काठमाडौं, २८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले १२ वर्षदेखि माथिका सबै नेपालीलाई आगामी वैशाख मसान्तसम्म खोप लगाइसक्ने बताउनुभएकाे छ ।
कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसअघि १८ वर्षमाथिका नागरिकलाई चैत मसान्तभित्र खोप लगाइसक्ने लक्ष्य रहे पनि १२ वर्षमाथिका बालबालिकाका लागि पनि खोप आएकाले समय लम्ब्याइएको बताउनुभयाे ।
‘विसं २०७९ वैशाखसम्म लक्षित समूह सबैलाई खोप लगाइसक्ने हाम्रो लक्ष्य छ । पहिले चैत महिनासम्म लगाइसक्ने लक्ष्य थियो। तर, अब लक्षित समूहमा १२ वर्षमाथिका पनि समेटिएकाले एक महिना लम्ब्याइएको छ,’ खतिवडाले भन्नुभयाे, ‘ यसअघि लक्षित समूहमा १८ वर्षमाथिकालाई मात्र समेटिएकोले चैतसम्म भनिएको थियो । १८ बर्षमूनिका समूह थपिएकाले वैशाखसम्म पुग्न गएको हो ।’
सबै नागरिकलाई खोप लगाउनका लागि आवश्यक खोपको मौज्दात सुनिश्चित गरिसकेको मन्त्री खतिवडाले बताउनुभयाे । हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मिति भन्दा अगाडि नै पूरा हुने उहाँले दावी गर्नुभयाे ।
मन्त्री खतिवडाले आगामी फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने बताउनुभएकाे छ । ‘यसअघि हामीले फ्रन्टलाइनरलाई मात्र बुस्टर डोज दिने भनेका थियौं । अब फागुन १ गतेदेखि १८ वर्षमाथिका दोस्रो डोज लगाएको ६ महिना पूरा भइसकेका सबैलाई बुस्टर डोज दिन्छौं,’ उहाँले भन्नुभयाे।