सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३५ टन फोहोर संकलन गर्दै नेपाली सेना • Nepal's Trusted Digital Newspaperसर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३५ टन फोहोर संकलन गर्दै नेपाली सेना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३५ टन फोहोर संकलन गर्दै नेपाली सेना

सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३५ टन फोहोर संकलन गर्दै नेपाली सेना

  • समाचारपाटी
  • बुधबार, फाल्गुन ११, २०७८
सर्वोच्च शिखर सगरमाथासहित चार हिमालबाट ३५ टन फोहोर संकलन गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च शिखर सगरमाथासहित नेपालका चार वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने भएको छ ।हिमालयमा हिउँ घट्दो क्रममा रहेको र जलवायु परिवर्तनका असरहरु बढ्न थालेको निष्कर्षसहित सेनाले हिमाल सफाइ अभियान चलाउन लागेको हो ।

सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार यो वर्ष २२ चैतदेखि २२ जेठसम्म सफा हिमाल अभियान सञ्चालन हुनेछ । उहाँका अनुसार यो वर्ष सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालमा सफाइ अभियान चलाइनेछ ।

‘पहिलो चरणमा २० कात्तिकदेखि १५ फागुनसँग पूर्वतयारी तथा समन्वयको काम भइरहेको छ’ उहाँले भन्नुभयाे, ‘दोस्रो चरणमा १६ फागुनदेखि १५ चैतसम्म एक्लिमटाइजेसन तालिम हुनेछ ।’ तेस्रो चरणमा चैतदेखि सरसफाइ अभियान थालिने प्रवक्ता सिलवालले बताउनुभयाे ।

उहाँका अनुसार अभियान अन्तर्गत यो वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट फोहोर संकलन गरिनेछ । फोहोर संकलनका लागि नेपाली सेनाबाट चिकित्सकसहित २९ सदस्यीय विज्ञ टोली खटिनेछ भने ४८ जना शेर्पा पनि टोलीमा रहेछन् । समन्वय र रियर अप्स समूहमा १४ जना गरी ९१ जना खटिनेछन् ।

सिलवालका अनुसार सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको समन्वयमा सञ्चालित सफा हिमाल अभियानकै निरन्तरतास्वरुप यो वर्ष पनि कार्यक्रम गर्न लागिएको हो । सेनाले यसअघि सन् २०१९ र २०२१ पनि यो अभियान सञ्चालन गरिसकेको छ ।

‘पहिलो वर्ष हिमाली क्षेत्रबाट १० टन फोहोर संकलन गरिएको थियो भने २०२१ मा २७.६ टन फोहोर संकलन भएको छ’ उहाँले भन्नुभयाे, ‘हिमाल सफाइका क्रममा हाम्रा टोलीले दुई वटा हिमालय आँधी र कोभिड–१९ महामारीको पनि चुनौति खेप्नुपर्‍यो ।’

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका