सेनानी किशोरअधिकारीका अनुसार यो वर्ष हिमाल सरसफाइ अभियान सञ्चालन गर्नका लागि १२ करोड ९६ लाख ७० हजार ३७२ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
‘सरकारबाट ८ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन भएको छ’ उहाँले भन्नुभयाे, ‘अपुग भएको चार करोड ६६ लाख ७० हजार ३७२ रुपैयाँलाई व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।’
उहाँका अनुसार अपुग रकम हिमाल सफाइसँग सरोकार राख्ने सरकार मातहतका अन्य कार्यालय, प्रदेश सरकार, स्थानीय सरकार, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, हिमालय उद्दार संघ, ट्रेकिङ एजेन्सी एशोसिएसनलगायतसँग समन्वय गरेर व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।
यो वर्ष सरकारबाट विनियोजित रकम गत वर्षभन्दा १७ प्रतिशतले कम रहेको उहाँले बताउनुभयाे । अधिकारी भन्नुहुन्छ, ‘यसपटक बजेट कम छ, विभिन्न सरकारी, गैरसरकारी र निजी संस्था/कम्पनीबाट प्राप्त हुने सहयोगलाई प्रयोग गरेर सेनाले यो अभियान पारदर्शी र प्रभावकारी रुपमा सञ्चालन गर्नेछ ।’
अभियानमा नेपाली सेनाको तर्फबाट करिब एक करोड ३० लाख रुपैयाँ बराबरको रकम हवाई साधन, मेडिकल र सञ्चारमा खर्च हुने सेनाले जनाएको छ । सेनाले तयार पारेको खर्च विवरण अनुसार आरोहण दलका सदस्यका लागि मात्रै निजी पोशाक र सामग्री खरिदमा ९ करोड ६६ लाख रुपैयाँ खर्च हुनेछ ।
ह्याण्डलिङ एजेन्सीको खरिदका लागि १० करोड ८६ लाख २० हजार ३७२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, भत्तामा मात्रै ६९ करोड ४२ लाख ५ सय रुपैयाँ खर्च हुने भनिएको छ । विविधतर्फ ४४ करोड ५७ लाख ५ सय रुपैयाँ खर्च हुने भनिएको छ ।
सैनिक प्रवक्ता सिलवालका अनुसार सफा हिमाल अभियानमा नेपाली सेनाबाट खट्ने टोलीका लागि सरकारले आरोहण अनुमति दिइसकेको छ । अहिले अभियानका लागि आवश्यक पर्वतारोहण सम्बन्धी सामग्री र ह्याण्डलिङ एजेन्सीका लागि बोलपत्र आह्वान गरेर सम्झौताको क्रममा छ ।
‘हिमाल आरोहणमा जाने टोलीको नेतृत्वकर्ता र अन्य जनशक्ति छनौटको काम पनि सकिएको छ’ सिलवालले भन्नुभयाे, ‘१५ फागुनबाट सेनाको उच्च शिखर शिक्षालयमा तालिम सञ्चालन गर्दैछौं ।’