दैलेख, ३ माघ । प्रहरीले २१ किलो चाँदीका गरगहनासहित ५५ लाख ४० हजार एक सय ३९ मूल्य बराबरको सामग्री बरामद गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा अवैध सामान ल्याईदैँछ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त मूल्य बराबरको सामग्री बरामद गरेको हो।
दैलेख प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहका अनुसार चाँदीका गहनालगायतका सामग्रीसहित गाडीमा सवार साबिकको नारायणपुर गाविस–९ कैलाली घर भई हाल दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुंगाना र चालक टिकापुर नगरपालिका–९ कैलाली घर भई हाल बिरेन्द्रनगर नगरपालिका–४ एरिचोक सुर्खेत बस्ने २६ वर्षीय दिपक पाण्डे पक्राउ परेका छन्।
गाडी ल्याईएको अन्दाजी २४ लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको २१.७२५ किलोग्राम चाँदीका गहनाहरु पोते, पत्थरहरु र गहना राख्न प्रयोग हुने डिम्बाहरु अन्दाजी एक लाख ६३ हजार ४ सय ८९ रुपैयाँ मुल्य बराबरको सामग्री बरामद गरिएको डीएसपी साहले बताए।