आज फाल्गुन १ कुम्भ सङ्क्रान्ति • Nepal's Trusted Digital Newspaperआज फाल्गुन १ कुम्भ सङ्क्रान्ति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज फाल्गुन १ कुम्भ सङ्क्रान्ति

आज फाल्गुन १ कुम्भ सङ्क्रान्ति

  • समाचारपाटी
  • आइतवार, फाल्गुन १, २०७८
आज फाल्गुन १  कुम्भ सङ्क्रान्ति

काठमान्डाैँ, १ फागुन । हिउँदका कठ्याङ्ग्रिँदो जाडो र चिसो छिचोल्दै अब हामी फाल्गुनको रङ्गिन दैलोमा प्रवेश गरेका छौँ । सौर्य मण्डलमा रहेको एउटा तारा ‘उत्तराफाल्गुनी’ नक्षत्रका नाममा यो महिनाको नाम फाल्गुन राखिएको हो । आम बोलीचालीमा फाल्गुनबाट फागुन सहज हुँदै गएको छ । हामीलाई थाहै छ, महिनाको पहिलो दिनलाई सङ्क्रान्ति र अनि अन्तिम दिनलाई मसान्त भनिन्छ ।

फाल्गुनको यो सङ्क्रान्तिले अर्थात् फाल्गुने सङ्क्रान्तिले अब आउँदै गरेको फागु पूर्णे अर्थात् होलीलाई पनि स्वागत गरेको छ । रङ्गहरूमा रमाएर मनाइने चाड भएको यो फाल्गुन महिना विशेष छ ।

हिउँदको निरन्तरको चिसो सिरेटोले खाएका बिरुवाहरूमा अब बिस्तारै पालुवा लाग्नेछन् । गर्मी मौसममा मनै लोभिने रसिला फलका बोट बिरुवाहरूमा मञ्जरी पलाउनेछिन् ।

आजको यो विशेष दिन नेपालमा मात्र नभई छिमेकी देशहरू भारत र बङ्गलादेशमा पनि परम्परागत शैलीमा वसन्त ऋतुको स्वागत गरेर मनाइने चलन छ ।

नेपालमा आजको दिन विशेष गरी तराई क्षेत्रमा विभिन्न प्रकारका तरकारी जस्तै: आलु, कोभी, खुर्सानी, करेलाहरूबाट तयार पारिएका तरुवा (तातो तेलमा तारेर बनाइएको खानेकुरा) खाने गर्छन् । अनि औपचारिक रूपमै जाडोका कपडाहरूलाई थन्क्याएर सेतो या पहेँलो कपडा लगाउँदै वसन्तको स्वागत गर्छन् ।

आजबाट सूर्य मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दछ । सूर्यको बढ्दो तातो रापले न्यानो बढ्दै गरेको आभास हुन्छ । यससँगै अब भने सुस्तरी–सुस्तरी बतास चल्न थाल्नेछन् ।

अब कठ्याङ्ग्रिँदो चिसोले छोट्टाएको समयलाई चिर्दै अब कोइलीको कुहू कुहूले न्यानो अनि लामा दिनहरूलाई सङ्गीत भर्नेछ । मुख्य कुरा साँझको समय मन पर्नेहरूलाई अबका साँझहरू हिउँदका जस्ता छोटा र झमक्कै रात पर्ने खाले नभई लामा र रसिक बनाउनेछ ।

वसन्त अर्थात् चार भिन्न मौसमहरूको राजा मौसम अथवा सबैभन्दा रसिक अनि उत्तम ऋतुको समय हाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका