काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पनि केहि पाठ सिक्नुपर्ने बताउनुभएकाे छ ।
उहाँले युक्रेनमाथिको आक्रमणको घटनाले कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा हुने पाठ सिकाएको बताउनुभयाे ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले नेपालले पनि आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यो घटनाबाट पाठ सिक्नुपर्ने बताउनुभएकाे छ ।
‘यस प्रकरणमा आमेरिकाले युक्रेन को छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो’ श्रेष्ठले भन्नुभएकाे छ, ‘नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ ।’
पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गर्नुभएकाे छ । त्यस्तै सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैलाई अपिल गर्नुभएकाे छ ।