‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलमा जोड' • Nepal's Trusted Digital Newspaper‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलमा जोड' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलमा जोड’

‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलमा जोड’

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन २७, २०७८
‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलमा जोड’

पोखरा । कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि सकारात्मक सोचसँगै कानुन कार्यान्वयनमा जोड दिइएको छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पोखरामा बिहीबार आयोजित ‘महिलाको सफलताको लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता’ विषयक      अन्तरक्रिया का वक्ताले सो कुरामा जोड दिएका हुन् ।

275244215 323552049746851 510973622011770813 n

मिडिया एड्भोकेसी गु्रप÷सोलिडारिटी सेन्टरको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि पीडित पक्षले सहजरुपमा उजुरी दिने वातावरण हुनुपर्नेमा जोड दिनुभयाे । उहाँले कार्यस्थलमा ११ देखि १४ प्रतिशतसम्म महिला हिंसा हुने गरेको उल्लेख गर्दै कानुनको कार्यान्वयन फितलो हुँदा यसखालको समस्या सिर्जना भएको बताउनुभयाे ।

275257154 655908219002536 6208059156748574007 n

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागाईंले नेपालले महासन्धिमा पक्ष राष्ट्र भए पनि राज्यले कार्यान्वयन तहमा लैजान नसकेको बताउनुभयाे । उहाँले समतामूलक विकासमा लैंगिक हिंसा चुनौतीको विषय भएको उल्लेख गर्नुभयाे ।

कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले आइएलओको ‘कामको संसारमा हुने हिंसा तथा दुरव्यवहार उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ पारित हुनुपर्नेमा जोड दिनुभयाे । उहाँले पितृसतात्मक सोच कायमै रहँदा कार्यस्थलमा महिला हिंसामा पर्दै आएको उल्लेख गर्दै पीडितको गोपनीयतामा समेत ध्यान दिनुपर्नेमा बताउनुभयाे ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले समाजमा खाना र नानाको अभावले विभिन्न विकृति हुने गरेको उल्लेख गर्नुभयाे । उहाँले कार्यस्थलमा महिला हिंसाविरुद्ध आफ्नो जानकारीमा जिल्ला प्रशासन कार्यालयमा हालसम्म भने कुनै उजुरी नपरेको बताउनुभयाे ।

संविधानसभा सदस्य तेजकुमारी पौडेलले नेपालको सामन्ती व्यवस्थाले महिला घरेलु हिंसामा पर्दै गएको बताउनुभयाे । उहाँले महिला अधिकारको रक्षाका लागि सबै जना एकजुट हुनुपर्नेमा जोड दिनुभयाे ।

पोखरा वडा १ की अध्यक्ष शारदाकुमारी पौडेलले हिंसामुक्त समाजको लागि घरबाटै पहल गर्नुपर्नेमा जोड दिनुभयाे । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराका कार्यकारी निर्देशक निर्मला न्यौपानेले मानिसको चेतनाले नै आफ्नो व्यवहार निर्देश गर्ने उल्लेख गर्नुभयाे । उहाँले आमाको नाममा नागरिकता लिन थुप्रै कानुनी झन्झट व्यहोर्नुपर्ने समस्या रहेको सुनाउनुभयाे ।

पोखरा उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति संयोजक मुना बास्तोलाले महिला निर्णायक तहमा नहुँदा उनीहरुको आवाज सधैं दबिने गरेको गुनासो गर्नुभयाे । पत्रकार सुरेश रानाभाटले कार्यस्थलमा हुने महिला हिंसा निराकरणका लागि ‘ह्वाई कल्चर’ को विकास गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा विवेकशील साझाका केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस प्रदेश सदस्य लालीमाया शर्मा, तालबाराही आरति समूह अध्यक्ष मंगल नेपाली, पत्रकार शिवराज बस्ताकोटी ‘शिव दाइ’ लगायतले बोल्नुभएकाे थियाे । कार्यक्रम संयोजन राधिका कँडेलले गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका