खड्का महेन्द्र कुमार
हलो चल्नु पर्ने खेतमा डोजर चलेका छन्।
अन्न फल्नु पर्ने ठाउँमा भवन फलेका छन्।
खेतीयोग्य जमिन मासी बस्न थाले नि सबै
गाउँमा हेर्यो जताततै घरगोठ ढलेका छन्।
समावेशी समानता संविधानमा मात्रै भयो
निमुखालाई सस्तोमा काममा दलेका छन्।
शिक्षा स्वास्थ्य रोजगारीको नारा चुनावमा
भोट बटुल्दै जनता लाई सधैं छलेका छन्।
आन्तरिक प्रतिष्पर्धा लोकतन्त्र हो भन्छन्
आफ्नै दलको नेता सँग नेता जलेका छन्।
भारतलाई विद्युत बेच्ने कुरा भाषण सुन्छु
अझै धेरै ठाउँ नेपालमा टुकी बलेका छन् ।
धेरै बसेँ परदेशमा कमाइ भने खास भएन
कोरोना महामारीमा घर जाने आश भएन
खून पसिनालाई बेचेर रियलमा साटेँ मैले
जवानी सक्दा पनि मेरो दुस्ख नाश भएन
बल्लबल्ल टार्छु साँझबिहानको छाक पनि
महानपर्व दसैंमा नि मिठो एकै गास भएन
शीत चुहिने त्रिपालमुनि सुत्छन् छोराछोरी
पुसमाघमा ओढ्नलाई तातो कपास भएन
म फर्कने बाटो कुर्ने मेरा ती बाआमालाई
जोखिममा भेट्नलाई जाने सहास भएन
फेदिखोला १ विर्ता स्याङ्जा
वैदेशिक रोजगार कतारबाट