५० वर्षपछि भेटिएको बुलेट बाइकको कथा • Nepal's Trusted Digital Newspaper५० वर्षपछि भेटिएको बुलेट बाइकको कथा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ५० वर्षपछि भेटिएको बुलेट बाइकको कथा

५० वर्षपछि भेटिएको बुलेट बाइकको कथा

  • समाचारपाटी
  • सोमवार, फाल्गुन २, २०७८
५० वर्षपछि भेटिएको बुलेट बाइकको कथा

नारायणप्पा श्रीनिवासनका लागि उनको प्यारो कालो रङ्गको ‘रोयल एन्फिल्ड’ले सामान्य मोटरसाइकलभन्दा बढी अर्थ राख्थ्यो। ९० को दशकको मध्यतिर त्यो मोटरसाइकल हरायो र उनका छोरा अरुणले त्यसलाई खोज्दै १५ वर्ष बिताए ।”त्यति बेला बुलेट बाइक महँगो थियो। मलाई त्यो किन्नका लागि आवश्यक सम्पूर्ण रकम ऋण ब्याङ्कले दियो,” ७५ वर्षीय श्रीनिवासन सम्झन्छन् । सन् १९७० मा उनले रोयल एन्फिल्ड किन्न ६,४०० भारतीय रुपैयाँ सापटी लिए। जुन अहिले लगभग तीन लाख रुपैयाँ बराबर हुन्छ । भारत विश्वका लागि खुला हुनुअघि र श्रीनिवासन जस्ता ग्राहकहरूसँग सीमित विकल्पहरू मात्र छँदा त्यो मोटरसाइकलको मूल्य ठूलो थियो । त्यस समय रोयल एन्फिल्ड यसले निकाल्ने आवाजको लागि प्रसिद्ध थियो र धेरैका लागि बहुमूल्य वस्तु थियो  मोटरसाइकल खरिद गर्दा श्रीनिवासन २४ वर्षका थिए। त्यसलाई उनले दुई दशकभन्दा बढी चलाए । कृषि अधिकारीको रूपमा किसानहरूलाई ब्याङ्क ऋण उपलब्ध गराउने कामकै सिलसिलामा उनी कर्नाटकको दक्षिणी क्षेत्र पुग्यो। उनी जहाँ गए, मोटरसाइकल त्यतै पुग्यो ।

“म र मेरा दिदीबहिनी त्यही मोटरसाइकलमा हुर्कियौँ। त्यो हाम्रो परिवारको पहिलो गाडी थियो,” उनका ३८ वर्षीय छोरा अरुण भन्छन्। उनी पेसाले सफ्टवेयर इन्जिनियर हुन् । तर सन् १९९५ मा श्रीनिवासनको ब्याङ्कले उनलाई कर्नाटकको मणिपाल सहरबाट उत्तर प्रदेशको लखनउमा सरुवा गर्‍यो । त्यसपछि श्रीनिवासनले रोयल एन्फिल्डलाई आफूसँग लिएर जान सकेनन् । त्यसैले मोटरसाइकल आफ्ना साथीलाई बेचे। सर्त थियो जब साथीलाई आवश्यक पर्दैन तब पुनः आफूलाई नै बेच्नु पर्ने । ठिक अर्को वर्ष मोटरसाइकल चोरी भयो। श्रीनिवासनले तुरुन्तै प्रहरीमा उजुरी दिए। तर मोटरसाइकल कसले लग्यो भन्नेबारे कुनै सङ्केत भेटिएन । देशको कुनै कुनामा आफ्नो मोटरसाइकल छ वा छैन भन्ने द्विविधामा उनले वर्षौँ बिताए । उनको छोरा उक्त मोटरसाइकलसँग जोडिएको प्रसङ्ग सम्झन्छन्। अरुणले भने, “घरमा पार्किङ गरेको त्यो बाइक सम्झनामा सधैँ थियो ।” केही समयपछि उनको परिवार कर्नाटकमा फर्कियो। उनीहरू अहिले बैङ्गलोरमा बस्छन् ।

श्रीनिवासन हरेक पटक सडकमा “बुलेट” देख्दा आफूले गुमाएको मोटरसाइकल सम्झिएर उदास हुन्छन् । “मेरो छोरो सानै छँदा त्यो मोटरसाइकल चढ्न पाउँदा निकै रमाइलो मान्थ्यो,” उनले भने । उनी मोटरसाइकलसँगका रोचक सम्झनाहरूसँग बाँधिएका छन्। त्यसैले उनले त्यस बुलेटलाई कुनै दिन बैङ्गलोरको सडकमा देखिने आशा कहिल्यै छोडेनन् । अरुणले भने, “उहाँ गाडीमा हुँदा म अगाडिको बुलेट बाइक नदेखिने गतिमा राख्थेँ ।” तर बुलेटले निकाल्ने त्यो विशेष आवाज उनको कानमा पर्थ्यो। र सडकमा गुड्ने अन्य मोटरसाइकलहरूबीच बुलेट खोज्दै उनको आँखा यताउता दौडन्थे । त्यसपछि देखिएको मोटरसाइकल आफ्नो पुरानो रोयल एन्फिल्ड होइन भन्ने थाहा पाएपछि उनी निराश हुन्थे । अन्ततः पुराना सवारीसाधन मन पराउने अरुणले त्यस मोटरसाइकल ‘ट्र्याक’ गर्ने निर्णय गरे। सन् २००६ मा २२ वर्षीय उनले खोजी सुरु गरे ।

उनले मणिपालबाट खोजी सुरु गरे। त्यहाँ उनले ग्यारेज मालिकहरूसँग कुरा गरे तर उनीहरूलाई त्यो पुरानो बुलेटबारे केही थाहा थिएन । क्षेत्रीय यातायात कार्यालय वा स्थानीय प्रहरी कार्यालयहरूमा कुनै तथ्याङ्क उपलब्ध थिएनन् । राज्यको यातायात कार्यालय डिजिटल भयो र कर्नाटकमा दर्ता भएका सवारीसाधनहरूसँग जोडिएको सबै तथ्याङ्क अनलाइन उपलब्ध भयो । त्यसैले सन् २०२१ को सुरुमा गाडीको दर्ता नम्बर र बिमा विवरणहरू प्रयोग गरेर अरुणले रोयल एन्फिल्डलाई ट्र्याक गरे । महिनौँ यातायात कार्यालयहरू धाएपछि उनले त्यो बुलेट मैसूर जिल्लाको एक किसानको स्वामित्वमा रहेको पत्ता लगाए ।

उनले ती किसानलाई बोलाएर आफ्नो बुबालाई खुसी बनाउन मोटरसाइकल खोजेको बताए। त्यसपछि उनले थाहा पाए कि त्यो एक व्यापारीसँग किनिएको थियो। जसले त्यस मोटरसाइकललाई प्रहरीले चोरी वा परित्याग गरिएका सवारीसाधनहरूको लिलामीबाट लिएका थिए।

व्यापारीले १,८०० मा किनेको मोटरसाइकल ४५,००० रुपैयाँमा किसानलाई बेचेका थिए । अरुणका अनुसार त्यस मोटरसाइकल फिर्ता गर्न अनिच्छुक देखिन्थे तर धेरै महिनापछि उनी राजी भए । “यसका लागि मैले एक लाखभन्दा बढी रुपैयाँ तिर्नुपर्ने भयो,” उनले भने।  त्यसपछि उनले यस सुखद खबर सुनाउन आफ्नो बुबालाई फोन गरे ।  श्रीनिवासन खुसी भए ।

१५ वर्षभन्दा लामो समय पछि रोयल एन्फिल्ड उनीहरूको घरमा फर्कियो ।

दङ्ग श्रीनिवासनले त्यो आफ्नै बाइक हो भन्ने निश्चित गर्नका लागि ध्यानपूर्वक जाँच गरे। अनि त्यो करिब ५० वर्षअघिकै मोटरसाइकल थियो भनेर ढुक्क भए ।

“यो मेरै मोटरसाइकल हो भनेर विश्वास गर्न गाह्रो थियो। मैले आफूसँग भएको पुरानो दर्ता कार्डबाट चेसिस नम्बर जाँचेँ,” उनले भने ।

परिवारका सबै पालैपालो बाइकमा बसे  । “म बुलेट चलाउनका लागि होचो मानिस हुँ तर यो सहज थियो। यसमा अहिले पनि पहिलेजस्तै सहज महसुस गरेँ । सहजताले पनि यो मोटरसाइकल मेरै हो भन्ने पुष्टि गर्‍यो,” उनले उत्साहित हुँदै भने ।

“हाम्रो हराएको घोडा घर फर्किएजस्तो भएको छ ।”

बीबीसीको सहयोगमा

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका