काठमाडौं, १ फागुन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । बाणगंगा २ स्थित मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना र वाणगंगा ९ चौवास्थित एक घरबाट पाँच थान भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभएकाे छ ।
उहाँकाअनुसार मनकामना सामुदायिक वनभित्र केही ब्यक्ति भरुवा बन्दुकसहित हिँडिरहेको गोप्य सूचनाको आधारमा शनिबार राति प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
टोलीले अर्घाखाची शितगंगा १४ का ५० वर्षीय विरबहादुर सोमै मगर र २८ वर्षीय खिमबहादुर मगरलाई दुई थान एकनाले भरुवा बन्दुक लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
त्यसैगरी चौवा निवासी ६० वर्षीय रामसमुज थारुको घरमा खानतलासी गर्ने क्रममा गोठको छानो मुनि प्लास्टिकले छोपेको राखेको अवस्थामा लोड गरी राखिरहेको पाँच थान भरुवा बन्दुक बरामद गरेर थारुमाथि अनुसन्धान थालेको छ ।