराणका कुरालगायत विश्वका घटनाहरूबारे सिकाउनुहुन्थ्यो । उहाँमार्फत् नै मैले जीवनको उदेश्य तथा मार्गदर्शन पाएको हुँ ।”

कवि काका रामका ठूला भक्त थिए । उनलाई रामयण तथा महाभारतका सबै कुराहरू थाहा थिए । सुनिलकुमार झालाई लाग्छ, कविकाकाले उनको भविष्यको भविष्यवाणी गरिरहेका थिए । झा आफूले हासिल गरेको उपलब्धी आफ्नो मान्दैनन् । उनी भन्छन्, “मलाई थाहा थिएन, जबसम्म मान्छेलाई कुनै कुराको ज्ञान हुँदैन तब आत्मविश्वास पनि हुँदैन । रामायण, महाभारत, चाणक्यका नीतिहरूलगायत जुन जुन कुराको ज्ञान कवि काकाले दिनुभयो मैले त्यसैलाई पछ्याएँ । जब अमेरिकाका सडकहरूमा समयहरू बितिरहेका थिए तब दुखको वास्तविक रूप थाहा भयो । त्यस समय मलाई कवि काकाले दिएको ज्ञानले मद्दत गर्यो । ‘कसरी दुखको सामना गर्ने, कसरी अघि बढ्ने, कसरी लक्ष्यमा पुग्ने ?’ भन्ने कुराहरूको ज्ञान भयो । तसर्थ मेरो यो सफलतामा कवि काकाले दिएको ज्ञानको ठूलो हिस्सा मिसिएको छ ।“

सर्लाही जिल्लाको सानो गाउँ सिमरामा जन्मिएका सुनिलकुमारका पिता नेपाल प्रहरीमा हवल्दार थिए । यसर्थ उनको जन्मिए परिवार खाँटी मध्यमवर्गीय परिवार थियो । मध्यमवर्गीय परिवारका अन्य बालकको झैँ उनको बाल्यकाल पनि समान्य थियो । यद्यपि उनी गाउँका अन्य केटाकेटीभन्दा फरक, जिज्ञासु स्वभावको भएकाले गाउँलेहरूले माया गर्थे ।
गाउँका केटाहरू भेला भएर पूरा दिन गुच्चा खेलेर बिताउँथे, जुन कुराबाट सुनिलकुमारका पिता परिचित थिए । प्रहरी प्रशासनमा आबद्ध भएकाले उनले पढाइको महत्व पनि राम्रोसँग बुझेको थिए । उनलाई डर थियो, आफ्नो छोरो गाउँमै रह्यो भने गुच्चा खेलेरै बिग्रिनेछ । त्यसैले उनले छोरालाई औपचारिक शिक्षा प्रदान गर्ने उदेश्यले आफू कार्यरत जिल्लास्थित बरहथवा लगे । र, विद्यालयमा भर्ना गराइदिए । सुनिलकुमारले त्यसै विद्यालयबाट ५ कक्षासम्मको अध्ययन पूरा गरे ।

बरहथवामा आफूलाई पढाएका शिक्षक पदमबहादुर खड्काको सम्झना गर्दै झा भन्छन्, “बरथवाहको विद्यालको सुरूवात पदम सरहरूले नै गर्नुभएको थियो, घुम्ती विद्यलको रूपमा । चाहेको भए उहाँले कुनै व्यवसाय सुरू गर्न सक्नुहुन्थ्यो, तर विद्यालय सुरू गर्नुभयो । उहाँ मेरा लागि सेवाको प्रेरण हुनुहुन्छ । त्यसै विद्यालयबाट मैले कखरा सिकेँ । पदम सरबाटै कखरा सिकेर मैले उज्यालो भविष्य कोरेँ ।”

सुनिलकुमार पढाइमा अब्बल थिए । पढाइमा राम्रो भएकै कारणले उनका पिताले छोरालाई राम्रो शिक्षा दिलाउने रहर पाले । र, सरकारी नै भए पनि त्यस क्षेत्रको अब्बल विद्यालय गोदइतामा भर्ना गरिदिने भए ।

पढ्नका लागि बरहथवाबाट गोदइता जाँदा झालाई हात्तीबाट बिदाइ गरियो । संयोग कस्तो पर्यो भने, गाउँमै कार्यरत् थानेदार हरिनन्दन सिंह जागिरबाट बिदाइ लिएर हात्तीको सवारीमा गोदइता हुँदै घर फर्किदै रहेछन्, जो झाका बुबाको साथी थिए । उनले नै बुबालाई भनेर बालक झालाई हात्तीको सवारीमा पुर्याइदिए । झा भन्छन्, “मलाई थाहा थिएन, त्यस अविस्मरणी हात्तीको सवारी मेरो सफताको सुरूवात थियो । इश्वर मेरो यात्राको योजना तयार पारेर बस्नुभएको रहेछ ।“
झाका दाजु पहिल्यैबाट त्यही विद्यालयमा पढ्दै थिए । त्यसैकारणले आउजाउमा दाजु साथ हुने र पढाइमा राम्रो गर्ने मनसुवाले उनलाई पिताले त्यस स्कुलमा भर्ना गराइदिए । झाले त्यस विद्यालयमा ६ कक्षादेखि १० कक्षासम्मको अध्ययन गरे ।

“गोदइता स्कुलको वातावरण मेरा लागि विशेष त थियो नै, अहिलेसम्म अविस्मरणीय पनि छ ।” झा भन्छन्, “त्यस विद्यालयको जस्तो माहोल अञ्चलभरिमा नै अन्त कतै थिएन । विद्यालयको वातावरण अनुशासित मात्र थिएन; सफा, राम्रो काइदाकानुन, प्रशस्त भवन तथा बगैँचा पनि थियो । बिहान सधैँ पीटी हुन्थ्यो । क्यान्टिनको राम्रो व्यवस्था भएको विद्यालयका भित्ताहरूमा प्रेरक भनाइहरू लेखिएका थिए । प्रेरक भनाइहरूमध्ये एक थियो – A long journey starts with a single step । मलाई लाग्छ, गोदइताको जस्तो वातावरण पाएँ हामीकहाँ धेरै सुनिलकुमारहरू बन्नेछन् ।“
त्यसै विद्यालयबाट झाले एसएलसी पहिलो श्रेणीमा उर्तिण गरे । त्यसबेला पहिलो श्रेणीमा एसएलसी उर्तिण गनुभनेको गाउँका लागि सपनाबाहिरको कुरा थियो । पहिलो श्रेणीमा पास भएको खबर पत्रिकामा छापिएर आउँदा उनले पनि विश्वास गर्न सकेका थिएनन् ।

गोदइता विद्यालका प्रिन्सिपल मुनार यादव थिए । जसबाट झाले र उनका दाइले १० कक्षासम्मको ट्युसन कक्षा पनि पाए । उनी प्रिन्सिपल मुनार यादवको सम्झना गर्दै भन्छन्, “मेरा सपनाहरूको आयतन बढाएको गोदइताले हो । त्यसमा पनि गुरू मुनारका कारणले हो । विद्याल अब्बल र उदाहरणीय हुनुमा सबैभन्दा ठूलो भूमिका उहाँकै थियो । वास्तवमै भन्दा, मेरो सफलतामा उहाँको ठूलो देन छ ।”

झा कक्षा ९ मा पढ्दा मुनार सरले सुनाएको कथाको स्मरण गर्छन्, “tick the clock says tick tick tick; how much land does a man need ? if money is lost nothing lost, health is lost something is lost but if character is lost everything lost. who will listen my grief ?”, र भन्छन्, “यी र यस्ता अनेकन् नैतिक शिक्षाहरू उहाँबाट मैले पाएको छु जुन अहिलेसम्म पनि मेरो मनमस्तिष्कमा बसेको छ । यिनै शिक्षाहरूले मलाई गलत काम गर्न त के, सोच्न पनि दिँदैनन् ।

पिताको सपना कमसेकम छोरोले एउटा राम्रो जागिर खाओस् भन्ने थियो । जागिरलाई नै केन्द्रमा राखेर सजिलो गरी काम पाउन सकिन्छ भन्ने हेतुले एसएलसीपछि उनी ओभरसीरको अध्ययनमा लागेँ । त्यस समय ओभरसीर पढ्नु पनि जोकोहीको वशको कुरो थिएन । तर एसएलसीमा पहिलो श्रेणी हासिल गरेका हुनाले उनले सजिलैसँग भर्ना पाए ।
दुई वर्षको ओभरसीर कोर्स गरेपछि काठमाडौँमै उनले सानोतिनो जागिर सुरु गरेँ, जुन पिताको सपना थियो । तर सुनिलकुमारको सपना त्यतिमा मात्र सीमित थिए । सपना देख्न पनि फराकिलो भूगोलको आवश्यकता पर्दो रहेछ । साघुँरो काठमाडौँको फराकिलो भूगोलले उनको सपनालाई पनि बृहत बनाउँदै लगिरहेको थियो । सपनाले नै डोर्याएर उनलाई इन्जिनियरिङसँग जोडिदियो । त्यस समय उनी कम्प्युटरसँग नजिक भएँ ।

“म इन्जिनियरिङका लागि पुलचोक कलेजमा भर्ना भएँ । त्यतिखेर के भयो भने, मैले साथीबाट करिब १५ सयमा एउटा क्याल्कुलेर किनेँ ।” झा भन्छन्, “त्यस क्याल्कुलेरमा कम्प्युटरको फिचरहरू पनि थियो । बीईका सम्पूर्ण प्रोग्रामहरू मैले त्यसैको सहायताले गरेँ । बिईमा जति पनि सर्वेहरू गनुपर्यो, सम्पुर्ण मैले त्यसैको सहायतामा गरेँ । र, त्यसै क्याल्कुलेटरका माध्यमबाट म कम्प्युटरसँग ज्यादा घनिष्ट हुन पुगेँ । दिनरातै कम्प्युटरमै बिताउन थालेँ ।”
जब सुनिलकुमार बीईको अन्तिम वर्षमा पुगे, उनले “कम्प्युटर एडेट डिजाइन” लिएँ । त्यसैअन्तर्गत उनको समूहले “कुइक बेसिस ल्याङ्ग्वाइज”को सफ्टवेर डिजाइन गर्यौ । त्यस सफ्टवेयरको सफलताले उनमा कम्प्युटरप्रतिको लगाव बढाउन ठूलो मद्दत गर्यो ।

नेपालमा कम्प्युटरमा डुबिरहेको मान्छे, तर उनले अमेरिकामा पढ्नका लागि भने सिभिल इन्जिनियरिङमा एप्लाई गरे । खासमा, अमेरिका गएर उनी कम्प्युटरकै क्षेत्रमा दक्षता हासिल गर्न चाहन्थे । तर उनलाई के र कसरी पढ्ने भन्ने कुराको कुनै ज्ञान थिएन । महत्वकांक्षाको सम्बन्ध ज्ञानसँग हुँदैन सायद । उनीभित्र कम्युटरको क्षेत्रमा दक्षता हासिल गर्ने महत्वकांक्षा भने झन् झन् झाङ्गिदै गइरहेको थियो ।

उनले अमेरिकामा आफ्नो महत्वकांक्षामा बारेमा साथीहरूलाई बताए । के, कहाँ र कसरी पढ्न सकिन्छ भनेर सोधिखोजी गरेँ । चाहेपछि नहुने नै के रहेछ र ? अमेरिकाकै एक प्रतिष्ठित कम्युटर साइन्सको स्कुलमा भर्ना भए । र, त्यस स्कूलमा धेरै प्रोग्रामिङहरू गर्ने अवसर पाए ।

“सिभिल इन्जिनिय हुन अमेरिका पुगेका म, विस्तारै विस्तारै कम्प्युटरतिरै हराउन थालेँ ।”, विगतको रुमानी सम्झनामा रुमलिँदै झा भन्छन्, “मेरो लगाव त्यतातिरै सोझिदै गयो । त्यसैक्रममा मैले पहिलोपटक CISCO-CCIE कोर्सको बारेमा थाहा पाएँ । जसलाई अत्यन्तै अप्ठेरो कोर्सका रूपमा लिइँदो रहेछ । तर त्यस कोर्स पास गर्न सके नेटवर्किङ क्षेत्रमा माग अत्याधिक रहेछ ।”

आईटीको अन्य कोर्षहरूभन्दा यस कोर्षको माग बजारमा धेरै भएको र अहिलेसम्म कुनै पनि नेपालीले उक्त उपलब्धी हासिल गर्न नसकेको थाहा पाउनसाथ उनलाई जसरी पनि सीसीआईई गर्ने इच्छा जाग्यो । उनी भन्छन्, “मलाई लाग्यो, यदि यस विषयमा मैले प्रमाणपत्र हासिल गर्न सके भनेँ कवि काकाको ममाथिको योगदानमाथि मैले न्याय गर्नेछु । आफ्नो भगवान् पाउनेछु ।”

सोच्न त सोचे, तर उनलाई आफू सिस्कोको अध्ययन गर्न सक्ने कुरामा विश्वास थिएन । तर थाहा थियो, यात्राको सुरुवात पहिलो पाइलाले नै गर्छ । त्यसैले पहिलो पाइलास्वरुप किताबहरू पढ्न थालेँ ।

उनका लागि सिस्कोको अध्ययनका बारेमा अरुले भनेको सुन्दा तथा आफैँ बुझ्दा पनि पढ्न असम्भव प्रायः थियो । त्यस विषयमा विज्ञता हासिल गर्ने नेपाली त थिएनन् नै, अमेरिकामै पनि ज्यादै कम व्यक्तिहरूले मात्र पढ्ने साहस गर्थे । झा भन्छन्, “तर त्यस समय मलाई आदिकवि भानुभक्त आचार्यले सहयोग गरे । उहाँले परिचित गराउनुभएको घाँसीले उर्जा दिए ।”

सुनिलकुमारले कवि काकालाई सम्झिए । उनी भन्थे, “इमान्दारीपूर्वक चिताएको लक्ष्य पाउन निरन्तर परिश्रम गर्नुपर्छ । परिणामको जिम्मा ईश्वरमाथि छोडिदिनुपर्छ । काग र काइली दुबैको रङ कालो हुन्छ, तर मीठो बोल्ने प्रतिभाका कारण कोइली सबैको प्रिय छ । त्यसैले मिहिनेतले प्रतिभा हासिल गर । हेर त, म अन्धो छु । तर ज्ञानआर्जन गर्न मलाई अन्धोपनाले कहिल्यै रोकेको छैन । एकचोटि गाउँमा एक अमेरिकन आएको थियो रे । ऊ धनी छ कि गरिब ? त्यो कसैलाई थाहा थिएन, तर अमेरिकन भएकाले सबैे उसलाई सम्मान गर्थे । त्यसैले तिमी जहाँ गए पनि सिप सिक्न र ज्ञान आर्जन गर्न नछोड्नु । तिमीले राम्रो गरे सबैको नाम र इज्जत हुन्छ ।”

कवि काकालाई सम्झिनसाथ सुनिलमा जस्तोसुकै गाह्रो काम पनि गर्नसक्ने उर्जा थपियो । कवि काका र उनका कुराको झाको मानसपटलमा गहिरो छाप थियो । उनले कवि काकाले अमेरिकनको कुरा गरेकै समय “अमेरिका उडेर पुगौँ, र जमेरै पढौँ” भन्ने इच्छा जागेको थियो । तर चिताएकै भरमा अमेरिका पुग्नु सम्भव थिएन । झा भन्छन्, “परिवारबाट पाएको निरन्तर हौसला र शिक्षकहरूको आशीर्वादले मलाई मिहिनेत गर्न उत्प्रेरित गरिरह्यो । उहाँहरूकै प्रेरणा र हौसलाअनुसार मैले परिश्रम गर्दै गएँ । हरेक सिँढीहरू एक एक गरी पार गर्दै गएँ । र, ईश्वरको कृपाले मलाई यो लक्ष्यसम्म डोर्यायो ।”

मान्छेको जीवनै के छ र ? आज छौँ, भोलि नरहन पनि सक्छौँ । पर्सिपल्टदेखि हाम्रो अस्तित्व नै बिलाईजान्छ कतै । अस्तित्वमा केही रहन्छ भने त्यो नाम हो । सम्झनामा केही रहन्छ भने त्यो काम हो । जस्तो, आदिकवि भएर भानुभक्त सधैँ जीवित छन् । भानुभक्तको सृजनाका माध्यमबाट घाँसी कवि काकाझैँ बाँचिरहेछन् । र, उनले अठोट गरे, “म नरहँदा पनि मेरो नाम रहनुपर्छ । मेरो कामले नामलाई सधैँ जीवित राख्ने तागत राख्नुपर्छ ।”

नेपालबाट सिस्कोको CISCO-CCIE परीक्षा पास गर्ने कोही नभएको थाहा पाएपछि उनले सोचे, “नेपालबाट म पहिलो हुनुपर्छ । कसरी हुन्छ, सिस्को पास गरेर म नेपालको पहिलो नेटवर्किङ विज्ञ बन्नुपर्छ ।”

झाले आफूलाई घाँसी बनाए । ठाने, कुनै भानुभक्त उनको कथा लेखेर बसेको छ । सोचे, त्यस कथालाई मैले मुकाम दिनुपर्छ । त्यसैले उनले निरन्तररुपमा प्रयास गरिरहे । अभ्यासलाई दैनिकी बनाए । र, कवि काकाले भनेझैँ भगवान् पाए । भगवानको कृपाले नेटवर्किङ् विषयमा पीएचडीबराबरको विज्ञाता हासिल गर्ने उनी पहिलो नेपाली बने ।

भनिन्छ, परिश्रम गर्नेको साथ परमात्माले पनि दिन्छन् । झा आफ्नो सफलताको श्रेय आफ्नो परिश्रमका साथै आफूलाई पढाउने गुरुहरू तथा परिवारलाई दिन्छन् ।
अमेरिका गइसकेपछि पनि सुरुको ५ वर्षसम्म सुनिलले बहुतै सङ्घर्ष गर्नुपर्यो । उनले काम गर्दै लगतार ५ वर्षसम्म अध्ययन गरे । कष्टकर थियो जीवन, तर उनीसँग लक्ष्यसम्म पुग्न अर्को विकल्प थिएन । आत्मनिर्भर भएर काम गर्न तथा पढ्न पनि उनलाई अमेरिकाले सिकायो । त्यसैले उनी अमेरिकाका सडकहरूलाई पाठशाला मान्छन् । आफ्नो मिहिनेत र ईश्वरको कृपाले आफ्नो जित भएको ठान्छन् ।

नेपालमा विज्ञको अभावमात्र होइन, सूचना प्रविधिको विकासको विषयमा सरकारको ध्यान अझै पनि पुगेको देखिदैन । नत्र सूचना प्रविधिजन्य शक्ति उत्पादन मात्र नभई हरेक दृष्टिकोणले विश्वशक्ति बन्ने प्रतिपस्र्धामा रहेको भारत र चीनको बिचमा अवस्थित नेपालले निकै लाभ लिन सक्छ । तर यसको लागि विभिन्न देशसँग सहकार्य तथा राजनीतिक अवरोधरहित वातावरण आवश्यक छ ।

“सूचना प्रविधिमा नेपाल भर्खर बामे सर्दैछ । व्यक्तिगत स्तरबाट यो प्रणाली स्थापना गर्न सकिने सम्भावना न्युन छ ।”, झा भन्छन्, “नेपाल सरकारको तर्फबाट नै ठोस योजनासहित आवश्यक बजेको व्यवस्था भए दक्षहरूको एउटा टोली नै गठन गरी गृहकार्य गर्ने हो भने यो (सिस्को प्रणाली) सम्भव छ । र, नेपालको लागि यो निक्कै फलदायी पनि हुनेछ ।”
विश्वको जुनसुकै कुनामा बसेर सपना देखे पनि कडा परिश्रम नगरी सफलता हात पार्न सकिँदैन । सही गन्तव्य रोजेर निरन्तर अभ्यास गर्नु एउटा मात्र बाटो हो । यो तथ्यको प्रमाण भएका छन् ग्रामीण क्षेत्रमा जन्मिएर नेपालकै पहिलो इन्टरनेट नेटवर्किङ विज्ञ बनेका सुनिलकुमार झा ।

निकट समयमा नै आफ्ना भोगाइ तथा अवसरहरूको सम्पूर्ण विवरणसहित पुस्तक प्रकाशन गर्ने योजनामा छन् सुनिलकुमार । उनी भन्छन्, “किताबमार्फत् मेरो यात्राबारे थप प्रकाश पार्नुका साथै मेरो भावी योजनाहरू पनि सार्वजनिक गर्नेछु ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका