काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ ।
सापकाटाले आइतबार (आज) बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमालेले उठाएका माग संबोधन नभएकाले बैठकमा सहभागी हुने वातावरण बनिनसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यसअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी भएको थिएन ।
आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । कार्यव्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ । बैठकमा संसद्मा जारी अवरोधलगायत विषयमा छलफल हुनेछ ।
यसअघी, सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल एमालेका दोस्रो तहका नेताहरूबीच शनिबार छलफल थियो । शनिबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन सहयोगका लागि आग्रह गरेका थिए । एमाले नेताहरूले भने पुरानै अडान दोहोर्याएका थिए । एमाले नेताहरुले प्रतिनिधिसभाको द्वार आफ्नो पार्टीका लागि खुलिनसकेको बताएका थिए ।
एमालेले संसद्मा अवरोध नगर्नका लागि पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने अथवा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएको छ ।