गण्डकी प्रदेश सरकारले मनायो चौथो वार्षिकोत्सव • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेश सरकारले मनायो चौथो वार्षिकोत्सव • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेश सरकारले मनायो चौथो वार्षिकोत्सव

गण्डकी प्रदेश सरकारले मनायो चौथो वार्षिकोत्सव

चुनौती पन्छाउँदै उल्लेख्य काम गरेका छौं : मुख्यमन्त्री पोखरेल

  • समाचारपाटी
  • बिहिबार, फाल्गुन ५, २०७८
गण्डकी प्रदेश सरकारले मनायो चौथो वार्षिकोत्सव

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, ५ फागुन । गण्डक्री प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव भब्यताका साथ मनाएको छ । पहिलो पटक गण्डकी रत्न घोषणा, उत्कृष्ट कार्यालय कर्मचारी घोषणाका साथमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।

gandaki day 1

सरकारका ४ वर्षे उपलब्धि समेटेर तयार पारिएको पुस्तक समेत उक्त अवसरमा विमोचन गरिएको छ । कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष एक हुन आग्रह गर्नुभयाे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश स्थापना भएको छोटो समयमा यसले जनताको मन जित्न सफल भएको भन्दै विकास निर्माण तथा सेवा प्रवाहमा आफूलाई सक्रिय बनाउँदै आएको बताउनुभयाे । संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन हिचकिचाएको उहाँको आरोप छ । स्थानीय तहहरुले पनि काम गर्ने क्षमतामा अझै बढोत्तरी गर्नुपर्ने मुख्यमन्त्री पाेखरेलकाे भनाइ रहेकाे छ । उहाँले भन्नुभयाे, “संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको अवस्थाका बारेमा तपाईं हामी जानकार नै छौं ।”

प्रदेश नयाँ संरचना भएकाले कानुन निर्माण हुने क्रममा नै रहेको, संस्थागत विकास नभइ सकेको अवस्था, पर्याप्त र उचित जनशक्ति व्यवस्थापन हुन बाँकी नै रहेको, आवश्यकताको तुलनामा उपलब्ध वित्तीय स्रोत अत्यन्त न्यून रहेको र संविधान बमोजिम कतिपय संघीय कानुन निर्माण नहुनुका साथै कतिपय संघीय कानुन संविधान अनुकूल नहुँदा प्रदेशको भूमिकामा अवरोध सिर्जना भएको उहाँले सुनाउनुभयाे ।

उहाँले भन्नुभयाे, “यावत अप्ठ्यारा र चुनौतीका बीच एकातिर संघीय शासन प्रणालीलाई मजबुत बनाउनुपर्ने छ भने अर्कोतर्फ विकास र समृद्धिका लागि नागरिकको बढ्दो अपेक्षा पूरा गर्नका लागि हामीले सम्पूर्ण ऊर्जा प्रयोग गर्नुपर्ने अवस्था छ ।” प्रदेश सरकारले ४ वर्ष पूरा गर्दै गर्दा केही महत्वपूर्ण प्रश्न उभिएको भन्दै उहाँले प्रदेश सरकारले संविधानको भावना र मर्म बमोजिम आफूलाई क्रियाशील बनाउन सकेको छ कि छैन भनेर यस्ता प्रश्नको वस्तुनिष्ठ समीक्षा गर्न जरुरी रहेको उहाँले बताउनुभयाे ।

साे अवसरमा सरकारले ४ वटा गठन आदेश र विभिन्न कार्यविधि/निर्देशिका/मापदण्ड कार्यान्वयनमा आएकाे जानकारी दिइएकाे थियाे । प्रदेशलाई दीर्घकालसम्म आवश्यक पर्ने संरचनाहरु स्थापना भएका छन् । विकासको दीर्घकालीन, मध्यमकालीन आवधिक योजना पारित भई कार्यान्वयनमा रहेको भन्दै उनले आवधिक योजना र दिगो विकास लक्ष्यमा आधारित भएर बार्षिक बजेट, योजना तथा कार्यक्रम सञ्चालनमा रहेको मुख्यमन्त्रीले उल्लेख गर्नुभयाे ।

यो ४ वर्षको अवधिमा भौतिक विकासतर्फ ८ सय ७३ किमि सडक निर्माण भएको फेहरिस्त उनले प्रस्तुत गरे । उहाँले भन्नुभयाे, “४७ वटा मोटरेबल पुल बनेका छन् भने ८९ वटा सडक पुल निर्माणाधीन छन् । ३२ वटा झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ भने ३३ वटा झोलुंगे पुल आगामी वर्ष सम्पन्न हुँदैछन् ।”

मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने कोरला करिडोर सडकको स्तरोन्नति गर्ने र सम्पूर्ण सडकलाई दुई लेनको बनाउने कार्य तीव्रताको साथ भइरहेको पनि उहाँले बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका