हाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ (अन्तर्वार्ता) • Nepal's Trusted Digital Newspaperहाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ (अन्तर्वार्ता) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ (अन्तर्वार्ता)

हाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ (अन्तर्वार्ता)

  • समाचारपाटी
  • शनिबार, फाल्गुन १४, २०७८
हाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ (अन्तर्वार्ता)

म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् । संघीयता कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र सम्बृद्धिको खाका कोर्दै छ । साविकको छाङ, जामुने र मनपाङ गाविस मिलेर बनेको म्याग्दे गाउँपालिकामा करिब पाँच बर्षको अवधिमा मायादेवी नेतृत्वको स्थानीय सरकारले के गर्यो भनेर उनैबाट जवाफ खोज्ने प्रयास गरेका छन् 

अबको केही महिनामा गाउँ अध्यक्षबाट बिदा हुँदै हुनुहुन्छ । पदमा रहँदाको अवधिलाई कसरी लिनुहुन्छ ?
हामी लामो समयसम्म कर्मचारीले चलाएको स्थानीय सरकारको नेतृत्व गर्न आएका थियौं । धेरै चुनौतिको सामना गर्दै संघीयतालाई मजबुत बनाउन लागिरहेका छौँ । संघीयता हामीले नै चाहेको शासन व्यवस्था हो । जनताको समस्याहरू हरेक दिन प्रत्यक्ष रुपमा सुन्न, बुझ्न र समाधान गर्ने मौका पाएका छौँ ।

सुरु सुरुमा संघीयतासँग अभ्यस्त हुनलाई कत्तिको कठिन भयो ?
नयाँ जुत्ता किनेर लगाएपछि हप्ता पन्ध्र दिन लगाउन असजिलो हुन्छ नै । पछि बानी पर्दै जान्छ । सुरुमा नयाँ जे कुरा पनि अलिक अफ्ठयारो महसुस हुन्छ । तर, पनि बिस्तारै अनुभव बटुल्दै गएपछि सहज हुन्छ । संघीयता पनि यस्तै थियो । अहिले त जनताले पनि संघीयतालाई बुझेका छन् झनै सजिलो छ ।

कर्मचारी निकै कम थिए, हरेक विषयगत शाखामा कर्मचारी नभएर एउटै कर्मचारीले दुई चार वटा शाखा हेर्नुपथ्र्याे । बेलामा काम गर्न नसक्ने स्थिति पनि भोगियो ।

त्यसो हुँदा संघीयताले ठिक रहनेछ भन्ने भएन जनतामा ?
नबुझ्दा त भयो नि । पहिला त हामीले पनि सोच्यौं यो संघीयता त नहुने लफडामा फसियो भनेर । अनुभव नै ठुलो रहेछ पछि बिस्तारै सहज हुँदै आयो ।

स्थानीय सरकारलाई संघीयताको जग भनिन्छ । जग बलियो बनाउन प्रदेश र संघ सरकारले भूमिका खेल्न सके कि सकेनन् । कत्तिको सहयोग पाउनुभयो संघ र प्रदेश सरकारको तर्फबाट ?

प्रदेशबाट मन फुकाएर बजेट नदिने, बरु फ्रिज हुने । गाउँपालिकाले काम गर्नलाई बजेट नपाएको अवस्थामा उता प्रदेशमा फ्रिज भयो । त्यो सहयोग हो त ? संघको पनि त्यही हो अवस्था । राजनीति पनि बढी गरियो । बेलामा ऐन कानुन बनाएनन् । अलमलमा पारियो केही समय त ।

तपाईंको टिमले म्याग्देमा गर्व गर्न लायक के काम गर्यो त ?
धेरै काम गरेका छौँ । गाउँपालिाकाको सात मध्ये ६ वडा पृथ्वी राजमार्गसँग जोडिए पनि दायाबाँया ओझेलमा थिए । अर्थात विकास पुगेकै थिएन् । राजमार्गसँगै जोडिएको भए पनि सडक पुग्न सकेको थिएन । हामी आएपछि हरेक गाउँलाई सडकले जोडेका छौँ ।

स्वास्थ्य इकाई स्थापना गरेका छौँ । धेरै विद्यालय सुधार गर्नु पर्ने थिए, सुधारेका पनि छौँ । ठाउँठाउँमा मठमन्दिर बनेका छन् । गाउँगाउँमा सामुदायिक भवन बनेका छन् । कृषिमा अनुदानदेखि आधुनिकीकरणमा किसानलाई सघाएका छौँ । कोठा जत्रै भए पनि कोल्डस्टोर बनाएका छौँ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणको चरणमा छ । हरेक वडा कार्यालयको भवन बन्दै छन् । गाउँपालिकामा ३० शैय्याको अस्पताल पनि बन्दैछ । गर्भवती महिलाले हाम्रै पालिकाको स्वास्थ्य संस्थामा चेकजाँच गरेर सुत्केरी हुनेलाई गाउँपलिकाले तीन हजार रुपैयाँ उपलब्ध गराएको छ । विकासका थुप्रै गरेका छौँ । कति काम पूरा हुन बाँकी नै छन् ।

तपाई आफैँ महिला पनि हुनुहुन्छ । महिलालाई आत्मानिर्भर र स्वरोजगार बनाउनलाई चाहिँ केही गर्नु भएन् ?
महिलालाई आत्मानिर्भर बनाउनलाई पनि धेरै प्रयास गरेका छौँ । महिला दिदीबहिनीलाई आत्मानिर्भर बनाउन मानहुँ, हर्खपुर र गैरागाउँमा होमस्टे स्थापना गरेका छौँ । बर्षेनी ब्युटीपार्लर, गुडिया बनाउने, झोला बुन्ने, चुरापोते बनाउने, नेतृत्व विकास जस्ता तालिम दिएका छौँ ।

आफ्ना कामअनुुसार कत्तिको सफल भएको ठान्नुहुन्छ ?
आफैँले आफ्नो प्रशंसा गर्नु ठिक हैन । तर पनि ५० प्रतिशत सन्तुष्ट छु । किनकी जनताले मागेका शतप्रतिशतमध्ये ५० प्रतिशत पूरा गरेका छौँ जस्तो लाग्छ । बाटोघाटो, बाँध कुलो, खानेपानी जस्ता सबै संरचना निर्माण गरेका छौँ । शिक्षा, स्वास्थ्यमा सुधार गरेका छौँ ।

आफ्नो कार्यकालमा चाहेर पनि गर्न सकिन लाग्ने केही काम छन् ?
तीन वटा काम छन् । डम्पिङ साइट निर्माण सबैभन्दा जटिल काम रहेछ । हुन त ठूला ठूला नगरपालिकाले पनि नदीमा फोहोर बगाएर बसेका छन् । हामीले डम्पिङ साइट बनाउनलाई अभ्यास ग¥यौँ । जाने बेलामा बल्ल डम्पिङ साइट बनाउन जग्गा किन्दैछौँ । अहिले जग्गा पास हुने प्रक्रियामा छ । अर्काे कोल्डस्टोर बनाउने ठुलो धोको हो । म्याग्देमा आलु सुन्तला धेरै फल्छ । सबै बाहिर जान्छ । कोल्डस्टोर नभएपछि हामीले यहाँको उत्पादन खाना पाएका छैनौँ । प्रदेश र संघमा कोल्डस्टोर बनाउन माग राखेका छौँ । गाउँपालिकाले चाहेर पनि गर्न सकेन ।

र तेस्रो संघ र प्रदेशले सपोर्ट गरेको भए हाम्रो धेरै बाटोहरु कालोपत्रे हुन्थे । हामीले सडकको ट्रयाक खोल्यौँ । नाला बनायौँ । तर ग्राभेल पनि गर्न नसकेको अवस्था छ । पर्याप्त बजेट दिएको भए सायद सबै वडाका मुख्य मुख्य सडक कालोपत्रे गर्न सक्थ्यौँ ।

अधुरा योजना पूरा गर्न अब फेरि अध्यक्षमा दोहोरिने इच्छा छ कि ?
मेरो इच्छाभन्दा पनि पार्टीको निर्णयमा भर पर्छ । पार्टीले उठ्देउ भन्यो भने दोहो¥याउन पनि सक्छु ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका