काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ ।
अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयाे । बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा महतले भन्नुभयाे, ‘विपक्षीहरुले राष्ट्रिय मुद्धाहरुमा जति पनि भ्रम छरेका छन्, त्यसलाई पनि चिर्ने उद्देश्य छ ।’
उहाँका अनुसार कांग्रेस नेतृत्वको सरकारले गरेको र भोलि गर्ने काम, केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारण पनि जनतालाई सुसूचित गरिनेछ ।
‘घर घर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको अभियानका लागि केन्द्रीय सदस्यहरु खटाइएको छ । भंग गरिएका १० भ्रातृ संस्थामा तदर्थ समिति छिट्टै गठन गरी निर्वाचनमा परिचालन गरिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयाे ।
कार्यसमिति अपूर्ण रहेका जिल्लामा संगठनलाई पूर्णता प्रदान गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले परिपत्र गरिसक्नुभएकाे छ ।
पार्टी कमिटीहरु र भ्रातृ संस्थालाई पूर्णता दिने सीमा चैत १५ तोकिएको छ । नेताहरूका अनुसार भ्रातृ संस्थाको केन्द्रमा नयाँ कार्यसमिति बनाउने छ भने जिल्लामा पुरानै कार्यसमिति व्यूँताउने तयारी छ ।