बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल, यी खोलामा बने पुल • Nepal's Trusted Digital Newspaperबेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल, यी खोलामा बने पुल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल, यी खोलामा बने पुल

बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल, यी खोलामा बने पुल

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
बेनी–जोमसोम खण्डमा धमाधम पक्की पुल, यी खोलामा बने पुल

बेनी, १ फागुन । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् ।

केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै गएको छ ।

कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।

सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखगरेबगरस्थित वडा नं २ र ६ को सिमानामा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर ७० मिटर लामो ११ मिटर चौडाइ भएको पक्की पुल निर्माण भएको छ ।

भ्याटसहित आठ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले कोरोना महामारीलगायतका कारण समयसीमाभन्दा केही थप समय लिएर पुल निर्माण सम्पन्न गरेको विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जिनियर आशिक रिजालले जानकारी दिए ।

कोरोना महामारी, बाढीपहिरालगायत कारण निर्धारित समयमा सम्पन्न नभएपछि गत वर्ष पुस मसान्त २०७८ सम्म सम्पन्न गर्ने गरी एक वर्षको म्याद थप गरिएको थियो ।

आयोजनाअन्तर्गत म्याग्दी खण्डको रघुगङ्गा नदीमा ४० मिटरको पुल निर्माण सम्पन्न भएको छ । यो पुल ६ करोड ८७ लाख रुपैयाँमा शर्मा गजुरमुखीले ठेक्का लिएर सम्पन्न गरेको हो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका– ३ स्थित दानाको घट्टेखोलामा पाँच करोड ८७ लाख रुपैयाँ लागतमा ४० मिटरको पुल निर्माण भएको छ । मुस्ताङ खण्डमा लेतेखोलामा पुल निर्माण सम्पन्न भएको छ ।

गजुरमुखीले ४० करोड २० लाख रुपैयाँमा ठेक्का लिएर पुल निर्माण सम्पन्न गरेकोे छ । त्यस्तै मुस्ताङको घरपझोङ गाउँपालिकाको स्याङखोलामा ११५ मिटर लामो मोटरेबल पुल मुक्तिनाथ श्री गीता जेभी कम्पनीले १० करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको छ ।

पाण्डाखोलामा ५० मिटरको पुल चार करोड ३७ लाख रुपैयाँमा निर्माण सम्पन्न गरेको छ । कागबेनीमा २५ मिटरको पुल गलुवा रफिना जेभी कम्पनीले पुल निर्माण सम्पन्न गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका