सोभियत संघ किन ढलेको थियो ? • Nepal's Trusted Digital Newspaperसोभियत संघ किन ढलेको थियो ? • Nepal's Trusted Digital Newspaper

सोभियत संघ किन ढलेको थियो ?

  • समाचारपाटी
  • शुक्रबार, फाल्गुन १३, २०७८
सोभियत संघ किन ढलेको थियो ?

सन् १९९१ को डिसेम्बर २५ मा मिखाइल गोर्भाचोभले सोभियत सङ्घको राष्ट्रपति पदबाट आधिकारिक रूपमा राजीनामा दिए । त्यसको भोलिपल्ट त्यहाँको संसद्ले १५ स्वतन्त्र राज्यहरूको स्वतन्त्रतालाई मान्यता दियो र सोभियत सङ्घको अस्तित्व समाप्त भयो । एक समयमा विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको प्रतीक चिन्हका रूपमा रहेका हँसिया–हतौडा भएको रातो झन्डा क्रेमलिनमा तल झारियो । ५४ वर्षको उमेरमा गोर्भाचोभ सन् १९८५ मा सत्तामा आएका थिए । उनले धरमराउँदै गएको राष्ट्रको अवस्था फेर्न सुधारका कार्यहरू सुरु गरे । पेरीस्टोइका (पुनर्निर्माण र पुनर्संरचना) र ग्लास्नोस्ट (खुलापन र अभिव्यक्ति स्वतन्त्रता) भनिने ती सुधारले देशको विनाश गरेको धेरैले तर्क गर्ने गरेका छन् । अन्यले भने सोभियत सङ्घ कडा रवैयाका कारण जोगाउनै नसकिने अवस्थामा पुगेको बताउँछन् । सोभियत सङ्घ पतन हुनुका पाँच आधारभूत कारण र त्यसको प्रभाव स्वरूप रुसले आफूलाई हेर्ने नजर अनि विश्वसँग गर्ने अन्तर्क्रिरयाबारे एक चर्चाः

१. अर्थतन्त्र
सोभियत सङ्घको सबैभन्दा ठूलो समस्या ध्वस्त हुँदै गएको अर्थतन्त्र थियो । त्यहाँ विश्वका धेरै देशहरूले अपनाएका बजारमुखी अर्थतन्त्रभन्दा फरक केन्द्रीय स्तरमा राज्यले निर्दिष्ट गर्ने अर्थतन्त्र थियो । सोभियत सङ्घमा कारदेखि जुत्ता अनि पाउरोटीसम्म पनि कति उत्पादन गर्ने भन्ने विषय राज्यले निर्धारण गर्थ्यो । उसले ती सामग्री प्रत्येक नागरिकलाई कति चाहिन्छ, मूल्य कति हुनुपर्छ र कति पारिश्रमिक दिइनुपर्छ भन्ने कुरा निर्धारण गर्थ्यो । सिद्धान्ततः यो प्रणाली प्रभावकारी अनि न्यायोचित हुने ठानिएको थियो । तर यथार्थमा यसले प्रभावकारी रहन सङ्घर्ष गर्नुप¥यो । सन् १९५० को दशकको अन्त्यतिर सुरु भएको सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीचको अन्तरिक्षसम्बन्धी खोज र हतियारको दौडमा भएको खर्चले अवस्था अझ नराम्रो बनायो । सोभियत सङ्घ मानिसलाई अन्तरिक्षमा पठाउने पहिलो राष्ट्र थियो र ऊसँग निकै उन्नत परमाणु हतियार अनि क्षेप्यास्त्रहरू भएको शस्त्रागार थियो। तर यो सबै धेरै महँगो थियो ।

यो दौडका लागि लगानी गर्न सोभियत सङ्घ तेल र ग्यासजस्ता प्राकृतिक स्रोतमा निर्भर थियो । तर सन् १९८० को सुरुतिर तेलको मूल्य कम हुन गयो जसले पहिले नै समस्यामा रहेको अर्थतन्त्रमा व्यापक प्रभाव पा¥यो ।
उपभोग्य वस्तुहरूको अभाव देखिन थाल्यो र बजारमा महँगी आकासियो ।

अहिले यसले किन महत्त्व राख्छ ?
उपभोग्य सामग्रीको अभावले रुसी सर्वसाधारणहरूको सोचमा दिगो प्रभाव पारेको छ ।
अहिले अर्को पुस्ता आइसक्दा पनि आधारभूत आवश्यकताका सामग्रीहरू नपाइन सक्ने विषयबारे त्रास कायम छ । यो एक शक्तिशाली भावना हो जसलाई चुनावी अभियानमा सजिलै प्रयोग गर्न सकिन्छ ।

२. सिद्धान्त
गोर्भाचोभको ग्लास्नोस्ट नीति देशमा अभिव्यक्ति स्वतन्त्रता दिनेतर्फ उद्धत थियो ।
उनले जोसेफ स्टालिनको पालामा भएको दमनको वास्तविकता दर्साउने इतिहासका पाना पल्टाउन थाले । स्टालिनको शासन कालमा लाखौँ मानिसको मृत्यु भएको थियो । उनले सोभियत सङ्घको भविष्य र शक्ति संरचनाबारे बहसलाई प्रोत्साहित गर्न थाले । उनले सामान्य रूपमा कम्युनिस्ट पार्टीको वर्चस्वलाई चुनौती दिँदै बहुदलीय व्यवस्थाबारे पनि विचार अघि सारे । सामान्य रूपमा सोभियत सङ्घबारे विचारलाई केही मोड्नुको साटो यी कुराहरूले कम्युनिस्ट पार्टीले नेतृत्व जहाँ सबै सरकारी अधिकारी या त नियुक्त गरिन्थे या प्रतिस्पर्धारहित निर्वाचनबाट निर्वाचित हुन्थे प्रणाली प्रभावकारी नरहेको, दमनकारी अनि भ्रष्टाचार रहेको विश्वास सर्वसाधारणहरूलाई दिलायो ।

गोर्भाचोभको सरकारले हतारमा चुनावी प्रक्रियामा स्वतन्त्र र निष्पक्षताका केही तत्त्वहरू समावेश गर्ने प्रयास त ग¥यो तर त्यो प्रयास निकै कम अनि निकै ढिला हुन पुग्यो ।

अहिले यसले किन महत्त्व राख्छ ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुवाती चरणमै राष्ट्रवादबारे बलियो विचारको महत्त्व बुझे। उनले त्यस्तो सरकार बनाए जुन पूर्ण रूपमा पारदर्शी अनि प्रजातान्त्रिक छैन । उनले आफू राष्ट्रपति हुँदा एउटा सम्मानित राष्ट्रिय आदर्श बनाउन विभिन्न कालखण्डका पुराना सोभियत र रुसी विचार प्रयोग गरेका छन् । रुसी साम्राज्यको धन र रवाफ, स्टालिनको नेतृत्वमा भएको दोस्रो विश्वयुद्धमा देखिएको वीरताको गाथा र बलिदान अनि सन् १९७० को शान्त अनि स्थिर सोभियतकाल लगायतका कुराहरूलाई उनले गर्व अनि देशभक्ति बढाउनका लागि प्रयोग गरे ।

३. राष्ट्रवाद
सोभियत सङ्घ बहुराष्ट्रिय राज्य थियो र रुसी साम्राज्यको उत्तराधिकारी थियो । सोभियत सङ्घमा १५ राज्य थिए। भातृ राष्ट्रका रूपमा सैद्धान्तिक रूपमा उनीहरूको अधिकार समान थियो । तर यथार्थमा रुस सबैभन्दा ठूलो अनि शक्तिशाली थियो र रुसी भाषा अनि संस्कृति धेरै क्षेत्रमा हाबी भयो । ग्लास्नोस्टले अन्य गणराज्यका मानिसहरूलाई विगतमा भएका जातीय उत्पीडनबारे सचेत गरायो ।

सन् १९३० को दशकको युक्रेनको अनिकाल, बाल्टिक राज्य अनि पश्चिमि युक्रेनको अधिग्रहण र सोभियत–नाजी मित्रता सन्धि अनि दोस्रो विश्वयुद्धताका कैयौँ जातीय समूहहरूलाई बाहिरिन बाध्य पारिएका घटनाहरूबारे सर्वसाधारणले थाहा पाए ।

यी र अन्य कैयौँ घटनाहरूले राष्ट्रवाद अनि आत्मनिर्णयको माग व्यापक रूपमा वृद्धि गराए । सोभियत सङ्घ राज्यहरूको एक सुखी परिवार रहेको भन्ने सोचलाई घातक रूपमा कमजोर बनाइयो र राज्यहरूलाई हतारहतार बढी स्वायत्तता प्रदान गर्दै अवस्था सुधार गर्ने प्रयत्न कम अनि निकै ढिलो भएको देखियो ।

अहिले यसले किन महत्त्व राख्छ ?
आफ्नो मुख्य भूमिका निर्वाह गर्न अनि प्रभाव क्षेत्र कायम राख्न सङ्घर्षरत रुस अनि सोभियतकाल पछि गठन भएका राष्ट्रहरूबीच तनाव कायम छ । मस्कोको बाल्टिक देशहरू, जोर्जीया अनि हालसालै मात्र युक्रेनसँगको तनावपूर्ण सम्बन्धले युरोप र त्यसभन्दा बाहिरको भूराजनीतिक परिदृश्यलाई आकार दिन जारी राखेको देखिन्छ।

४. मन अनि मस्तिष्क गुमाउनु
वर्षैसम्म सोभियत सङ्घका जनतालाई पश्चिम ’’क्षय हुँदै गएको’’ र पुँजीवादी सरकारको नेतृत्वमा त्यहाँका सर्वसाधारणहरूले गरिबीका कारण दुख पाएका बताइन्थ्यो । सन् १९८० तिर आम सर्वसाधारणबीच सिधा सम्पर्क अनि यात्रामा वृद्धि हुन थालेसँगै यस्तो भनाइलाई बढ्दो रूपमा प्रश्न गर्न थालियो ।

सोभियत सङ्घका जनताले अन्य देशहरूमा जीवनयापनको गुणस्तर, व्यक्तिगत स्वतन्त्रता अनि कल्याणकारी राज्यको स्तर आफ्नोभन्दा धेरै राम्रो भएको देखे ।
उनीहरूले आफ्ना देशका निकायहरूले आफूहरूलाई यात्रा गर्न नदिएर, विदेशी रेडियो प्रसारण हुन नदिएर र विदेशी साहित्य अनि चलचित्रलाई सन्सर गरेर यी कुराहरू लुकाउन खोजेको देखे । गोर्भाचोभलाई शीतयुद्ध अन्त्य गरेको अनि पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध सुधार गरेर आणविक टकरावको खतरालाई रोकेको श्रेय जान्छ ।

तर सुधारिएको सम्बन्धको एउटा अप्रत्याशित नतिजा के भयो भने सोभियत सङ्घका जनताले अन्य देशका नागरिकको तुलनामा आफ्नो जीवन कति खराब छ भन्ने कुरा थाहा पाए । विदेशमा ख्याति कमाउँदै गएका गोर्भाचोभको आफ्नै देशमा भने आलोचना बढ्न थाल्यो ।

अहिले यसले किन महत्त्व राख्छ ?
रुसी सरकार आफ्नो फाइदाका लागि सञ्चारमाध्यमबाट दिइने सूचना तोडमोड गर्नमा सिपालु छ । अन्य देशहरूसँगको प्रतिकूल तुलनाबाट बच्नका लागि, रुसलाई सांस्कृतिक र ऐतिहासिक दुवै रूपमा फरक रूपमा प्रस्तुत गरिन्छ । सञ्चारमाध्यममा रुसका वैज्ञानिक प्राप्ति, दोस्रो विश्वयुद्धको जित अनि सांस्कृतिक सम्पदाहरूलाई दैनिक समस्याबाट रुसीहरूको ध्यान मोड्न प्राथमिकताका साथ प्रयोग गरिन्छ ।

५. नेतृत्व
गोर्भाचोभलाई सोभियत अर्थतन्त्र र सार्वजनिक मनोबलको थप गिरावट रोक्नको लागि आमूल परिवर्तन आवश्यक छ भन्ने कुरा थाहा थियो । तर यो कसरी प्राप्त गर्ने भन्ने उनको दृष्टिकोणमा स्पष्टताको भने कमी थियो । शीतयुद्ध अन्त्य गरेर उनी बाहिरी विश्वका लागि नायक बनेका थिए। तर आफ्नै घरमा भने उनी आलोचनाको पात्र बनेका थिए । सुधारको वकालत गर्नेहरूले उनले अवसरको सदुपयोग गर्न नसकेको भनिरहेका थिए भने धेरैले उनी बहकिएको ठान्थे। नतिजा उनी दुवै समूहबाट टाढिए । गोर्भाचोभलाई हटाउन सन् १९९१ को अगस्टमा पुरातनपन्थीहरूले कूको प्रयास गरे । तर यसले सोभियत सङ्घलाई जोगाउनेभन्दा पनि विघटनको द्वारतर्फ अघि बढायो । कूको प्रयास गर्ने नेताहरूले देशबाट भाग्ने प्रयास गरे र गोर्भाचोभ शक्तिमा फर्किए। तर उनी लामो समयका लागि शक्तिमा रहन सकेनन् । रुसमा बोरिस याल्तसीन अनि सोभियत सङ्घमा अन्य नेताहरूको उदय भयो । त्यसपछिका महिनाहरूमा धेरै देशले स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरे र डिसेम्बरसम्ममा सुपर–स्टेटको भविष्य धरापमा प¥यो ।

अहिले यसले किन महत्त्व राख्छ ?
पुटिन रुसमा सबैभन्दा लामो समय शासन गर्ने नेतामध्ये एक हुन । उनी लामो समयसम्म सत्तामा टिक्नुको एउटा कारण रुसलाई प्राथमिकतामा राख्नु वा त्यसो गरे जस्तो देखाउनु हो । गोर्भाचोभलाई एकपक्षीय रूपमा आफूले विस्तार गरेको शक्ति त्यसै छोडिदिएको आरोप लगाइएको थियो । उनले हतारमा पूर्वी जर्मनीबाट सोभियत सेना फिर्ता बोलाउने जस्ता कार्यहरू गरेका थिए । तर पुटिन भने रुसको स्वार्थ भएको उनले विश्वास गरेका कुराहरूमा डटेर लाग्छन् । बर्लिनको पर्खाल भत्किँदा पुटिन पूर्वी जर्मनीमा कार्यरत केजीबी भनिने रुसी गुप्तचरी निकायका अधिकारी थिए र उनी सोभियत फिर्तीको प्रत्यक्षदर्शी थिए । तीस वर्षपछि हाल उनले नेटोलाई रुसी सीमानजिक आउने कुराको विरोध गर्छन् र हालसालै युक्रेनको सीमानजिकै सैन्य गतिविधि बढाएर त्यस्तो कार्यलाई सैन्य सामर्थ्यका साथ समर्थन गर्न तयार रहेको सङ्केत दिएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका