काठमाडौं, २ फागुन । झण्डै एक महिनाको ब्रेकपछि फेरि सुरु भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेलहरू आइतबार सकिएपछि उपाधि होडमा मछिन्द्र एफसी एक्लो दाबेदारको रुपमा देखा परेको छ ।
साविक विजेता मछिन्द्रले तीन चरणको खेल बाँकी हुँदा दोस्रो स्थानको मनाङमाथि ६ अंकको अग्रता कायम गरेको छ भने हेड टु हेडमा पनि मछिन्द्र नै अघि छ ।
अर्कोतर्फ पुछारको फ्रेण्ड्स क्लबले सिजनको पहिलो जित निकाल्दै कम्तीमा पनि एक चरणका लागि रेलिगेसन क्षेत्र छाड्न सफल भएको छ । यसले फ्रेण्ड्सलाई ठूलो राहत मिलेको छ भने रेलिगेसन ब्याटल झन् रोमाञ्चक बनाएको छ । फ्रेण्ड्ससँग हारेको ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब अहिले रेलिगेसन जोनमा छन् ।
दशौं चरणको खेलपछि साविक विजेता मछिन्द्रसँगै साविक उपविजेता त्रिभुवन आर्मी एफसीले अपराजित यात्रा कायम राखेको छ ।
मछिन्द्र ८ जित र २ बराबरीपछि २६ अंक जोडेर शीर्ष स्थानमा छ । मनाङ भने २० अंक जोडेर दोस्रो स्थानमा छ ।
दशौं चरणमा विमल घर्ती मगर चम्किएपछि मछिन्द्रले च्यासल युथ क्लालई २-० ले हरायो । मनिष डाँगीको चोटले यो खेलको नतिजालाई नै छायामा पार्यो । केट्या यानिकसँग ठोक्किएर मैदानमा लडेका मनिषले ६ मिनेटपछि होस आएको थियो ।
मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले भने लिगमा लगातार ९ खेलमा क्लिनसिट राखे । उनले गोल नखाएको समय ८४६ मिनेट पुगिसकेको छ ।
मछिन्द्रसँग पराजित च्यासल भने जम्मा पाँच अंक जोडेर लिगको पुछारमा छ र रेलिगेसनको दबाबमा छ । दोस्रो स्थानको मनाङ थ्रीस्टारसँग बराबरीमा रोकिंदा मछिन्द्रलाई फाइदा पुगेको हो ।
मछिन्द्रले अब सातदोबाटो युथ क्लब, थ्रीस्टार एपीएफसँग खेल्न बाँकी छ । तीनमध्ये एक जितले पनि मछिन्द्रलाई उपाधि रक्षा गर्न पर्याप्त हुनेछ । मनाङले अब एपीएफ, एनआरटी र आर्मीसँग खेल्न बाँकी छ ।
उपाधि होडमा मछिन्द्र एक्लो दाबेदारकै रुपमा अघि देखिएको छ । तेस्रो स्थानको आर्मी पनि जावालखेलसँग बराबरी खेलेपछि मछिन्द्रलाई चुनौती दिने क्लब कमजोर बने ।
अब ११औं चरणमै लिग च्याम्पियनको टुङ्गो लाग्न सक्नेछ । बुधबार हुने खेलमा नवप्रवेशी सातदोबाटोलाई हराएमा मछिन्द्रले दुई खेल अगावै लिग उपाधि पक्का गर्नेछ ।