विराटनगर । मोरङको सुन्दर हरैचा – ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । शुक्रबार साझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । नाबालिकाकाे उपचारको क्रममा आज बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । उहाँले भन्नुयाे ‘‘यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेका रहेछन्’, गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । आज मृत्यु भयो ।
बेलुका ४ बजेदेखि हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएपछि अस्पताल लगिएको उहाँले बताउनुभयाे ।अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट छ । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयाे ।