काठमाडौं, ३ माघ । पूर्व अर्थमन्त्री एवम् कांग्रेसका नेता डा रामशरण महतले एमसीसी राष्ट्रहितमा रहेकाले पारित गर्नुपर्ने धारणा राख्नुभएकाे छ।
महतले एमसीसी पारित हुँदा रोजगारी बढ्ने, आर्थिक गतिविधि र लगानी बढ्ने धारणा राख्नुभएकाे छ । संसदीय दलका नेता शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधि सभाका सांसद नरहनुभएका महत संसदीय दलको बैठकमा सहभागी भएर एमसीसीबारे सांसदलाई जानकारी गराउनुभएकाे हाे।
रामशरण महतले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर सम्बन्ध बिगार्न नहुने पनि दाबी गर्नुभएकाे छ। उहाँले भन्नुभयाे ‘यो राष्ट्रको हितमा छ। राष्ट्रको हित विपरीत हामीले निर्णय गर्नु हुँदैन।’
बौद्धिक सम्पत्ति र लेखापरीक्षणको अधिकार नेपालसँगै रहेको उहाँको दाबी छ। एमसीसीले दिएको फागुन १६ गते भित्रै नेपालमा अनुमोदन गराउनुपर्ने उहाँको भनाई छ। उहाँले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको स्पष्ट पार्नुभएकाे छ। उहाँले इण्डो प्यासिफिक र एमसीसी फरक भएकाले दुईबीच कुनै सम्बन्ध नभएको प्रस्ट्याउनुभएकाे छ। उहाँले एमसीसी सम्झौता पछि सैन्य सम्झौता हुन्छ, अमेरिकी सेना आउँछ भन्नु गलत भएका जानकारी समेत गराउनुभएकाे छ। उहाँले भन्नुभयाे,‘एमसीसी राष्ट्रको हितमा छ। अमेरिकी सेना आउँछ भन्ने कुरा गलत कुरा हो। इन्डो प्यासेफिक रणनीति पनि होइन, कानूनविपरीत पनि छैन।’
एमसीसी कुनै देशको विरुद्धमा नभएको स्पष्ट पार्दै भन्नुभयाे, ‘एमसीसी बीआरआईको विरुद्ध होइन। चीनको विरुद्ध पनि होइन। यो नेपालको विकासका निम्ति आवश्यक परियोजनाको विषय हो।’ कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिँदै पत्रकारहरुसँग पनि महतले एमसीसी अनुमोदन नभए अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने बताउनुभयाे।
एमसीसी विकास परियोजना भएकाले यसमा राजनीति गर्न नहुने समेत उहाँको भनाइ थियो। पूर्व अर्थमन्त्रीसमेत रहेका महतले एमसीसी अनुमोदन हुन नसके अमेरिकासँग अविश्वास बढछ जसले नेपाललाई फाइदा नगर्ने बताउनुभयाे।