इटहरी । कोरोना कहरले थलिएको नेपाली चलचित्र उद्योग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलिलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ”चिसो एष्ट्रे” यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । चलचित्रको प्रचारकै निम्ति प्रदेश १ आईपुगेको निर्माण युनिटले बिराटनगरमा ‘बिराटनगर इन्टरनेसनल कलेज” र इटहरीको ‘इटहरी इन्टरनेसनल कलेजुमा’ कलेज क्याम्प गरेको छ भने इटहरीमा पत्रकार सम्मेलन समेत गरेको छ ।
प्रचारप्रसारका लागि चलचित्रकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता निकुन श्रेष्ठ र कार्यकारी निर्माता महेशबाबू तिमिल्सिनाको उपस्थिति रहेको थियो । बिराटनगर र इटहरीको कलेज क्याम्पमा निर्माण युनिटले छायांकनका क्रममा गरिएको ब्यवस्थापन पक्ष र सो बेलाको आरोह अवरोहलाई कलेजका बिद्यार्थीहरु माझ प्रस्तुत गरिएको थियो । त्यस्तै चलचित्रको ट्रेलर समेत देखाउँदै कलेज क्याम्पमा निर्माण युनिटले ”चिसो एष्ट्रे” लाई हलमा हेर्दै नेपाली चलचित्रलाई माया गर्न आग्रह गरेका छन् ।
यस्तै इटहरी र धरानका पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन इटहरीमा अवस्थित पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन को कार्यालयमा आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता तिमिल्सिनाले कोरोनाले गर्दा चलचित्र प्रर्दशनमा ल्याउन ढिलो भएपनि नेपाली दर्शकहरुले रुचाउने विषय भएको जानकारी दिनुभयाे । यस्तै चलचित्र प्रचारप्रसारका लागि प्रदेश १ आइपुगेकी चिसो एस्ट्रेकी प्रमुख नायिका श्रेष्ठले चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।
पत्रकार सम्मेलनमा उपस्थित भएका अभिनेता निकुनले पनि गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ भन्ने कुरा चलचित्रले प्रस्तुत गर्नेु र ७ वर्षको अन्तरालमा धेरै दुख र मेहनत सहित निर्माण सम्पन्न भएको यो चलचित्रले दर्शकहरूको लगानी उठाउनेमा कुनै संङ्का नरहेको उहाँले बताउनुभयाे । चलचित्र चिसो एस्ट्रे कवि भुपी सेरचनको कविता ”चिसो एष्ट्रे” बाट प्रभावित भएर निर्माण गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्माता तिमिल्सिनाले बताउनुभयाे । उहाँले भन्नुभयाे नेपालमा साहित्यबाट प्रभावित भएर चलचित्र वनाउने कार्य कमै हुन्छ, आँफु पनि साहित्य तथा चलचित्रका क्षेत्र रुचि राख्ने मानिस भएको कारण ”चिसो एष्ट्रे” कविताबाट प्रभावित भएर सोही शिर्षकमा चलचित्र निर्माण गरेको हो ।
दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा सृष्टि श्रेष्ठ र निकुन श्रेष्ठको अलावा दिव्य देव, सुशील पाण्डे, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गर्नुभएकाे हाे । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाउनुभएकाे छ । सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहनुभएकाे छ । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गर्नुभएकाे छ ।