नेपालमा ८ हजार मिटरभन्दा माथि उचाइका ८ र ६ हजारमाथि उचाइका १३१० चुचुराहरु छन् । ती क्षेत्रमा औसतमा प्रत्येक वर्ष ५० हजार पर्यटक र करिब ८० हजार सहयोगीले भ्रमण गर्ने गरेको सेनाको अनुमान छ ।
नेपाली सेनाका सेनानी किशोर अधिकारीका अनुसार ती क्षेत्रमा कुहिने र नकुहिने गरी दुई प्रकारका फोहोर भेटिन्छन् ।
‘खाली अक्सिजन सिलिण्डर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना पोको पारेका चिजहरु, च्यातिएका टेन्ट लगायतका सामग्री नष्ट हुँदैनन्’ अधिकारीले भन्नुभयाे, ‘भान्छाका फोहोर, कागजलगायतका कुहिने फोहोर पनि हिमालमा भेटिन्छन् ।’
मृत मानव शरीरलगायतका फोहोर गरी सगरमाथाबाट मात्रै १४, कञ्चनजंघाबाट १०, ल्होत्सेबाट ६ र मनासलुबाट ५ गरी ३५ टन फोहोर संकलन गर्ने लक्ष्य सेनाको छ । अधिकारीका अनुसार तीमध्ये १३ टन आधार शिविर (बेस क्याम्प) भन्दा माथिको क्षेत्रबाट संकलन गरिनेछन् भने २२ टन बेस क्याम्प वरपरको फोहोरहरु हुनेछन् ।
‘बेस क्याम्प बनाएपछि फिक्स रोप (डोरी) लगाएर शेर्पाको सहयोगमा माथिल्ला क्याम्पहरुबाट फोहोर संलकन गरिनेछ’ अधिकारीले भन्नुभयाे, ‘फोहोर संकलन गर्नेले क्याम्प अनुसार लोड (तौल) को प्रमाणित गर्नेछन् र बेस क्याम्पमा बस्ने व्यवस्थापन समूहसँग समन्वय गरेर तल झार्नेछन् ।’
सगरमाथाको आरोहणसमेत गरिसकेका सेनानी अधिकारीका अनुसार बेस क्याम्पसम्म फोहोर ढुवानी गरेपछि सरोकारवाला निकाय समेतको उपस्थितिमा प्रमाणीकरण गरेर व्यवस्थापन गरिनेछ ।
‘कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै ह्याण्डलिङ एजेन्सीले भण्डारण गरी ढुवानी गर्नेछन्’ अधिकारीले भन्नुभयाे, ‘कुहिने फोहोरलाई सम्बन्धित स्थानीय निकाय र नकुहिनेलाई हवाई साधनमार्फत काठमाडौंसम्म ढुवानी गरेर फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई हस्तान्तरण गरिनेछ ।’